भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । भारतमा आर्थिक सुुधारका नायकका रुपमा उनी चिनिन्छन् । अल इन्डिया मेडिकल इन्स्टिच्युट नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको इन्डिया टुडेले जनाएको छ ।
सिंह ३३ वर्ष सांसद रहेर यसैपालि राज्यसभाबाट बिदा भएका थिए । सिंह पिवि नरसिंह राव प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए । सिंह भारतीय रिजर्भ बैंकका गभर्नरसमेत थिए । सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहे ।
सन् २००६ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका क्रममा प्रधानमन्त्री रहेका सिंहले कोइरालालाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आफै पुगेर स्वागत गरेका थिए भने कोइरालालाई दक्षिण एसियाका महान् नेता भनेका थिए ।
सिंहले प्रधानमन्त्रीको कार्यकालमा नेपाल भ्रमण भने गरेनन् । तर, उनीसँग प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, गिरिजाप्रसाद कोइरालादेखि तत्कालिन राजा ज्ञानेन्द्रले भेटवार्ता गरेका थिए ।