मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
दलित महिलामाथि सामूहिक बलात्कार भएको बाँसको झ्याङ ।
गणेश लम्साल विराटनगर
२o८१ पौष ११ बिहीबार o६:o६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अपहरण गरेर दलित महिलालाई सामूहिक बलात्कार, एक भारतीयसहित चारजना पक्राउ

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o६:o६:oo

मोरङको जहदा गाउँपालिका– ३ की दलित महिलालाई शौच गर्न निस्किएका वेला युवाहरूको एक सहमूहले अपहरण गरी सामूहिक बलात्कार गरेको छ । युवाहरूले उनको मुख थुनेर सिटी रिक्सामा राखी एक किलोमिटर पर कटहरी गाउँपालिका– २ स्थित बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेका हुन् । 

हातखुट्टा बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मंगलबार दिउँसो उनको उद्धार गरिएको थियो । अर्धचेत अवस्थामा उद्धारपछि उपचार गरिएकी महिलाले स्वास्थ्यमा केही सुधार आएपछि बलात्कारमा संलग्नहरूको हुलियाबारे जानकारी गराएसँगै प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउसमेत गरिसकेको छ । 

कटहरी– २ कदमटोलीकी वृद्धा शान्ति ऋषिदेवले मंगलबार दिउँसो १२ बजेतिर बाँसघारीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलालाई देखेपछि घर पुगेर छोरा रसिलाललाई जानकारी गराएकी थिइन् । त्यसपछि रसिलाल स्थानीयहरूसमेत भेला गरेर घटनास्थल पुगेका थिए । सलले हातखुट्टा बाँधिएको र मुखमा समेत कपडा कोचेर मरणासन्न अवस्थामा लडिरहेको महिला देखेपछि गाउँलेले कटारी प्रहरी चौकीमा खबर गरेका थिए । तत्काल प्रहरी वरिष्ठ हवल्दार भीम खड्काको नेतृत्वमा आएको टोलीले उद्धार गरेर विराटनगरस्थित कोसी अस्पताल पुर्‍याएको थियो । 

‘खेतको बाटो हुँदै घर फर्कँदा आमाले बाँसको झ्याङ हातखुट्टा बाँधिएको अवस्थामा लडिरहेकी महिला देखेपछि दौडँदै घर आएर भुत देखेको भन्नुभयो । हामी २०–३० जना केटाहरू मिलेर घटनास्थलमा पुग्दा ती महिलालाई अर्धचेत अवस्थामा देख्यौं । तत्काल प्रहरी बोलाएर उद्धार गरी अस्पताल पठयौं,’ रसिलालले भने । 

कोशी अस्पतालको लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) कक्षमा चेकजाँच, उपचार र मनोविमर्शपछि स्वास्थ्यमा सुधार हुँदै गएपछि प्रहरीले महिलासँग सोधपुछ गरेको थियो । आफूलाई युवाहरूको समूहले मुख थुनेर सिटी रिक्सामा राखी बाँसको झ्याङमा लगेर सामूहीक बलात्कार गरेको वयान दिएकी थिइन् । पीडितले दिएको हुलियाका आधारमा प्रहरीले मंगलबार राति नै तीन र बुधबार एक गरी चार युवालाई नियन्त्रणमा लिएको छ । कटहरी– २ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, भारतको अररिया कुर्साकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार र अर्का एक (नाम नखुलेको)लाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दुईजना सिटी रिक्सा चालक र दुईजना कटहरीमै ग्यारेजमा काम गर्ने युवा रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले घटना सामूहिक बलात्कारजस्तै देखिएको र पीडितको बयानका आधारमा चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए । बुधबार सार्वजनिक बिदा परेकाले अदालतबाट म्याद थप गर्न नपाइएको उनको भनाइ छ । ‘हामीले पीडितको बयानका आधारमा अनुसन्धान अगाडि बढाइसकेका छौं, तर बुधबार सार्वजनिक बिदा परेकाले अदालतमा म्याद थपका लागि लैजान पाएनौं,’ उनले भने । उपचार र चिकित्सकीय परीक्षण सकिएकापछि बुधबार प्रहरीले पीडितसँग वयान लिएर सेफ हाउसमा पठाएको छ ।

श्रीमानले छाडेपछि दुई सन्तानसहित माइतीमा बस्दै आएकी थिइन् पीडित
सामान्य बनिबुतो गरेर परिवारको गर्जो टार्ने ऋषिदेव समुदायकी पीडित महिलाको कलिलो उमेरमै बिहे भएको थियो । उनका तीन वर्षकी छोरी र दुई वर्षका छोरा छन् । जहदा– ४ मा विवाह गरेकी उनी श्रीमान्ले अर्कै केटी लिएर बेपत्ता भएपछि साढे दुई वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । 

सदाझैं मंगलबार बिहान पनि उनी घरनजिकै नहरमा शौच गर्न गएकी थिइन् । तर, धेरै बेरसम्म छोरी घर नफर्किएपछि आमाले छोरीको खोजी गरेकी थिइन् । दिउँसो साढे १२ बजेतिर कटहरी– २ स्थित बाँसको झ्याङमा बेहोस् अवस्थामा महिला भेटिएको हल्ला चलेपछि उनी घटनास्थल पुगेकी थिइन् । तर, उनी घटनास्थल पुग्दासम्म छोरीलाई प्रहरीले अस्पताल पुर्‍याइसकेको थियो ।