प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट भएर लाग्नुपर्ने बताएका छन्। वन तथा वातावरण मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरू विषयमा बेमेल भइरहेका सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए।
सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उनले बताए। प्रधानमन्त्री ओलीले जमिन सुक्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जंगलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए।
नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा पनि राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको जनाए।
प्रधानमन्त्री ओलीले कोप २९ को समीक्षासहित अहिलेदेखि नै कोप ३० को तयारी थाल्न पनि आग्रह गरे। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका असरहरू हिमाली क्षेत्रमा धेरै देखिएको भन्दै यसमा सजक हुन नसके आगामी पुस्तालाई निकै असर पर्ने बताए।
जलवायु परिवर्तनका असरबारे विश्व समुदायलाई राम्रोसँग जानकारी गराए पनि नेपालमा पनि यसबारे जनचेतना आवश्यक रहेको उनको भनाइ छ। त्यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय कायम गर्न आन्तरिक क्षमता वृद्धिका साथै अध्ययन अनुसन्धानलाई पनि प्रभावकारी ढंगले अघि बढाउनुपर्ने धारणा राखे। जलवायु सम्मेलनको निष्कर्षलाई जलवायु हितका रूपमा प्रयोग गरिने र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय तयार रहेको उनले बताए।