मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ११ बिहीबार १६:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १६:५२:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताएकी छिन्। 

नगन्य कार्बन उत्सर्जन गर्ने, तर त्यसको व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेकाले यस्ता चुनौतीको सामना गर्न नेपालले अन्तर्राष्ट्रियस्तरमा अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता बढेको उनको भनाइ थियो।

उनले भनिन्, 'जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र यससँग जुध्न नेपालले गरिरहेका प्रयासहरूका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न फोरमहरू एवं जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूमार्फत विश्व समुदायसमक्ष हामीले स्पष्ट र सशक्त रूपमा कुरा राख्दै आएका छौँ। आगामी दिनहरूमा यसलाई थप सशक्त बनाउनु जरुरी छ।'

अजरबैजानको बाकुमा सम्पन्न २९औँ विश्व जलवायु सम्मेलन एवं अन्तर्राष्ट्रिय न्यायालयमा नेपालको उपस्थितिबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार काठमाडौंमा आयोजित समीक्षा कार्यक्रममा उनले सो धारणा राखेकी हुन्। 

मन्त्री डा. राणाले गत डिसेम्बर ९ मा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले ‘जलवायु परिवर्तनका सम्बन्धमा राज्यको दायित्व’ सम्बन्धमा पहिलोपटक नेपालका आधारहरू मौखिक रूपमा प्रस्तुत गरेको जानकारी गराइन्।

सो अदालतमा सुनुवाइका क्रममा आफूले नेपालले कहिल्यै नगरेको गल्तीको सजाय भोगिरहेको कुरा सशक्त रूपमा उठाउँदै जिम्मेवार विकसित राष्ट्रहरूले जलवायु संकट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिई जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्नेमा जोड दिएको जानकारी मन्त्री डा. राणाले दिइन् ।

नेपालजस्तो संवेदनशील भूबनोट भएको पर्वतीय मुलुकका लागि जलवायु परिवर्तनको प्रभाव गम्भीर रहेको भन्दै उनले नेपालका हिमालहरू पग्लिरहेका, जैविक विविधतामा ह्रास आइरहेको, प्राकृतिक विपत्तिहरू बढ्दै गएको, जसका कारण नेपालको अर्थतन्त्र, सामाजिक जीवन र वातावरणमा नै नकारात्मक असर पारिरहेको बताइन्।

इसिमोडको एक प्रतिवेदनले यही गतिमा कार्बन उत्सर्जन भइरहेमा यस शताब्दीको अन्त्यसम्ममा हिन्द कुश हिमालयमा रहेका हिमनदीहरूले ८० सम्म हिउँको मात्रा गुमाउने देखाएकाले यो नेपाललगायत पर्वतीय मुलुकका लागि चिन्ताको विषय रहेको उनको भनाइ थियो।