१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार ११:५५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वव्यापी पुँजीवाद र अन्तहीन युद्ध

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार ११:५५:oo

प्राकृतिक स्रोतहरूले जति शान्ति र समृद्धिलाई साकार बनाउन सक्छन्, उत्तिकै मात्रामा हिंसा र गरिबीको स्रोत पनि बन्न सक्छन् 

यस युगको सबैभन्दा खराब प्रवृत्तिको प्रतिनिधित्व गर्ने व्यक्तिको खोजी गर्दा हाम्रो दिमागमा झुल्किने पहिलो नाममा याह्या सिनवर (गाजाका हमास नेता), बिन्यामिन नेतन्याहु, किम जोङ उन वा भ्लादिमिर पुटिन हुन् । किन उनीहरूको नाम पहिले आउँछ भन्दा त्यसको मुख्य कारण के भने हामी यी नेताबारे भरपूर समाचार सुनेका छौँ । पश्चिमका मूलधारे भनिने सञ्चार माध्यमले बेवास्ता गरेका अन्य ‘भयावहता’को लेखाजोखा गर्ने हो भने सुडानी गृहयुद्धका पक्ष अझ बढी क्रूर देखिन्छन् । सुडानका नव युद्धसरदारले आफ्ना मानिस (वा आफू नियन्त्रित क्षेत्रमा बासिन्दा)प्रति आश्चर्यजनक क्रूरता र उपेक्षा प्रदर्शन गरिरहेका छन्, जसमा मानवीय सहायताको प्रवाहमा व्यवस्थित रूपमा बाधा पुर्‍याउनेदेखि सहायताको अत्यधिक रकम आफैँले कुम्ल्याउनेलगायत समावेश छन् ।

सुडानको अवस्थाले विश्वको आर्थिक तथ्यलाई उजागर गर्छ । देशका लामो समयदेखिका तानाशाह ओमार अल–बसिरलाई सन् २०१९ को व्यापक प्रदर्शनले अपदस्थ गर्‍यो । दक्षिण सुडान (क्रिस्चियन बहुल देश, जुन अहिले गृहयुद्धमा फसेको छ)को पृथकीकरणपछि उनको शासनकालमा शान्ति र स्थिरताको झलक देखिएको भने थियो । त्यसपछि, संक्रमणकालीन सरकारको छोटो अवधि चल्यो र लोकतान्त्रीकरणका केही किरण देखिँदै गर्दा दुई मुस्लिम युद्ध सरदार सुडान सशस्त्र बलका नेता जनरल अब्देल फतह अल बुरहान, जो अझै पनि नाम मात्रकै भए पनि राज्य प्रमुख हुन् र र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)का कमान्डर र देशका धनाढ्य व्यक्तिमध्ये एक मोहम्मद हमदान दागलो हेमदिती, (जसको अर्थ सानो मोहम्मद)बिच क्रूर युद्ध सुरु भयो । 

सन् २०१९ को ३ जुनमा खार्तुममा भएको नरसंहार, जसमा १२० भन्दा बढी प्रदर्शनकारीको मृत्यु, सयौँ घाइते, हजारौँ महिला बलात्कृत र कैयौँ घरमा लुटपाट एवं आगजनी गरिएको थियो, यसलगायत वर्तमान द्वन्द्वका जघन्य ज्यादतीका पछाडि आरएसएफको हात रहेको छ । दागलोको सेनाले सन् २०२३ को अप्रिलमा राजधानी खार्तुमसहित देशभरका एसएएफ (सुडानी सेना)का आधार शिविरमा व्यापक हमला गरेर हिंसाको नयाँ चक्र सुरु गर्‍यो । हुन त दुवै पक्षले लोकतन्त्रप्रति ओठे प्रतिबद्धता व्यक्त गर्छन्, तर उनीहरूका दाबीलाई कसैले पनि गम्भीरतापूर्वक लिँदैन । उनीहरू पहिले हामीले युद्ध जित्नुपर्छ, त्यसपछि हेरौँला भनेजस्तो गर्छन् । रुवान्डाको पल कागामेको शासनजस्तो उदार तानाशाही शासन सुडानमा पनि अपेक्षा गर्न सकिन्छ । 

बाह्य शक्तिको भूमिकाले स्थितिलाई थप जटिल बनाएको छ । उदाहरणका लागि, रुसको वाग्नर समूह, लिबियाली राष्ट्रिय सेना (खलिफा हफ्तारको कमान्डमा) र संयुक्त अरब इमिरेट्सले आरएसएफलाई सैन्य सामग्री, हेलिकोप्टर र अन्य हातहतियार प्रदान गरेका छन्, जसले उसलाई एसएएफ भन्दा बलियो बनाएको छ । यसबिच, एसएएफ आफ्नो समर्थकको खोजी गरिरहेको छ । तर, आरएसएफलाई एउटा ठुलो सहजता छ, त्यो के भने दागलोले सुडानको प्रचुर मात्रामा सुन भण्डार भएको क्षेत्रमाथि नियन्त्रण गर्छन्, जसले उनलाई आवश्यक हातहतियार खरिद गर्न स्रोतको कमी हुन दिँदैन । सुडानले यसरी हामीलाई थुप्रै विकासोन्मुख देशले सामना गर्नुपरेको एउटा दुःखद सत्यको सम्झना गराउँछ– प्राकृतिक स्रोतहरूले जति शान्ति र समृद्धिलाई साकार बनाउन सक्छन्, उत्तिकै हिंसा र गरिबीको स्रोत पनि बन्न सक्छन् । 

यसको ज्वलन्त उदाहरण डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी)हो, जुन लामो समयदेखि हिरा र सुनजस्ता बहुमूल्य खनिजको भण्डारका कारण श्रापित छ । यदि यहाँ त्यस्ता स्रोत–साधन हुँदैन थिए भने कंगो गरिब त हुन्थ्यो होला, तर शान्त र खुसहाल भने हुने थियो कि ? विकसित पश्चिमले सामूहिक बसाइँसराइको परस्थितिमा कसरी योगदान पुर्‍याउँछ भन्ने एउटा उदाहरण कंगो हो । यस विपन्न अफ्रिकी राज्यको ‘आदिम’ जातीय आवेगको आवरणभित्र विश्व पुँजीवादको असली रूप मौलाइरहेको देख्न सकिन्छ ।

सन् १९९७ मा मोबुटु सेसे सोकोको पतनपछि डिआरसी सफल राज्यको रूपमा अस्तित्वमा रहन सकेन । यसको पूर्वी क्षेत्रमा अहिले स्थानीय युद्ध सरदारहरू शासित क्षेत्रहरूको बहुलता छ । तिनका लडाकुले यस क्षेत्रका खनिज भण्डारको दोहन गर्ने विदेशी कम्पनीसँग व्यापारिक साँठगाँठ कायम राखेका छन् । यसबाट दुवै साझेदारलाई फाइदा भएको छ, अर्थात् कर्पोरेसनहरूले राज्यलाई तिर्नुपर्ने करहरू भुक्तान नगरी नै ‘खनन अधिकार’ प्राप्त गरिरहेका छन् भने लडाकुहरूले पनि हतियार किन्न चाहिनेजति पैसा पाउँछन् । त्यसपछि ती खनिज ल्यापटप, मोबाइल फोन र अन्य उच्च प्रविधियुक्त उत्पादनमा प्रयोग भएर हामीसम्म आइपुग्छन् । समस्या स्थानीय जनसंख्याको ‘बर्बर रीतिरिवाज’ होइनन् । समस्या यी विदेशी कम्पनी र धनी उपभोक्ता हुन्, जसले तिनका उत्पादन खरिद गर्छन् । यो समीकरणबाट उनीहरूलाई हटाइदिनुभयो भने यो जातीय युद्धको सम्पूर्ण आधार भत्किन्छ ।

नेटोको हस्तक्षेपका कारण सन् २०११ मा मुअम्मर अल गद्दाफीको पतनपछि लिबिया टुक्रिएको स्थितिमा पुगेको छ । डिआरसी पनि अपवाद हुन सक्दैन । त्यसयता लिबियाको अधिकांश भूभागमा स्थानीय सशस्त्र गिरोहहरूले शासन गर्दै आएका छन् । उनीहरू सीधै विदेशी ग्राहकलाई तेल बेच्छन्, जसले हामीलाई सस्तो कच्चापदार्थको आपूर्ति सुनिश्चित गराउन पुँजीवाद केसम्म गर्छ भन्ने कुराको सम्झना गराउँछ । यहीकारण हो, संसाधनको सम्पन्नतालाई धेरै देशले दुर्दशाका लागि दोष दिने गरेको ।

दुःखद कुरा के भने जारी द्वन्द्वमा कुनै पनि पक्ष निर्दाेष वा सही छैन । सुडानमा समस्या र्‍यापिड सपोर्ट फोर्स मात्र होइन, द्वन्द्वका दुवै पक्षले एकैखाले क्रूरताको खेल खेलिरहेका छन् । यो अवस्थालाई लोकतन्त्रका लागि तयार भइनसकेका ‘पिछडिएका’ मानिसहरूमा सीमित गर्न सकिँदैन । वास्तवमा यो अफ्रिकाको आर्थिक उपनिवेशीकरणको कुरा हो । पश्चिमबाट मात्र होइन, चीन, रुस र धनी अरब देशबाट पनि अफ्रिकालाई आर्थिक उपनिवेशीकरण गरिँदै छ । मध्य अफ्रिकामा भाडाका रुसी सैनिक र मुस्लिम चरमपन्थीहरूको प्रभुत्व बढ्दै गएकोमा आश्चर्य मान्नुपर्दैन । 

यानिस भारुफाकिसले पुँजीवादलाई ‘टेक्नोफ्युडालिज्म’तर्फ अग्रसर गराउने मार्गबारे एकदमै राम्रोसँग लेखेका छन्, जुन कुरा ठुला प्रविधि कम्पनीको बजारमाथिको वास्तविक एकाधिकारबाट प्रमाणित हुन्छ । हामीले सुडान र कंगोजस्ता देशमा हामी मध्ययुगीन सामन्तवाद पाउनेछौँ । वास्तवमा, हामी उच्च प्रविधि र परम्परागत सामन्तवादको संयोजनमा बाँचिरहेका छौँ । यसर्थ, इलोन मस्कभन्दा पनि बढी हेमदिती हाम्रो युगको साँचो अवतार हुन् । 

– प्रोजेक्ट सिन्डिकेटबाट