१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १२:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दिया निकुञ्जमा वर्षातको मौसममा १५ सय बढि पर्यटक प्रवेश 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १२:२२:oo

वर्षातको मौसममा नेपालका कतिपय राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेशमा रोक लगाइएपनि बर्दिया राष्ट्रिय निकुञ्जमा भने पछिल्लो तीन महिनामा  एक हजार पाँच सय ३९ जना पर्यटकहरु निकुञ्जमा प्रवेश गरेका छन्। 

भारतीय र नेपाली पर्यटकहरूलाई मध्यनजर गर्दै निकुञ्जमा पर्यटक प्रवेश खुल्ला गरिएको थियो । स्थानीय पर्यटन व्यवसायी र प्राकृतिक पथप्रदर्शकहरुसँग समन्वय गरी वर्षात र जोखिमयुक्त समयमा निकुञ्ज प्रवेश नगर्ने शर्तमा पर्यटकका लागि निकुञ्ज खुल्ला राखिएको थियो। 

वर्षातको समय असार साउन र भदौ महिनामा नेपाली एक हजार एक सय ९१, सार्क मुलुकका एक सय २४ जना र विदेशी पर्यटक दुई सय २४ जना निकुञ्ज प्रवेश गरेका थिए । असारदेखि भदौ महिनासम्मको अवधिलाई पर्यटन व्यवसायीहरुले अफ सिजन भन्ने गर्दछन्।

स्थानीय पर्यटन व्यवसायी र प्राकृतिक पथ प्रदर्शकसँग समन्वय गरी यस वर्ष वर्षातको समयमा पनि पर्यटकको लागि निकुञ्ज खुल्ला राखिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सुचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए। उनले जोखिमयुक्त समयमा बाहेकको समयमा निकुञ्ज प्रवेश खुल्ला गरिएको बताउँदै भारत उत्तर प्रदेशका निकुञ्जहरु बन्द रहेको समयमा भारतका पर्यटकहरुलाई लक्षित गरी निकुञ्ज खुला राखिएको बताए । बर्दिया निकुञ्जभित्र पर्यटकको आवागमनको लागि सुरक्षित बाटो र पदमार्गहरुको व्यवस्था गरीएको छ।

यस वर्ष अफ सिजनमासमेत पर्यटकको चहलपहल कायम रहेको चिसापानी पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । सिजनमाभन्दा कम पर्यटकहरु आएपनि यस वर्ष पर्यटन व्यवसाय पुर्ण रुपमा बन्द नभएको उनले बताए । सिजन सुरु हुन लाग्दा होटलहरु अग्रिम बुकिङ सुरु भएको उनले बताए। 

निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१मा १८ हजार १० जना नेपाली,  छ हजार छ सय ८४ हजार जना विदेशी र एक  हजार चार सय ३७ जना सार्क मुलुकका गरी २६ हजार एक सय ३१ जना पर्यटकहरु निकुञ्ज घुम्न आएका थिए ।

 अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ हजार सात सय २२ नेपाली ६ हजार तीन सय ८३  विदेशी र एक हजार दुई सय १९ सार्क मुलुकका नागरीकहरु निकुञ्ज भ्रमण गरेका थिए । निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाली विदेश र सार्कमुलुकका पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढि राजश्व संकलन पर्यापर्यटनबाटै हुने गरेको तथ्यांक छ। गत आर्थिक वर्र्ष २०८०/८१ मा सबैभन्दा बढि दुई करोड ८४ लाख चार  हजार पाँच रुपैयाँ राजश्व पर्यापर्यटनबाट प्राप्त भएको छ । जुन कुल राजश्व चार करोड ५२ लाख ८ हजार छ सय २६ रुपैयाँको ६२.८२ प्रतिशत हो। 

पर्यटकहरूको वृद्धि भएसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि हर्षित भएका छन्। कोरोनापछि सुस्ताएको पर्यटन व्यावसाय पुनः तग्रिँदै गएको पर्यटन व्यवसायी राम जी थापा बताए । पर्यटन व्यवसायको सिजन सुरु हुन लाग्दा धमाधम अग्रिम बुकिङ सुरु भएको बताउँदै तुलनात्मक रुपमा यस वर्ष पर्यटकको संख्या बढ्ने आँकलन गरेका छन्।

निकुञ्ज घुम्न आएका पर्यटकहरुमध्ये अधिकांशले प्राकृतिक रुपमै बाघ हेरेर फर्कने गरेको उनको भनाइ छ।  बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी हाल बर्दियामा करिब ३२ ओटा साना ठुला सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु संचालनमा रहेका छन् । त्यसैगरी निकुञ्ज आसपासका क्षेत्रमा होमस्टे समेत संचालनमा रहेका छन्। 

बाघ लगायत जंगली हात्ती, गैंडा, चितुवा, चित्तल, बाह्रसिंगा लगायतका जंगली जनावर सहजै  र एकै दिनमा हेर्न सकिने भएकाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको आर्कषणको केन्द्र भएको छ। वन्यजन्तु मात्र नभएर बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता मनै लोभ्याउने खालको छ।