१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
अविरल वर्षाले पूर्ण रूपमा डुबान भएको बल्खुस्थित तरकारी बजार । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
अजित अधिकारी काठमाडाैं
२o८१ असोज १३ आइतबार o९:४६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अवरुद्ध राजमार्ग नियमित नभए अत्यावश्यक वस्तु आपूर्तिमा असहजता हुने

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o९:४६:oo

बिहीबार रातिबाट परेको अविरल वर्षाले राजधानी प्रवेश गर्ने सबै नाका अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी तथा फलफूल मागअनुसार आपूर्ति गर्न सरकारलाई कठिनाइ हुने

काठमाडौं उपत्यका प्रवेश गर्ने सबै राजमार्गमा भएको अवरोधले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूललगायतका अत्यावश्यक वस्तुको आपूर्तिमा असहजता हुने देखिएको छ ।

उपत्यकामा खपत हुने अत्यावश्यक वस्तु पूर्ण रूपले छिमेकी र तराईका जिल्लामा निर्भर हुनुपर्ने बाध्यता छ । सरकार तथा निजी क्षेत्रले कुनै पनि वस्तु पर्याप्त मौज्दात राख्ने प्रवृत्ति छैन । जसकारण उपत्यकामा दुई–तीन दिन आपूर्ति नहुने सबै वस्तुको अभाव हुने गरेको छ । बिहीबार रातिबाट परेको अविरल वर्षाले उपत्यका प्रवेश गर्ने सबै बाटोमा गरेको क्षति तत्कालै समाधान भएर दुई–तीन दिनभित्रै राजमार्गहरू सुचारु नभए पेट्रोलियम पदार्थ, तरकारी र फलफूलको आपूर्तिमा असहजता आउने व्यवसायीले बताएका छन् ।

राजमार्गमा भएको अवरोधले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पार्ने प्रभावबारे शनिबार दिउँसोबाटै चासो राख्न थालेको वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए । ‘आपूर्तिमा हुन सक्ने जोखिमबारे शनिबारबाट चासो दिन थालेका छौँ,’ उनले भने ।

केही दिन राजमार्ग अवरुद्ध जारी रहे सबैभन्दा बढी तरकारी र फलफूलको आपूर्तिमा प्रत्यक्ष असर पर्ने भएको छ । काठमाडौं उपत्यकामा दैनिक दुई हजार टनभन्दा बढी तरकारी र फलफूलको खपत रहेको र सोही मागअनुसार दैनिक आपूर्ति हुने गरेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए ।

‘तरकारी र फलफूल नष्ट भइहाल्ने पदार्थ भएकाले दैनिक रूपमा आयात गर्ने र बिक्री गर्ने प्रणाली छ । तर, राजमार्गमा भएको अवरोधले केही दिन आयात गर्न नसक्ने देखिन्छ,’ उनले भने । 

कालीमाटी बजारबाहेकका बल्खु, टुकुचा, भक्तपुरलगायत क्षेत्रका ठूला तरकारी बजार डुबानमा परेर मौज्दातमा रहेका सबै तरकारी नष्ट भएको उनले बताए । मागअनुसार आपूर्ति गर्न नसकिने भए पनि मूल्यमा ठूलो चाप पर्न नदिन सबै प्रयास गरिने उनले बताए । कालीमाटीमा केही मात्रामा आलु र प्याज सुरक्षित रहेको नेपाल कृषिउपज आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए । उपत्यकामा दैनिक सय–सय टन आलु र प्याजको खपत रहेको र दुई–तीन दिनलाई पुग्ने मौज्दात भएको उनले जानकारी दिए । 

खाद्यान्नको मौज्दात भने पर्याप्त रहेको खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।अविरल वर्षाले कुलेश्वरस्थित उपत्यकाको सबैभन्दा ठूलो खाद्य गोदाम डुबानमा परेको उनले बताए । ‘करिब १० फिट उचाइसम्म पानीले डुबाएको छ । जसकारण भुइँतलामा राखिएको दाल, चामल, गेडागुडीलगायत किराना पसलबाट बिक्री गर्ने खाद्यान्नको ठूलो परिमाण नष्ट भएको छ,’ उनले भने, ‘यद्यपि, अहिले अन्यत्र पनि गोदामहरू विस्तार भइसकेकाले कुलेश्वरबाट आपूर्ति नहुँदा उपत्यकाको मागमा खासै असर पर्दैन ।’

दुई–तीन दिनमै राजमार्ग नखुले पेट्रोलियम आपूर्तिमा कठिनाइ

पेट्रोलियमको भण्डारण क्षमता वृद्धि गर्न सरकारको नीति–कार्यक्रम र बजेटमा निरन्तर प्राथमिकता, तर निगमको सधैँ आलटाल
अर्थतन्त्रको लाइफलाइन मानिने पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धिमा आयल निगमले चासो नदिँदा आपूर्तिमा बारम्बार समस्या हुँदै आएको छ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने निगमको थानकोट डिपोमा अहिले पाँच हजार दुई सय किलोलिटर पेट्रोल र सात हजार दुई सय ५२ किलोलिटर डिजेल मौज्दात छ । यो परिमाणले चार–पाँच दिन मात्रै धान्न पुग्छ । तर, अभाव हुने हल्ला फैलिनासाथ पेट्रोलियमको माग सामान्य अवस्थाभन्दा दोब्बर हुने भएकाले अहिलेको मौज्दातले लामो समय माग धान्न कठिन छ ।

थानकोटमा १० दिनको माग धान्ने डिजेलको भण्डारणगृह भए पनि पेट्रोलको भने न्यून छ । त्यसैले गत आर्थिक वर्ष ०८०÷८१ मा १० हजार किलोलिटर पेट्रोलको भण्डारणगृह बनाउन बजेट विनियोजन भए पनि निर्माणमा कसैले तदारुकता देखाएनन् । जसकारण बजेट फ्रिज हुन पुगेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले थानकोटमा भण्डारणगृह वृद्धि गर्नु आवश्यक रहेको पुष्टि भएको बताए । ‘थानकोट डिपोमा पेट्रोलियमको भण्डारणगृह वृद्धि गर्नुपर्ने पुष्टि भइसक्यो । अब हामी गम्भीर रूपमा अगाडि बढ्छौँ,’ उनले भने ।

अहिले अवरुद्ध भएको राजमार्ग दुई–तीन दिनसम्म नखुले उपत्यकामा मागअनुसार पेट्रोल र डिजेलको आपूर्ति गर्न निकै सकस हुने उनले स्विकारे ।

आपूर्तिमा असहजता हुन नदिन पहल थालिसक्यौँ : गोविन्दबहादुर कार्की वाणिज्य तथा आपूर्तिसचिव
राजमार्ग अवरोध हुँदा कुन–कुन वस्तुको आपूर्तिमा समस्या हुन्छ भनेर शनिबारदेखि नै परामर्श थालेका छौँ । सबै निकायसँग समन्वय गरेर आइतबार दिउँसो ११ बजे बैठक पनि बोलाएका छौँ । आवश्यक वस्तुको मौज्दात, आपूर्तिको अवस्था र राजमार्गमा अवरोध हुँदा वैकल्पिक बाटोमा गर्न सकिने आपूर्तिका उपायबारे छलफल गरेर एउटा निष्कर्षमा पुग्नेछौँ ।

दूरसञ्चार क्षेत्र आंशिक प्रभावित
अविरल वर्षाले मोबाइल तथा इन्टरनेट सेवामा आंशिक क्षति पुर्‍याएको छ ।नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बाढी र पहिरोका कारण केही पहाडी क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएको बताए । यद्यपि, अधिकांश ठाउँमा नियमित भइसकेको उनको दाबी छ । ‘बाढीपहिरोका कारण शुक्रबार  रातिदेखि सेवा अलि–अलि प्रभावित भएको हो, ठूलो समस्या भएन,’ उनले भने ।

निजी क्षेत्रबाट सञ्चालित एनसेलले आफ्नो सेवा नियमित भइसकेको जनाएको छ । ‘पछिल्ला केही घण्टामा हाम्रो प्राविधिक टोलीको अथक प्रयास र विद्युत् प्राधिकरणको सहयोगले हाम्रा अवरुद्ध मुख्य सेवाहरू पुनः सञ्चालनमा ल्याउन सफल भएको जानकारी गराउन चाहन्छौँ,’ एनसेलद्वारा जारी सूचनामा भनिएको छ ।