१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा सिस्नेरी एकेडेमीका ६ सहित सातजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १३:o४:oo

अविरल वर्षसँगै आएको पहिरोमा परी मकवानपुरमा सिस्नेरी एकेडेमीका ६ सहित सातजनाको मृत्यु भएको छ। जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित टेकरमा रहेको एन्फा एकेडेमीका ६ जना विद्यार्थी र बागमती गाउँपालिकामा एकजना युवतीसहित सातजनाको मृत्यु भएको हो।

इन्द्रसरोवर– ३ टेकरस्थित वत्सला माविमा रहेको एन्फा एकेडेमीका ६ विद्यार्थीको पहिरोमा परी मृत्यु भएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए।

मृतकको पहिचान भने खुल्न र सनाखत हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी चिलुवालको भनाइ छ। शनिबार बिहानैदेखि हराएका विद्यार्थीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेको थियो। शनिबार बिहान ६ बजेतिर सिस्नेरी खोलामा बाढी आएपछि सुरक्षित स्थानमा जाने क्रममा माथिबाट आएको पहिरोमा परी ६ विद्यार्थी बेपत्ता भएका थिए।

एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बेपत्ता भएका विद्यार्थीमा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र सुमन योञ्जन, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेको जानकारी दिए।

एन्फाले युथ– १४ क्याम्प सञ्चालन गर्ने भन्दै गत वर्ष वत्सलादेवी माविसँगको सहकार्यमा सिस्नेरीमा ३६ विद्यार्थीलाई दुई प्रशिक्षकको साथमा एकेडेमीमा राखेको थियो। एकेडेमीमा ३६ विद्यार्थी रहेकोमा ३० जना सुरक्षित रहेको र दुईजना प्रशिक्षकसहित उनीहरूलाई शनिबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पुर्‍याइएको छ।

यता मकवानपुरको बागमती गाउँपालिकामा पहिरोले पुरिएर एक युवतीको मृत्यु भएको छ। मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बागमती गाउँपालिका– ३ सुक्खा सल्यानीकी २० वर्षीया फूलमाया थिङको मृत्यु भएको जानकारी दिए।

प्रहरीका अनुसार घरमाथिबाट आएको पहिरोले घर पुरिँदा घरले थिचेर फूलमायाको मृत्यु भएको हो। घटना शुक्रबार रातिको भए पनि खबर ढिला प्राप्त भएको प्रहरी निरीक्षक सापकोटाले बताए।