साढे एक अर्ब लागतमा भैरहवामा अत्याधुतिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ । बैशाख ०८३ सञ्चालनमा ल्याउने गरी दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा एक सय बेड क्षमताको सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्न लागेको अस्पतालका सञ्चालक अर्जुन पौडेलले जानकारी दिए ।
आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ संयुक्त राज्य अमेरिका (युएसए) नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा. सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रुपन्देहीमा १० वर्षदेखि सिद्धार्थनगर सिटी अस्पताल सञ्चालन गरिरहेका अर्जुन पौडेललगायतको टिमले क्यान्सर अस्पताल निर्माण गर्न लागेका हुन् ।
क्यान्सर रोग उपचारको लागि अत्याधुनिक उपकरण लिनियर एक्सिलेटरको सुविधासहित सञ्चालन हुने अस्पतालको नाम सुमित्रा मेमोरियल क्यान्सर अस्पताल रहेको छ । अस्पतालका प्रमुख संरक्षक पौडेलका अनुसार अस्पताल भवन निर्माणको लागी नक्सांकन र वातावरणीय प्रभाव मुल्यांकनको काम भइसकेको छ ।
पौडेलकी आमा सुमित्रा उपाध्यायको ०७७ मा क्यान्सर रोगकै कारण निधन भएको थियो । क्यान्सर रोगको उपचार पद्धती भित्र्याउने उद्देश्यका साथ सम्भावयता अध्ययन गर्न थाइल्याण्ड, बंगलादेश, भारत र संयुक्त राज्य अमेरिका (युएसए) मा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालमा पुगेर अध्ययन गरेपछि स्वर्गीय आमाको नामबाट अस्पताल निर्माण तयारी थालेको पौडेलले बताए ।
भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालकै एउटा अंगको रुपमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन लागिएको उनले बताए । सिद्धार्थ नगरसिटी हस्पिटलसँग सहकार्य गरी यस अस्पतालले कार्य गर्नेछ ।