१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ असोज १३ आइतबार १o:o९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला लिग : रश्मि सर्वाधिक गोल गर्ने खेलाडी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १o:o९:oo

लिगको पहिलो चरण सम्पन्न हुन एक मात्रै खेल बाँकी रहँदा १८९ गोल भएका छन्, जसमा एपिएफकी रश्मि एक्लैले १८ गोल गरिसकेका छिन् 

रश्मिकुमारी घिसिङ : क्लब– एपिएफ, गोल–१८ 

राष्ट्रिय महिला लिगको पहिलो चरणमा स्ट्राइकर रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता बनेकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सदस्यसमेत रहेकी विभागीय टोली एपिएफ क्लबकी रश्मिले पहिलो चरणमा ९ खेल खेल्दा १८ गोल गरिन् । २२ वर्षीय खेलाडीले कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा बागमती युवा क्लबविरुद्ध ह्याट्रिक गरेकी छिन् । 

कोशी र बागमतीविरुद्ध समान पाँच, सुदूरपश्चिमविरुद्ध १९–० को जितमा चार गोल गर्दा कर्णालीलाई दुई तथा वालिङ र चन्द्रपुरविरुद्ध समान एक गोल गरेकी हुन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च लिग खेल्ने भएपछि प्रशिक्षक जिवेशकुमार पाण्डेले रश्मिलाई मुख्य स्ट्राइकर बनाएका थिए । ०७८ सालमा त्रिभुवन आर्मीबाट खेलेकी रश्मि यसपटक एपिएफमा अनुबन्ध भएकी हुन् । 

एपिएफबाट डेब्यु लिगमै चन्द्रपुरकी रश्मिले आफूलाई प्रमाणित गरेकी छिन् । ०७८ को लिगमा सावित्राले सात खेल खेल्दै १४ गोल गरेकी थिइन् । उनीपछि वालिङबाट खेलेकी युगान्डाकी स्ट्राइकर ज्याकलिन सालिनीसहित विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपा शाही, अमिषा कार्की, चन्द्रा भण्डारीले समान आठ गोल गरेका छन् । 

एक खेल बाँकी रहँदा पहिलो चरणबाट शीर्ष पाँचमा रहँदै एपिएफसँगै आर्मी, नेपाल पुलिस, वालिङ र कोशी दोस्रो चरणमा प्रवेश गरेका छन् । महिला लिगमा डेब्यु गरेका बागमती र संकटासँगै चन्द्रपुर नगरपालिका, कर्णाली र सहभागितामै सीमित भएको सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् । 

दीपा शाही : क्लब– आर्मी, गोल– ८
राष्ट्रिय टोलीकी सदस्य दीपाले त्रिभुवन आर्मीबाट खेल्दै लिगको पहिलो चरणमा आठ गोेल गरेकी छिन् । उनकै प्रदर्शनमा आर्मी २२ अंकसहित दोस्रो स्थानमा रहन सफल भयो । हुम्लाकी १८ वर्षीया दीपाले सुदूरपश्चिम प्रदेशविरुद्ध १४–१ को जितमा एक्लै पाँच गोल गरेकी थिइन् । चन्द्रपुर नगरपालिकाविरुद्ध दुई तथा कर्णालीविरुद्ध एक गोल गरिन् । दीपाले सुदूरपश्चिमविरुद्ध पहिलो हाफमै ह्याट्रिक गर्न सफल भएकी थिइन् । अघिल्लो सिजनमा मात्रै उनी भारतीय आइलिग टोली किक स्टार्सबाट खेलेकी थिइन् । 

ज्याकलिन नासाली : क्लब – वालिङ, गोल– ८
युगान्डाबाट पहिलोपटक नेपाली लिग खेल्न आएकी नासाली आठ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छिन् । ४४ खेल सम्पन्न हुँदा ज्याकलिनले दुई ह्याट्रिक पूरा गरेकी छिन् । उनले आफ्नो पहिलो खेलमै डेब्यु गरिरहेको संकटाविरुद्ध तीन गोल गरेकी थिइन् । त्यसपछि बागमतीविरुद्ध ह्याट्रिक गरेकी हुन् । सुदूरप्श्चिम प्रदेश र कर्णाली प्रदेशविरुद्ध उनले समान तीन गोल गरिन् । उनकै उच्च प्रदर्शनमा वालिङ शीर्ष पाँचमा स्थान बनाउन सफल भयो । 

अमिषा कार्की : क्लब– आर्मी, गोल– ८ 
आर्मीले लिगमा दोस्रो स्थान प्राप्त गर्दा स्ट्राइकर अमिषा कार्कीको प्रदर्शन उच्च रह्यो । उनी यस लिगमा निकै लयमा पनि रहिन् । लगातार दोस्रोपटक आर्मीबाट खेलेकी अमिषाले यसपटक चन्द्रपुरविरुद्धको जितमा ह्याट्रिक गरिन् । त्यसबाहेक पूर्वक्लब वालिङविरुद्ध दुई तथा बागमती, नेपाल पुलिस र कर्णाली प्रदेशलाई समान एक गोल गरेकी हुन् । यसअघि शारदानगरमा ७ खेल खेल्दा अमिषाले ४ गोल गरेकी थिइन् ।

विमला चौधरी : क्लब– आर्मी, गोल– ७
कम बोल्ने लजालु स्वभावकी विमला चौधरीले पनि आफूलाई शीर्ष १० गोल गर्ने खेलाडीभित्र समावेश गरेकी छिन् । उनले ९ खेल खेल्दा ७ गोल गरेकी हुन् । पाँच टिमविरुद्ध समान एक गोल गरेकी विमला उच्च गोल गर्ने खेलाडीको छैटौँ स्थानमा रहेकी छिन् । उनको सानदार प्रदर्शनले आर्मी लिगको पहिलो चरणमा दोस्रो स्थानमा रह्यो । कोशीविरुद्धको जितमा दुई गोल गरेकी विमलाले संकटा, एपिएफ, सुदूरपश्चिम, बागमती र कर्णालीविरुद्ध समान एक गोल गरेकी हुन् । 

चन्द्रा भण्डारी : क्लब– आर्मी, गोल– ८
यसपटक आर्मीको उच्च प्रदर्शनमा चन्द्राको प्रदर्शन सानदार रह्यो । धनगढीबाट नेपाली फुटबलमा उदाएकी चन्द्राले यसपटक आर्मीबाट लिगमा डेब्यु गर्दा आठ गोल गरिन् । चन्द्रले लिगभर दुई ह्याट्रिक पूरा गरिन् । चन्दपुरविरुद्ध दोस्रो ४० र ८४औँ मिनेटमा गोल गरेकी थिइन् । वालिङविरुद्ध ४३, ५४ र ७४औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरेकी हुन् । यसबाहेक कर्णाली र पूर्वक्लब सदूरपश्चिमविरुद्ध समान एक गोल गरिन् । ०७८ को लिगमा धनगढी उपमहानगरपालिकाबाट खेल्दा चन्द्राले सात खेलमा ८ गोल गर्दै राष्ट्रिय टिमको यात्रा तय गर्न सफल भएकी थिइन् ।