१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
क्षतिग्रस्त बनेको अरुण तेस्रो जलविद्युत् आयोजना । 
२o८१ असोज १३ आइतबार o९:३५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीपहिरोले विद्युत् उत्पादनमा असर : निर्यात बन्द गरेर  तीन सय मेगावाट बिजुली आयात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o९:३५:oo

बिहीबार रातिबाट परेको पानीले नदीमा लेदोसहितको बाढी आएपछि विद्युत् उत्पादन बन्द गरेर प्राधिकरणले भारतबाट आयात गरेको छ ।

विद्युतगृह बन्द गर्नुपरेकाले आन्तरिक उत्पादन घटेकाले शनिबार भारतमा विद्युत् निर्यात पनि गरिएन । शुक्रबारसम्म भारतमा आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको थियो । तर, बाढीका कारण उत्पादन कटौती भएपछि शनिबार दिउँसो भारतबाट तीन सय मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

शनिबार राति नौ बजेसम्म भने विद्युत् आयात ६० मेगावाटमा सीमित भएको छ । अवस्था सामान्य भएपछि विद्युत् उत्पादन बढ्दै जाने र आयात शून्य हुने घोषले जानकारी दिए । उत्पादन सामान्य अवस्थामा आउनासाथ निर्यात पनि सुरु हुने उनले बताए । 

दैनिक २८ सय मेगावाटसम्म आपूर्ति भइरहेकोमा नदीमा आएको बाढीबाट जलविद्युतगृह बचाउन उत्पादन बन्द गरिएको थियो । जसकारण, शुक्रबार दिउँसो उत्पादन ६–७ सय मेगावाटमा मात्रै सीमित भएको थियो । तर, बर्सातको असर कम हुनासाथ शनिबार राति नौ बजे भने झन्डै १६ सय मेगावाट विद्युत् उत्पादन भएको छ । 

त्यसैगरी, लगातारको वर्षाका कारण स्पिल ओभर भएको इन्द्रसरोवरको जलसतह अर्थात् कुलेखानी ड्याममा पानीको सतह घटेको छ । शनिबार बिहान ड्याममा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको थियो । जलाशयमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जान थालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रूपमा खोलिएका थिए । साथै, शुक्रबारबाटै परियोजनाको ६० मेगावाट क्षमताको विद्युतगृहलाई पूर्ण रूपमै सञ्चालन गरिएको थियो । पछि पानीको सतह घटेपछि ड्यामका दुवै ढोका बन्द गरिएका छन् । 

सबैभन्दा ठुलो परियोजना तामाकोशी नै बन्द
नेपालको सबैभन्दा ठुलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी शुक्रबारदेखि नै बन्द गरिएको छ । शनिबार आएको पहिरोले परियोजनाको दोलखाको बिगु गाउँपालिका– १, लामाबगरस्थित बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति भएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको बाँध नियन्त्रण कक्षको भवन नै पहिरोले क्षतिग्रस्त बनाएको छ ।  

निजी क्षेत्रका चार परियोजना क्षतिग्रस्त
शनिबार मकवानपुरस्थित २२ मेगावाटको माण्डुखोला जलविद्युत् परियोजनाको पावरहाउस बाढीले डुबाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार पाँचथरस्थित २२.१ मेगावाटको तल्लो हेवा खोला जलविद्युत्, ८.५ मेगावाटको माथिल्लो हेवा खोला र १४.९ मेगावाटको हेवा खोला ‘ए’ परियोजना पनि पुनः प्रभावित भएको छ । 

पूर्व र काठमाडौंमा विद्युत् आपूर्ति अवरुद्ध 
शनिबार खिम्ती–लामोसाँघु प्रसारणलाइनको सात नम्बर टावर तामाकोशी नदीले बगाएको छ । सोही प्रसारणलाइनबाट काठमाडौंमा दुई सय ४० मेगावाट विद्युत् आपूर्ति गरिन्छ । तर, उक्त प्रसारणलाइन सञ्चालन नभएपछि अहिले काठमाडौंको विद्युत् अपूर्ति प्रभावित भइरहेको प्रवक्ता घोषले जानकारी दिए । काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब चार सयदेखि पाँच सय मेगावाटसम्म हुन्छ । शनिबार दिउँसो दुई सय मेगावाट हाराहारीमा विद्युत् आपूर्ति भएको थियोे । 

यस्तै, शनिबार साँझ काबेली करिडोरअन्तर्गतको दमक (झापा)–गोदक (इलाम) प्रसारणलाइनको ५१ नम्बर टावर माई खोलाले बगाएको छ ।