मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १३ शनिबार o७:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिल्ला अदालत कास्कीमा रविको बयान : सम्पत्ति शुद्धीकरण अभियोग लगाउने गैरकानुनी आर्जन गरेको छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार o७:४९:oo

रास्वपा सभापति रवि लामिछानेले नियम र कानुनको अधीनमा रहेर गरेको आम्दानीबाहेक आफूले गैरकानुनी आर्जन नगरेको बयान दिएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले सम्पत्ति शुद्धीकरण अभियोगमाथि केन्द्रित रहेर शुक्रबार लिएको बयानमा लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक नरहेको दाबी गरे । 

‘म राम्रो पारिश्रमिकमा ग्यालेक्सी टिभीमा गएको थिएँ, कर तिरेर कानुनबमोजिम पारिश्रमिक मेरो खातामा आएको हो, अन्य पैसा आएको छैन । मलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक छैन,’ उनले बयानमा भने । ७ पुसमा दायर मुद्दामा लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग गरिएको छ । 

लामिछानेले आफ्नोे खातामा आउने–जाने गरेको बैंक ट्रान्जेक्सन देखाएर २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरण चलाइएको बताए । ‘आफ्नै एउटा खाताबाट अर्काे खातामा सारेको, वालेटबाट खाता र खाताबाट वालेटमा गएको पैसा पनि जोडेर हिसाब निकालिएको छ,’ सम्पत्तिको स्रोतको विवरण न्यायाधीशलाई देखाउँदै लामिछानेले भने, ‘घरपरिवारको खातामा पठाएको, फेरि परिवारको खाताबाट मेरोमा आएको पैसा पनि जोडिएको छ ।’

लामिछानेले ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईको निर्देशनमा प्रबन्ध निर्देशकको हैसियतमा चेक काटेको बताए । ‘गोर्खा मिडियामा आर्थिक कारोबार गर्ने अधिकार सबै अध्यक्ष जिबी राईको थियो । उनकै निर्देशनमा कारोबार भएको हो । म प्रबन्ध निर्देशक थिएँ, लगानीको सबै जिम्मेवारी जिबीको हो, मलाई जानकारी भएन,’ लामिछानेले भने, ‘जसको लगानी थियो, उसैको आदेशको पालना गरेर चेक काटेको हुँ । जिबी बाहिर भएका वेला कतिपय चेक मेरो नामबाट काटिएका छन्, ती चेक काटेको होइन कि मालिकको आदेश पालना गरेको हो ।’ 

उनले आफू सञ्चारकर्मीका रूपमा काम गर्ने गरी गोर्खा मिडियामा जोडिएको र कुनै पनि रकम लगानी नगर्ने गरी १५ प्रतिशत सेयर लिएको बताए । बिहीबारदेखि सुरु भएको लामिछानेको बयान शुक्रबार सकिएको छ । दुई दिनमा लामिछानेसँग २८ प्रश्न सोधिएका छन् । सहकारी ठगी मुद्दामा न्यायाधीशले बिहीबार नै बयान लिएका थिए । त्यसमा पनि इन्कारी बयान दिएका लामिछानेले आफूले सूर्यदर्शन सहकारी देख्दा पनि नदेखेको, पाइला पनि नटेकेको, कुनै खाता र सेयर पनि नभएको जवाफ दिएका थिए ।

लामिछानेको बयानअघि अदालतले गोर्खा मिडियाका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल जोशी र लीला पछाईको बयान लिइसकेको छ  । अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, सहकारीकी पूर्वउपाध्यक्षसमेत रहेकी एमाले नेतृ मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ, पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको बयान लिनेछ । सबैको बयानपछि थुनछेक बहस हुनेछ । 

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले ७ पुसमा लामिछानेसहित ४४ विरुद्ध मुद्दा चलाएको थियो । १८ असोज ०८० मा सहकारीका अध्यक्ष जिबी राईसँगै १९ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको थियो । तर, उनीसहित १९ विरुद्ध ५ पुसमा पूरक मुद्दा चलेको थियो ।