वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिम नेपालबाट सक्रिय हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली (पश्चिमबाट पूर्व जलवाष्पयुक्त हावा बहने) का कारण शुक्रबार रातिबाट पश्चिम हुँदै शनिबार देशका धेरै ठाउँमा वर्षा गराउने आकलन छ । देशभर बादल लाग्ने र धेरैजसो ठाउँमा पानी पनि पर्ने भएकाले शनिबारसम्मै तापक्रम घट्ने र चिसो बढ्ने देखिन्छ ।
उच्च पहाडी र हिमाली भूभागमा हिमपात पनि हुने भएको छ । ‘यो हिउँदमा सक्रिय भएको तेस्रो न्यूनचापीय प्रणाली हो, यसअघिका प्रणालीले क्षेत्रगत रूपमा वर्षा र हिमपात गराए । तर, देशभर वर्षा गराउन सकेनन्,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भने, ‘प्रभावका हिसाबले यो स्ट्रोङ हो, देशभर सक्रिय भई धेरै ठाउँमा वर्षा हुने देखिन्छ ।’
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल भन्छन्–
यो हिउँदमा सक्रिय भएको तेस्रो न्यूनचापीय प्रणाली हो, यसअघिका प्रणालीले क्षेत्रगत रूपमा वर्षा र हिमपात गराए । तर, देशभर वर्षा गराउन सकेनन् । प्रभावका हिसाबले यो स्ट्रोङ हो, देशभर सक्रिय भई धेरै ठाउँमा वर्षा हुने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम क्षेत्रबाट दिउँसोबाट बादल लाग्ने प्रक्रिया सुरु हुनेछ भने राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा हल्का वर्षा हुने देखिन्छ । बागमती र गण्डकीको आकाश शुक्रबार राति बादलले ढाक्न सुरु गर्नेछ ।
शनिबार भने पश्चिमदेखि पूर्वी नेपालसम्मै वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको आकलन छ । तर, तीन प्रदेश सुदूरपश्चिम, कर्णाली र लुम्बिनी (पश्चिमी क्षेत्र) का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन छ । पूर्वी लुम्बिनीका केही स्थान तथा गण्डकी, बागमती, मधेश र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरेर जनाएको छ ।
मौसमविद् अर्यालका अनुसार शनिबार सुदूरपश्चिमदेखि गण्डकीका उच्च पहाडी र हिमाली भेगमा मध्यम हिमपातको सम्भावना छ भने मध्य र पूर्वी क्षेत्रमा हल्का हिमपात हुने देखिन्छ । ‘काठमाडौंमा हल्कादेखि मध्यम वर्षा भयो भने यस क्षेत्रका डाँडामा फाटफुट हिमपात हुन सक्छ, तर यो प्रणालीका कारण तीन हजार मिटरमाथिको क्षेत्रमा हिमपात हुने सम्भावना राम्रो भएकाले काठमाडौंको हकमा हिमपातबारे यकिन गर्न सकिने अवस्था छैन,’ उनले भने । समग्रमा यो प्रणालीका कारण मध्य र पूर्वी नेपालभन्दा पश्चिमा धेरै वर्षा र हिमपात हुनेछ भने तराईभन्दा पहाडी क्षेत्रमा बढी सक्रिय हुने देखिन्छ ।
आइतबारबाट भने मौसममा सुधार हुने आकलन गरिएको छ । हिउँद लागेयता (१६ मंसिर) नेपालमा दुईवटा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिसकेका छन् । २१ मंसिर र पुस पहिलो साता भित्रिएका यी प्रणालीले पश्चिम नेपालका हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा गराएका थिए । तर, देशभर प्रभाव पर्न सकेको थिएन । शुक्रबार भित्रिने प्रणाली यो हिउँदको तेस्रो हो ।
जल तथा मौसम विज्ञान विभागले आगामी १६ फागुनसम्मको हावापनी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने र अधिकतमसँगै न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने प्रक्षेपण यसअघि नै गरेको थियो ।
मुख्य २० वटा स्टेसनको औसतलाई आधार मानेर हिउँदमा ६०.१ मिलिमिटर वर्षालाई औसत मानिन्छ । तर, गत वर्ष हिउँदमा सरदरको १९.८ मिलिमिटर र ०७९ को हिउँदमा १२.९ मिलिमिटर मात्र पानी परेको थियो ।