मकवानपुरमा प्रहरीले जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ।मकवानपुर प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– २ बाट पाँचजनालाई र हेटौँडा– १७ बाट दुईजना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा हेटौँडा– २ पुरानो मकवानपुर रोडस्थित शिशिर राजथलाको घरबाट ३१ वर्षका राजथलासहित हेटौँडा– २ का ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षका सुदीप भुर्तेल, हेटौँडा– ४ का ३० वर्षका असिमकुमार बर्तौला र हेटौँडा– १ का ३० वर्षकै ओम साह छन्।
उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा चार ग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस्तै, हेटौँडा– १७ दाबिलेबाट खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हटिया दाबिलेका ३२ वर्षका विदनकुमार भुजेल र बाराको विश्रामपुर गाउँपालिका– ८ नकाटुवा टोल बस्ने २१ वर्षका शेख आजाद रहेका छन् । प्रहरीचौकी हटियाको टोलीले भुजेलको घरबाटै उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट दुई ग्राम ५४० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले जानकारी दिए । लागुऔषधसहित पक्राउ परेका सातैजनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।