मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १२ शुक्रबार २१:३८:oo
Read Time : > 2 मिनेट
समाचार

बागलुङको बुर्तिबाङमा ५० शय्याको अस्पताल सञ्चालन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार २१:३८:oo

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन सर्वेक्षण  गरेर जनशक्तिसमेत थप गरी अस्पताल सञ्चालन गरेको हो । अस्पताल सञ्चालनसँगै बागलुङका जनतालाई स्वास्थ्यमा सहज पहुँच पुग्नेछ ।

अस्पतालको शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकको स्वास्थ्य सेवा रहेको बताए । उनले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले यस वर्ष आफ्नै स्वामित्वमा रहने गरी बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपललाई ५० शय्याको अस्पतालको रूपमा विकास गर्ने निर्णय गरेको बताए ।  यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्यय थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वतः बढ्ने उनको भनाइ छ ।  

०६७ सालमा तत्कालीन बागलुङ जिल्ला अस्पताललाई धौलागिरि अञ्चल हुँदै प्रादेशिक अस्पताल विकसित गरिएसँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालसरहको सेवा–सुविधाको रूपमा विकास गर्ने योजना रहेको थियो । अस्पतालको रूपमा विकास गर्ने गरी पूर्वाधार निर्माणको काम भए तापनि अस्पतालको रूपमा विकास हुन सकेको थिएन । अस्पताल नहुँदा जनताले पाउनुपर्ने निःशुल्क उपचार, औषधि, २४ घन्टे सेवा, ओपिडी, इमर्जेन्सी सेवा कटौती भएका थिए ।

१० वर्ष पहिलेदेखि नै शल्यक्रियामार्फत सुरक्षित सुत्केरी सेवा
अस्पतालमा झन्डै १० वर्ष पहिलेदेखि नै शल्यक्रियामार्फत सुरक्षित सुत्केरी सेवा प्रदान गरिँदै आएको थियो । अहिले यसलाई थप व्यवस्थित गरेर इमर्जेन्सी र ओपडी दुवै गरेर थप सेवाहरू विस्तार भइसकेको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. नवीन्द्र ढकालले जानकारी दिए ।   ‘पूर्वाधारसहित भिडियो एक्स–रेदेखि प्रसूति सेवामा अप्रेसन पनि सञ्चालनमा आइसकेको छ,’ ढकालले भने, ‘डिजिटल तथा पूर्ण अटोमेटिक ल्याब पनि बनिसकेको छ ।’ यहाँ १० वर्षअघि नै पर्याप्त पुग्ने गरी भवन बनाइएको थियो ।

अस्पताल नबन्दै यहाँ वार्षिक सात सयजनाले त सुत्केरी सेवा मात्रै लिएको तथ्यांक रहेको डा. ढकाल बताउँछन् । अस्पतालमा दैनिक तीन सयजनासम्म उपचारका लागि आउने गरेका छन् ।  बाल रोग विशेषज्ञसमेत रहेका ढकाललगायत एकजना एमडिजिपी डाक्टर पनि कार्यरत रहेका छन् ।  अस्पतालले दाँत, आँखा उपचार, भिडियो एक्स–रे, क्षयरोगको जिन एक्स्पर्ट सेवासमेत दिन थालिसकेको छ । ढकालका अनुसार यहाँ मासिक २० वटासम्म अप्रेसन भइरहेका छन् । हरेक वर्ष ८० भन्दा बढी पोस्टमार्टमसमेत यहाँ भएको छ । 

ओपिडी, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवाजस्ता काम पनि नियमित सञ्चालन भएको छ । यहाँ स्वास्थ्य सेवा नपाए स्थानीयहरू सदरमुकाम बागलुङ बजार पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता छ । यहाँ रक्तसञ्चार सेवाका लागि पनि तयारी गरिएको छ । 

मध्यपहाडी लोकमार्ग बागलुङमा मात्रै १४२ किलाेमिटर छ । उक्त खण्डमध्ये झँडै ८० किलाेमिटर खण्डको सेवा क्षेत्र पनि बुर्तिबाङ हो । यहाँ दुर्घटनाका बिरामी पनि धेरै आउने भएकाले रक्तसञ्चार सेवा अति आवश्यक रहेको गण्डकी प्रदेश सभा सदस्य द्रोण कुँवर बताउँछन् ।  सदरमुकामदेखि ९० किलाेमिटर पश्चिमको बुर्तिबाङमा अस्पताल अतिआवश्यक भएकोमा ढिला गरी सेवा प्रदान गर्न पाउँदा यस क्षेत्रका जनतामा खुसियाली छाएको उनी बताउँछन् ।  

सदरमुकामदेखि ९० किलाेमिटर पश्चिमको बुर्तिबाङमा अस्पताल
बुर्तिबाङ अस्पताल पश्चिम बागलुङका नागरिककाे पहिलो आधार भएका कारण आगामी दिनमा यसलाई अझै व्यवस्थित गरिने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकको भनाइ छ । मध्यपहाडी लोकमार्गको छेउमै पर्ने अस्पताललाई आगामी दिनमा आउन सक्ने समस्यालाई मध्यनजर  ट्रमालगायत सेवालाई प्राथमिकता राख्ने पाठक बताउँछन् । 
बुर्तिबाङबाट सामान्य उपचारका लागि पनि पाल्पा र बुटवल जाने समस्या अस्पताल स्थापनाले हटेको स्थानीयको भनाइ छ । हालसम्म ढोरपाटन नगरपालिकाको स्वामित्वमा रहेको अस्पताल अबदेखि गण्डकी प्रदेश सरकारमातहतमा रहने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भूमिश्वर शर्माले जानकारी दिए ।