१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार o८:३४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भदौमा ५७ हजार ४९३ जना युवा वैदेशिक रोजगारीमा, सबैभन्दा धेरै युएईमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o८:३४:oo

चालू आर्थिक वर्ष ०८१/८२ को भदौ महिनामा मात्रै ५७ हजार चार सय ९३ जना नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका छन् । त्यसमा ३९ हजार पाँच सय ५७ जना नयाँ श्रम स्वीकृति लिने रहेका छन् ।

वैदेशिक रोजगार विभागले सोमबार सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकले यस्तो देखाएको हो । वैदेशिक रोजगारीमा जाने नेपालीलाई विभागले नै अन्तिम स्वीकृति दिने गर्छ । यो संख्या गत आवको भदौ महिनाको तुलनामा १३ प्रतिशतले बढी हो । गत आवको भदौमा ५० हजार आठ सय ८४ जनाले वैदेशिक रोजगारको स्वीकृति लिएका थिए । त्यसमा ३५ हजार तीन सय तीनजनाले नयाँ श्रम स्वीकृत लिएको विभागको तथ्यांकमा देखिन्छ ।

भदौमा युएईका लागि श्रम स्वीकृत लिने नेपाली कामदारको संख्या उच्च छ । भदौमा १८ हजार ६ सय पाँचजनाले युएईका लागि श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार दोस्रो स्थानमा भने कतार जान श्रम स्वीकृति लिने नेपालीको संख्या ११ हजार दुई सय ९१ जना रहेका छन् । तेस्रो स्थानमा भने साउदी अरब रहेको छ । समीक्षा महिनामा उक्त देशका लागि १० हजार आठ सय ३५ जना नेपालीले श्रम स्वीकृति लिएको देखिन्छ । 

यसैगरी, कुवेतमा चार हजार दुई सय १५, रोमानियामा एक हजार आठ सय ८८, जापानमा एक हजार चार सय ५६, मलेसियामा एक हजार एक सय ९३, कोरियामा एक हजार एक सय ६ र बहराइनमा नौ सय ६० जना नेपाली कामदारले श्रम स्वीकृति दिइएको विभागको भनाइ छ । समीक्षा महिनामा यीसहित नेपाली कामदारलाई ९५ मुलुकमा रोजगारीका लागि जान श्रम स्वीकृति दिइएको छ । 

गत साउनमा ५९ हजार पाँच सय ७५ जनाले वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति लिएका थिए । त्यसमा ३६ हजार नौ सय २८ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । गत आवको साउन महिनामा भने ५५ हजार पाँच सय ७५ जनाले वैदेशिक रोजगारका लागि स्वीकृति लिएका थिए । त्यसमा ३९ जना एक सय ५२ जना नयाँ श्रम स्वीकृति लिएका नेपाली कामदार थिए ।

तथ्यांकअनुसार चालू आवको पहिलो दुई महिनामा एक लाख १७ हजार ६८ जना नेपालीले वैदेशिक रोजगारीको स्वीकृति लिएका छन् । त्यसमा ७६ हजार चार सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत आवको पहिलो दुई महिनामा एक लाख ६ हजार चार सय ५९ जनाले वैदशिक रोजगारीको स्वीकृति लिएका थिए ।

त्यसमा ७४ हजार चार सय ५५ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । योअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीको स्वीकृति लिने नेपाली कामदारको संख्या १० प्रतिशतले बढेको देखिन्छ । गत आवभरमा सात लाख ४१ हाजर दुई सय ९७ नेपालीले यस्तो श्रम स्वीकृति लिएका थिए ।