महान् वैज्ञानिक थोमस एल्वा एडिसन निकै परिश्रमी तथा जुझारु प्रकृतिका मानिस थिए । यद्यपि, बाल्यकालमै उनलाई मन्दबुद्धिको बालक ठहर्याएर स्कुलबाट निकालिएको थियो । उनै एडिसनले जीवनकालमा अनेकौँ महत्वपूर्ण आविष्कार गरेर मानव समाजलाई निकै ठुलो गुन लगाएका छन् । उनले आविष्कार गरेका हरेक वस्तु उत्तिकै महत्वपूर्ण छन् । तैपनि, बिजुलीको चिम यीमध्ये सबैभन्दा महत्वपूर्ण छ । चिम बनाउने क्रममा उनले झन्डै हजारपटक अलग–अलग प्रयोग गर्नुपरेको थियो । हजारभन्दा बढी असफलतापछि मात्र उनी चिम आविष्कार गर्न सफल भएका थिए ।
एकपटक एडिसन बिजुलीको चिम बनाउने प्रयोगमा तल्लीन थिए । उनी पटक–पटक असफल पनि भइरहेका थिए । उनका एक निकट मित्रले यो सब देखिरहेका थिए । उनले एकपटक एडिसनसित सोधे– तपाईंले झन्डै एक हजारभन्दा बढी प्रयोग गर्नुभयो । तर, ती कुनै पनि प्रयोग काम लागेनन्, सबै बेकार साबित भए । तैपनि, तपाईं प्रयास छाडिरहनुभएको छैन । आखिर तपाईं किन यसरी समय खेर फालिरहनुभएको छ ? मित्रको प्रश्न सुनेर हल्का मुस्कुराउँदै एडिसनले भने– हो, बिजुलीको चिम बनाउनैका लागि मैले हजारभन्दा बढी परीक्षण गरिसकेँ । तैपनि, मलाई सफलता प्राप्त भइरहेको छैन । यति हुँदाहुँदै पनि मित्र, मलाई मेरो परिश्रम खेर गइरहेको छ भन्ने लाग्दैन । किनकि, यस क्रममा मैले बिजुलीका चिम बन्नै नसक्ने हजारभन्दा बढी तरिका पत्ता लगाइसकेको छु । मलाई लाग्छ, अब म यस सफलताको निकै नजिक पुगिसकेको छु । सायद, अबका केही प्रयोगमा सफलता हात लाग्छ कि ?
एडिसनले हजार असफलतापछि पनि हार मानेनन् । उनी निरन्तर आफ्नो प्रयोगमा सम्भावित सुधार गर्दै गए । आखिरमा धैर्य र आत्मविश्वासको बलमा उनी बिजुलीको चिम बनाउन सफल भए । उनकै आविष्कारका कारण आज संसार उज्यालो भएको छ ।