१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार १o:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलद्वारा पाठेघर क्यान्सरको नि:शुल्क स्क्रिनिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १o:५३:oo

एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा नि:शुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर आयोजना गरेको छ । 

नि:शुल्क शिविरमा एक सय २० जनाभन्दा बढी स्थानीय महिलाको परीक्षण गरिएको थियो । त्यसमध्ये ९० जनाभन्दा बढीले नि:शुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएको एनसेलले जनाएको छ । नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले आयोजना गरिएको बताइएको छ । 

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरहरूमध्ये पहिलो स्थानमा पर्छ । सन् २०२२ मा मात्रै दुई हजार एक सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने यस रोगका कारण एक हजार तीन सय १३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

शिविरले महिलालाई स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमै क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामका लागि नियमित स्क्रिनिङ र सम्बन्धित परीक्षण गर्न प्रोत्साहन गरेको छ । एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजारभन्दा बढी महिलाको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ । 

‘हाम्रो यो स्क्रिनिङ पहुँच नभएकाहरूसम्म पुग्ने लक्ष्यमा आधारित छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, ‘अधिकांश मृत्यु पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न–मध्यम आय भएका महिलामा भएका छन् । कोशी प्रदेशमा सुरु भएको यस पाइलट प्रोजेक्टको सफलतापछि आगामी दिनमा यस किसिमका पहल अन्य प्रदेशमा पनि विस्तार गर्नेछौँ ।’ 

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औँ वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो र फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्य गर्ने योजना बनाएको छ ।