कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) जाजरकोटको भवन उद्घाटन गरिएको छ । महालेखा नियन्त्रक विनोदप्रकाश सिंहको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो । भाडाको कोठाबाट सञ्चालन भइरहेको कार्यालयले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटको नयाँ भवन निर्माणका लागि २०७१ सालको असारदेखि जग्गा प्राप्तिको काम भएको थियो। भेरी नगरपालिका– ४ निवासी दुर्गाबहादुर भडेल र उनकी श्रीमती बागेश्वरी भडेलले चार रोपनी जग्गा दान गरेका थिए। भडेल परिवारको योगदानको कदर गर्दै महालेखा नियन्त्रक सिंहले भवनको उद्घाटन गरे।
भवन निर्माण कार्यको शुरुवात २०७९ असोज २ गते भएको थियो। संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतमार्फत् तामाकोशी कन्स्ट्रक्सन प्रालि दोलखाले भवन निर्माणको ठेक्का लिएको थियो। कुल ३ करोड ६ लाख ८ हजार ९८१ (भ्याटबाहेक) रुपैयाँमा सम्झौता भएको थियो। आरम्भमा भवन निर्माणको काम २०८० चैत्र १ गतेसम्म सम्पन्न गनुपर्ने थियो। तर, त्यसअगावै कार्तिक १७ गते आएको भूकम्पका कारण निर्माण कार्यमा ढिलाइ भएको थियो। यसपछि म्याद थप गर्दै भवन निर्माण कार्य २०८१ जेठ २ गते सम्पन्न भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटका प्रमुख नवराज वलीले जानकारी दिए
भवन निर्माणको कुल खर्च ३ करोड २१ लाख ३७ हजार ६३९ (भ्याटसहित) रुपैयाँ रहेको वलीले बताए। १२ वटा कोठा रहेको भवनले जाजरकोटको सरकारी कार्य प्रणालीलाई सुदृढ बनाउने उनको भनाइ छ। भवनको शुक्रवार महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले ताम्रापत्र अनावरण गर्दै उद्घाटन गरेका थिए।