नेपाली क्रिकेट टिमका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेख लगनगाँठोमा कसिन थालेका छन् । वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइ आगामी पुस २० गते एकैदिन लगनगाँठोमा कसिन लागेका हुन् ।
पारिवारिक स्रोतका अनुसार दुवैजना दाजुभाइले आफ्नै समुदायका युवतीसँग मागीविवाह गर्न थालेका हुन् । गएको पुस ६ मा नेपाल प्रिमियर लिग (एनपिएल) को प्रथम संस्करणको प्रतियोगिता सकिएपछि उनीहरू घरमा बिहेको तयारीमा जुटेका छन् । आरिफ नेपाल प्रिमियर लिग एनपिएलको उपविजेत सुदूरपश्चिम रोयल्समा आबद्ध थिए भने आसिफ विजेता जनकपुर बोल्ट्सको मार्की खेलाडी थिए । जनकपुरले आसिफको कप्तानीमा नै उपाधि जितेको हो ।
उनीहरू अहिले आफ्नो आफन्तदेखि चिनजान साथीभाइलाई पनि बिहेको निमन्त्रणा बाँड्नमा व्यस्त छन । यस्तै, फुर्सदको समयमा घरनजिक नै रहेको नारायणी खेलमैदानमा पनि देखिन थालेका छन्।
२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन् । उनले सन् २०१४ देखि २०२४ सम्मको अन्तर्राष्ट्रिय करिअरको खेल खेल्न थालेका हुन् । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन् ।
२३ वर्षीय आसिफ शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेटकिपरको रूपमा खेल्ने खेलाडी हुन् । आसिफ उनी सन् २०२१ देखि २०२४ सम्मको अन्तर्राष्ट्रिय करिअरमा खेल्न थालेका छन् ।