शुक्रबार साँझबाट वर्षा र हिमपात गराउने प्रणाली भित्रिने भएको छ। यसको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले विशेष बुलेटिन जारी गरी शुक्रबार साँझबाट भित्रिने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै गण्डकी, बागमती, मधेश र कोशीका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ।
महाशाखाका अनुसार शनिबारसम्म सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ। यो मौसम प्रणालीको असरले तापक्रमसमेत घट्ने र चिसो हुने सम्भावना छ।