१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १३ आइतबार o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नख्खु खोलामा चणिकलालले दुईजनाको उद्धार गर्दै थिए,  सिंहदरबारमा पत्रकारसँग गृहमन्त्रीले ‘बचाउन सकिएन’ भन्दै थिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o६:१४:oo

मनसुन कमान्डको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री रमेश लेखकले भने–नख्खु खोलामा केहीलाई टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकिएन । यसमा म अत्यन्तै दुःखी छु । भिजिबिलिटीका कारण हेलिकोप्टर उडाएर उद्धार गर्न सकिएन । जमिनबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गर्ने प्रयास हुँदाहुँदै पनि जोगाउन सकिएन । 

विपत्मा परेकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयमातहत विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखा छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पनि छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि विपत्का वेला गृहमार्फत नै खटिने गर्छन् । तर, शुक्रबार र शनिबार परेको भीषण वर्षा र त्यसपछि आएको बाढीपहिरोबाट भएको जनधनको क्षति न्यूनीकरणमा यी कुनै पनि निकाय प्रभावकारी देखिएनन् । 

ज्वलन्त उदाहरण ललितपुर महानगरपालिका– २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएको रौतहटका राजु साहको परिवार हुन् । सुगम टोलमा ४३ बर्षीय साह केही बर्षदेखि जस्ताको टहरो बारेर ग्रिल कारखाना चलाउँदै आएका थिए । ग्रिलसँगै उनले कवाडखाना पनि चलाउँदै आएका थिए । सोही कारखानामा उनी छोरी ६ बर्षीया मेघना साह,  भाई २२ बर्षीय राज साह र  भतिजी ४ बर्षीया शेर्तु साहसहित बस्दै आएका थिए । कारखाना छेउहुँदै बग्ने नख्खु खोलामा शुक्रबार रातभर भिषण बाढी आयो । उनी रातभर जागै बसे । शनिवार बिहानसम्म पनि बर्षा रोकिएन । खोलाको सतह अझ उर्लिएर आयो । हेर्दाहेर्दै कारखानालाई बढीले ढाक्यो । ज्यान जोगाउन बिहान ५ बजेतिर सबैजना टहराको छानामाथि चढे । आसपासका छिमेकीसँग उद्धारका निम्ति आग्रह गरे । बाढी ठुलो थियो । स्थानीयले उद्धारका निम्ति बाढीमा छिर्ने आँट गर्न सकेनन् । तर, प्रहरीलाई तत्काल फोन गरे । पटक–पटकको आग्रहपछि करिब ७ बजेतिर सशस्त्र प्रहरीको टोली घटनास्थल पुग्यो । तर, उनीहरूसँग उद्धारका निम्ति कुनै सामग्री थिएन । 

सशस्त्र प्रहरीको टोलीले तरकारी बोक्ने क्यारेटमा डोरी बाँधेर टहरातर्फ फ्याँके । तर, क्यारेटलाई भेलले हुत्यायो । हेर्दाहेर्दैै जस्ताको टहरा बाढीले भत्कायो । उद्धारको पर्खाईमा टहरामाथि बसेका साहका परिवार भेलमा खसे । घटना नियालिरहेका सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष पूर्ण केसी गुहार माग्दै भेल बग्ने किनारैकिनार दौडिए । भेलमा बगेका एक जनालाई उद्धार गरे । 

काभ्रेका तेमाल– ९ का  ३३ बर्षीय चाणिकलाल तामाङले पनि भेलमा बग्दै गरेका साहका परिवारलाई देखे । उनी पनि भेलमा पसे । २२ बर्षीय राज साह र उनकी छोरी ६ बर्षीया मेघना साहलाई सकुशल उद्दार गर्न सफल भए । भेलमा बगेकी ४ बर्षीया शेर्तु साह भने अझै बेपत्ता छिन् । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले नक्खुको बढीमा फसेकाहरूको उद्धार गर्न ढिला भएको स्वीकार गरे । उनले भने, ‘नख्खुको बाढी पीडितलाई समयमा नै उद्धार गर्न नसकिएकै हो । सशस्त्रका टोली घटनास्थल पुगेका रहेछन् । उद्धार गर्न जाँदा उनीहरू घाइने भएछन् । त्यसो हुँदा उद्धार कार्य प्रभावकारी भएन । कम भिजिविलिटि हुँदा हेलिकोप्टर पनि चलाउन सकिएन र उद्दार समयमै हुन सकेन ।’

जोखिम मोल्दा दुईजनाको ज्यान जोगिन्छ भने जान्छु भनेर स्वाट्टै हामफालेँ र उद्धार गरेँ : चणिकलाल तामाङ

तपाईंको परिचय बताइदिनूस्...
मेरो घर काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटार हो । काठमाडौं बस्न थालेको पाँच वर्ष भयो । पहिला भक्तपुर बस्थेँ । नख्खु सरेको पाँच महिना भयो । म रङरोगनको काम गर्छु ।

नख्खु खोलाबाट दुईजनाको उद्धार गर्नुभयो । कसरी आँट गर्नुभयो ? 
बिहान खोला बढ्यो कि भनेर हेर्न गएको थिएँ । खोला बढेको देखेँ । त्यही वेला माथिबाट मान्छे बगेर आएको देखँे । खोलाछेउमा हेर्न गएका वेला माथिबाट मान्छे बग्दै आएको देखेपछि खोलामा हामफालेर समाउनतिर लागेँ । समातेर बाहिर निकालेँ ।

तपाईं हामफाल्दा के थियो अवस्था ? 
मेरी श्रीमती, नानी र अर्काे एकजना थिए । उनीहरू मलाई नजानू–नजानू भन्दै थिए । आफू गएर दुईजनाको ज्यान जोगिन्छ भने जान्छु भनेर स्वाट्टै हामफालेँ । दुईजनाको ज्यान जोगिन्छ भने किन नजाने भन्ने भावना मभित्र आयो । केही नसोची तुरुन्तै हामफालेको हुँ ।

हामफालेपछि के भयो ? 
उनीहरू बिचमा थिएनन्, अलि वरै थिए । बगाएर ल्याउँदाल्याउँदै मैले समातेर बाहिर ल्याएको हो । उसले हातले इसारा गर्‍यो । मैले सीधै गएर हात समातेर तानेको हो । माथिबाट बग्दैबग्दै आइरहेको थियो, हात हाल्लाइरहेको थियो, मैले हात मात्रै देखेको हो । मैले पहिलेदेखि नै पौडी खेलेको हो । सुनकोशीमा माछा मार्न सिकेको पौडीको सीप यो आपत्मा काम लाग्यो ।

उद्धार गरिसकेपछि के भयो ?
खोलाबाट तानेर बाहिर निकालिसकेपछि नानी बेहोस थियो । नानीको पेटमा थिचेर पानी निकालेपछि होस आयो । एकछिनमा नानी बाबा भनेर करायो । बाबा त छैन, बगाएर लगिसकेको रहेछ । नानीको काका रहेछ, ऊ अलिअलि होसमै थियो । एकछिन बोल्यो, दाइ–दाइ मात्र भन्यो । उसको दाइ पनि बगेको रहेछ । नानीको काका हुँ भन्यो, त्यत्तिकैमा उसलाई चक्कर लाग्यो । त्यसपछि पूर्वडिआइजी अशोक सिंहले प्रहरी भ्यान बोलाएर अस्पताल लानुभयो ।

त्यहाँ अरू मान्छे पनि थिए, उद्धार गरेनन् ?
माथि अलिअलि मान्छे थिए, तर समाएनन् । काठ समाउने, के–के समाउनेतिर लागेछन् । मान्छे समाउनेतिर लागेनछन् । त्यहाँबाट बगेर आएपछि मैले समाएको हुँ ।

यो घटनाबाट सरकार, समुदायले के सिक्नुपर्छ ? 
सबै सतर्क हुनुपर्छ । सरकारले सबै उपकरण उपलब्ध गराउनुपर्‍यो । सुरक्षाकर्मी अझै तदारुकताका साथ अलर्ट हुनुुपर्‍यो । मैले परिआएको वेला आफ्नो मानवीय धर्म निर्वाह गरेको हुँ । नागरिकभन्दा अगाडि राज्य अझै चनाखो हुनुपर्छ ।  (कमलराज भट्टले गरेको कुराकानी)