१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार १o:२७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिस्नेरी बाढीपहिरोमा युवा खेलाडीहरूको मृत्यु : एन्फाको लापरबाहीले कलिला खेलाडीको ज्यान गएको आफन्तको दाबी

सही सूचना सम्प्रेषण गर्न नसक्दा र विपत्मा कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ एन्फाले ध्यान नपुर्‍याएकै कारण सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा ६ युवा खेलाडीले ज्यान गुमाउनुपरेको आफन्तहरूको आरोप

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १o:२७:oo

अखिल नेपाल फुटलब संघ (एन्फा)को लापरबाहीका कारण सिस्नेरीको बाढीपहिरोमा ६ युवा खेलाडीले ज्यान गुमाएको आफन्तको आरोप छ । प्राप्त सूचना सम्प्रेषण तथा विपत्मा गर्नुपर्ने व्यवस्थापनमा चरम लापरबाही देखाएको उनीहरूको भनाइ छ । 

शनिबार इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीका ६ युवा खेलाडीले ज्यान गुमाएका थिए । बाढीले एन्फा एकेडेमी र होस्टेलमा भने कुनै असर गरेको छैन । बाढीले असर नगर्ने ठाउँबाट खेलाडीलाई एन्फाले किन बाहिर निकालेको भन्ने अभिभावकहरूको प्रश्न छ । ‘यदि त्यहाँ बाढीपहिरोको कुनै जोखिम थिएन भने किन र कसको निर्देशनमा खेलाडीलाई सुरक्षित स्थानतर्फ लैजान भन्दै होस्टेलबाट निकालियो ?’ ज्यान गुमाएका मकवानपुरगढीका साइमन योञ्जनका आफन्तले भने ।

समयमा सही सूचना सम्प्रेषण नहुँदा र विषम परिस्थितिमा कसरी व्यवस्थापन गर्ने सामान्य विषयमा एन्फाले ध्यान नपु¥याएको ती मृतकका आफन्तहरूले आरोप लगाएका छन् । ‘बाढी र पहिरो आएका वेला एकेडेमीको जिम्मेवारी लिएको एन्फाले सामान्य ध्यान नदिएजस्तो देखिन्छ,’ ती आफन्तले भने । पहिरोमा ज्यान गुमाउनेमा मकवानपुरको हेटौँडा– १२ का अनुपम घलान, मकवानपुर गढी गाउँपालिकाका साइमन योञ्जन, मकवानपुरकै सिस्नेरी टेकरका दिवस बानियाँ, बारा निजगढ– ८ का विकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्य छन् । 

कुलेखानीको ड्याम खोलेपछिको हल्ला र त्रासका कारण तत्काल एन्फाका पदाधिकारीले सही निर्णय लिन नसक्दा र उनीहरूको लापरबाहीले युवा खेलाडीले ज्यान गुमाएको आफन्तहरूको भनाइ छ । ‘खेलाडी पढ्ने विद्यालय र बस्ने होस्टेलमा बाढीपहिरोले कुनै असर गरेको छैन, कुलेखानीको ड्याम खोल्दा पनि असर नगर्ने स्थानबाट नभएर खेलाडीलाई किन भिरको बाटो हुँदै माथि लैजानुपरेको हो ?’ मृतक योञ्जनका आक्रोशित आफन्तले भने, ‘यस विषयमा हामी परिवारसँग एन्फाले अहिलेसम्म समन्वय गरेको छैन ।’ 

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष र एन्फाका केन्द्री यसदस्य टीकाराम लामाले घटनामा आफूहरूको लापरबाही नभएको दाबी गरेका छन् । ‘खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा प्राकृतिक विपत्तिमा उनीहरूको ज्यान गयो,’ लामाले भने, ‘सबै खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममै एक्कासि बाढी र पहिरो आयो, यसैमा ६ युवा खेलाडीको निधन भयो ।’ पहिरोमा ज्यान गुमाएका ६ युवा खेलाडी समूहमा नभएर आफूखुसी नै अगाडि हिँडेको लामाको भनाइ छ । 
‘केही खेलाडी छुट्टिएर आफैँ हिँडेका भन्ने सुनिएको छ,’ उनले दाबी गरे । यद्यपि, उनले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र सत्यतथ्य बाहिर आउनेमा विश्वस्त हुन आग्रह गरेका छन् । तर, मृतकका आफन्तले एन्फाका पदाधिकारीले सबै खेलाडीलाई लगेको र त्यसबाट कोही पनि छुट्टिएर नगएको जनाए । ‘एन्फाका पदाधिकारले केही खेलाडी समूहबाट छुट्टिँदा घटना भएको भन्ने दाबी गरेका छन्, हामीलाई पत्यार नलागेको छैन,’ ती आफन्तले भने ।

‘अनुपम ! तिमीलाई बचाउन सकिनँ’
पहिरोमा परेर ज्यान गुमाएका ६ बाल खेलाडीमध्येका अनुपमको बुबा ललित घलानलाई सपना कि विपनाजस्तो लागेको छ । छोरासँगको तस्बिर फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘अनुपम मैले तिमिलाई बचाउन सकिनँ ।’ जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले छोरा अध्ययन गर्ने एकेडेमीका ६ जना पहिरोमा परेको खबर पाएपछि उनीहरूलाई बचाउन प्रयास गरेका थिए । लगातारको वर्षाका कारण उत्पन्न प्रतिकूल मौसमले उनले छोरालाई बचाउन सकेनन् । यतिवेला अनुपमका बुबा र आमा ललिता पाख्रिन छोराको तस्बिर हुँदै भावविह्वल भएका छन् । 

उनीहरूले अनुमपलाई फुटबल खेलाडी बनाउन एन्फा एकेडेमी पठाएका थिए । कुलेखानी ड्यामको पानी छोड्ने सूचना पाएलगत्तै एन्फा र त्यहाँ जिम्मेवार पदाधिकारीले ठोस निर्णय लिन नसक्दा छोरा अनुपमसहित ६ जना बालकले अनाहकमा ज्यान गुमाएको ललितको भनाइ छ । ‘पुलिसले छुट्टै सुरक्षित ठाउँमा गएर बस्नु भनेर माइकिङ गरेको रहेछ । एन्फाका वार्डेनसहित व्यवस्थापन टिमले समयमै निर्णय लिन सकेन,’ उनले भने ।

एन्फाले सही निर्णय लिन सकेन
मृतक अनुपम घलानका बुबा ललित घलान कुलेखानी ड्यामको पानी छोड्ने सूचना पाएलगत्तै  एन्फा र त्यहाँका जिम्मेवारी पदाधिकारीले ठोस निर्णय सकेनन् । पुलिसले सुरक्षित ठाउँमा गएर बस्नू भनेर माइकिङ गरेको रहेछ । एन्फाका वार्डेनसहित व्यवस्थापन टिमले निर्णय लिन नसक्दा छोरासँगै थप पाँचजनाले ज्यान गुमाए ।

एक्कासि बाढी र पहिरो आयो
टीकाराम लामा,
अध्यक्ष, मकवानपुर जिल्ला फुटबल संघ

खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा प्राकृतिक विपत्तिमा ६ खेलाडीको ज्यान गयो, सबैलाई सुरक्षित स्थानमा लैजाने क्रममै एक्कासि बाढी र पहिरो आयो तथा यसैमा उनीहरूले ज्यान गुमाए । पहिरोमा ज्यान गुमाएका उनीहरू समूहमा नभएर आफूखुसी नै अगाडि हिँडेको भन्ने छ ।