१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरोले हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध, खुल्न समय लाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १२:३६:oo

तीन दिनदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सम्पूर्ण सडक सञ्चाल अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, त्रिभुवन लोकपथ, भीमफेदी–कुलेखानी–पाखेल, फाखेल–हुमाने, चखेल–मातातीर्थ–सतुंगल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका– ८ मा रहेको मकवानपुर र ललितपुर जोड्ने बागमती खोलाको पुल कटान गरी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती खोलाले बगुवा पुलको पश्चिमपट्टिको मकवानपुरतर्फको भाग बगाएको छ।

यस्तै, कान्ति लोकपथअन्तर्गत नै बकैया गाउँपालिकाको वडा नम्बर ११ लाम्राङ, आँपचौर र वडा नम्बर १२ को घट्टेपाखामा सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध छ।

त्रिभुवन लोकपथअन्तर्गत थाहा नगरपालिका वडा नम्बर ५ दामनमा र दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका– ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ।

यस्तै, इन्द्रसरोवरको वडा नम्बर २ सिमखोलास्थित लच्कामा सिमखोलको बाढीले कटान गरी बाटो पूर्ण रूपमा अवरुद्ध बनाएको छ भने कुलेखानी ड्याममुनिको पुल पनि बाढीले बगाएको छ। कुलेखानी–मार्खु भित्री सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका– १ सिम्लाङमा खसेको पहिरोले भित्री सडकखण्ड पनि अवरुद्ध भएको छ।

यता हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका– ४ रातोमाटे, भीमफेदीकै वडा नम्बर ६ को ढोकाफेदीमा सडकमाथिबाट पहिरो खसि सडक अवरुद्ध भएको छ।

फाखेल–हुमाने, चखेल–मातातीर्थ–सतुंगल सडकखण्ड पनि अवरुद्ध भएको छ। यस खण्डका विभिन्न स्थानमा पहिरो खसी सडक अवरुद्ध रहेको मकवानपुर प्रहरीले जनाएको छ।

पानी पर्न रोकिएसँगै सडक विभाग, नेपाल प्रहरी र स्थानीय पालिकाहरूसँगको सहकार्यमा अवरुद्ध सडक खुलाउने प्रयास थालिएको मकवानपुर प्रहरीले जनाएको छ। पूर्ण रूपमा सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ।