१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
अन्तर्वार्ता प्रिन्ट संस्करण

जोखिम मोल्दा दुईजनाको ज्यान जोगिन्छ भने जान्छु भनेर स्वाट्टै हामफालेँ र उद्धार गरेँ : चणिकलाल तामाङ

सुनकोशीमा माछा मार्न सिकेको पौडीको सीप यो आपतमा काम लाग्यो

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o८:२४:oo

तपाईंको परिचय बताइदिनूस्...
मेरो घर काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटार हो । काठमाडौं बस्न थालेको पाँच वर्ष भयो । पहिला भक्तपुर बस्थेँ । नख्खु सरेको पाँच महिना भयो । म रङरोगनको काम गर्छु ।

नख्खु खोलाबाट दुईजनाको उद्धार गर्नुभयो । कसरी आँट गर्नुभयो ? 
बिहान खोला बढ्यो कि भनेर हेर्न गएको थिएँ । खोला बढेको देखेँ । त्यही वेला माथिबाट मान्छे बगेर आएको देखेँ  । खोलाछेउमा हेर्न गएका वेला माथिबाट मान्छे बग्दै आएको देखेपछि खोलामा हामफालेर समाउनतिर लागेँ । समातेर बाहिर निकालेँ ।

तपाईं हामफाल्दा के थियो अवस्था ? 
मेरी श्रीमती, नानी र अर्काे एकजना थिए । उनीहरू मलाई नजानू–नजानू भन्दै थिए । आफू गएर दुईजनाको ज्यान जोगिन्छ भने जान्छु भनेर स्वाट्टै हामफालेँ । दुईजनाको ज्यान जोगिन्छ भने किन नजाने भन्ने भावना मभित्र आयो । केही नसोची तुरुन्तै हामफालेको हुँ ।

हामफालेपछि के भयो ? 
उनीहरू बिचमा थिएनन्, अलि वरै थिए । बगाएर ल्याउँदाल्याउँदै मैले समातेर बाहिर ल्याएको हो । उसले हातले इसारा गर्‍यो । मैले सीधै गएर हात समातेर तानेको हो । माथिबाट बग्दैबग्दै आइरहेको थियो, हात हाल्लाइरहेको थियो, मैले हात मात्रै देखेको हो । मैले पहिलेदेखि नै पौडी खेलेको हो । सुनकोशीमा माछा मार्न सिकेको पौडीको सीप यो आपतमा काम लाग्यो ।

उद्धार गरिसकेपछि के भयो ?
खोलाबाट तानेर बाहिर निकालिसकेपछि नानी बेहोस थियो । नानीको पेटमा थिचेर पानी निकालेपछि होस आयो । एकछिनमा नानी बाबा भनेर करायो । बाबा त छैन, बगाएर लगिसकेको रहेछ । नानीको काका रहेछ, ऊ अलिअलि होसमै थियो । एकछिन बोल्यो, दाइ–दाइ मात्र भन्यो । उसको दाइ पनि बगेको रहेछ । नानीको काका हुँ भन्यो, त्यत्तिकैमा उसलाई चक्कर लाग्यो । त्यसपछि पूर्वडिआइजी अशोक सिंहले प्रहरी भ्यान बोलाएर अस्पताल लानुभयो ।

त्यहाँ अरू मान्छे पनि थिए, उद्धार गरेनन् ?
माथि अलिअलि मान्छे थिए, तर समाएनन् । काठ समाउने, के–के समाउनेतिर लागेछन् । मान्छे समाउनेतिर लागेनछन् । त्यहाँबाट बगेर आएपछि मैले समाएको हुँ ।

यो घटनाबाट सरकार, समुदायले के सिक्नुपर्छ ? 
सबै सतर्क हुनुपर्छ । सरकारले सबै उपकरण उपलब्ध गराउनुपर्‍यो । सुरक्षाकर्मी अझै तदारुकताका साथ अलर्ट हुनुुपर्‍यो । मैले परिआएको वेला आफ्नो मानवीय धर्म निर्वाह गरेको हुँ । नागरिकभन्दा अगाडि राज्य अझै चनाखो हुनुपर्छ ।  (कमलराज भट्टले गरेको कुराकानी)

नख्खु खोलामा चणिकलालले दुईजनाको उद्धार गर्दै थिए,  सिंहदरबारमा पत्रकारसँग गृहमन्त्रीले ‘बचाउन सकिएन’ भन्दै थिए

मनसुन कमान्डको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री रमेश लेखकले भने–नख्खु खोलामा केहीलाई टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकिएन । यसमा म अत्यन्तै दुःखी छु । भिजिबिलिटीका कारण हेलिकोप्टर उडाएर उद्धार गर्न सकिएन । जमिनबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गर्ने प्रयास हुँदाहुँदै पनि जोगाउन सकिएन ।

विपतमा परेकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयमातहत विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखा छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पनि छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि विपत्का वेला गृहमार्फत नै खटिने गर्छन् । तर, शुक्रबार र शनिबार परेको भीषण वर्षा र त्यसपछि आएको बाढीपहिरोबाट भएको जनधनको क्षति न्यूनीकरणमा यी कुनै पनि निकाय प्रभावकारी देखिएनन् । 

ज्वलन्त उदाहरण ललितपुर महानगरपालिका– २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएको रौतहटका राजु साहको परिवार हुन् । सुगम टोलमा ४३ बर्षीय साह केही बर्षदेखि जस्ताको टहरो बारेर ग्रिल कारखाना चलाउँदै आएका थिए । ग्रिलसँगै उनले कवाडखाना पनि चलाउँदै आएका थिए । सोही कारखानामा उनी छोरी ६ बर्षीया मेघना साह,  भाई २२ बर्षीय राज साह र  भतिजी ४ बर्षीया शेर्तु साहसहित बस्दै आएका थिए । कारखाना छेउहुँदै बग्ने नख्खु खोलामा शुक्रबार रातभर भिषण बाढी आयो । उनी रातभर जागै बसे । शनिवार बिहानसम्म पनि बर्षा रोकिएन । खोलाको सतह अझ उर्लिएर आयो । हेर्दाहेर्दै कारखानालाई बढीले ढाक्यो । ज्यान जोगाउन बिहान ५ बजेतिर सबैजना टहराको छानामाथि चढे । आसपासका छिमेकीसँग उद्धारका निम्ति आग्रह गरे । बाढी ठुलो थियो । स्थानीयले उद्धारका निम्ति बाढीमा छिर्ने आँट गर्न सकेनन् । तर, प्रहरीलाई तत्काल फोन गरे । पटक–पटकको आग्रहपछि करिब ७ बजेतिर सशस्त्र प्रहरीको टोली घटनास्थल पुग्यो । तर, उनीहरूसँग उद्धारका निम्ति कुनै सामग्री थिएन । 

सशस्त्र प्रहरीको टोलीले तरकारी बोक्ने क्यारेटमा डोरी बाँधेर टहरातर्फ फ्याँके । तर, क्यारेटलाई भेलले हुत्यायो । हेर्दाहेर्दैै जस्ताको टहरा बाढीले भत्कायो । उद्धारको पर्खाईमा टहरामाथि बसेका साहका परिवार भेलमा खसे । घटना नियालिरहेका सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष पूर्ण केसी गुहार माग्दै भेल बग्ने किनारैकिनार दौडिए । भेलमा बगेका एक जनालाई उद्धार गरे । 

काभ्रेका तेमाल– ९ का  ३३ बर्षीय चाणिकलाल तामाङले पनि भेलमा बग्दै गरेका साहका परिवारलाई देखे । उनी पनि भेलमा पसे । २२ बर्षीय राज साह र उनकी छोरी ६ बर्षीया मेघना साहलाई सकुशल उद्दार गर्न सफल भए । भेलमा बगेकी ४ बर्षीया शेर्तु साह भने अझै बेपत्ता छिन् । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले नक्खुको बढीमा फसेकाहरूको उद्धार गर्न ढिला भएको स्वीकार गरे । उनले भने, ‘नख्खुको बाढी पीडितलाई समयमा नै उद्धार गर्न नसकिएकै हो । सशस्त्रका टोली घटनास्थल पुगेका रहेछन् । उद्धार गर्न जाँदा उनीहरू घाइने भएछन् । त्यसो हुँदा उद्धार कार्य प्रभावकारी भएन । कम भिजिविलिटि हुँदा हेलिकोप्टर पनि चलाउन सकिएन र उद्दार समयमै हुन सकेन ।’