१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार १२:५७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

विपतमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बागमती सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १२:५७:oo

बागमती प्रदेश सरकारले प्रदेशका जिल्लाहरूमा विपतबाट प्रभावित भएका नागरिकलाई तत्काल राहत र पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको छ।

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारका तर्फबाट प्रदेशअन्तर्गतका सबै जिल्लामा विपतबाट प्रभावित भएकाहरूलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापनामा संघीय सरकारसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी दिए।

उनले प्रदेश सरकारअन्तर्गतका निकायहरूबाट बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने र प्रदेश विपत् व्यवस्थापन कोषमार्फत आवश्यक सहयोग उपलब्ध गराउने बताए। प्रदेशका १३ वटै जिल्ला तथा स्थानीय विपत् व्यवस्थापन समिति तथा सुरक्षा निकायहरूलाई त्यसका लागि परिचालन गर्ने निर्णय भएको मुख्यमन्त्री लामाको भनाइ छ।

यस्तै, विपतबाट प्रभावित भएका प्रदेशका नागरिकको उचित व्यवस्थपनका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।

‘शनिबार साँझ बसेको भर्चुअल बैठकबाट अविरल वर्षपछि भएको क्षतिको विवरण संकलन गर्न मातहतका निकायलाई परिचालन गर्ने, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकारसँग सहकार्य गर्ने निर्णय भएको छ,’ उनले भने।

मुख्यमन्त्री लामाले विपतबाट घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन प्रदेशको स्वास्थ्य मन्त्रालयले मतहतका जनशक्ति परिचालन गर्ने र अवरुद्ध भएका सडक सञ्चालनका लागी सडकहरूको मर्मत तथा पुनर्निर्माणका लागि प्रदेशको भौतिक मन्त्रालयले तत्काल काम थाल्ने निर्णय भएको बताए।