१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार o९:o५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

११ ब्राण्डका खानेपानी बिक्री–वितरणमा रोक, फिकल कोलिफर्म भएको पुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o९:o५:oo

काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि बिक्री–वितरणमा रोक लगाएको छ । बिक्रीमा रोक लगाएका हरेकलाई दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ । जरिवाना राजस्व खातामा दाखिला गर्न महानगरले निर्देशन दिएको छ । 

यस्तै, कोलिफर्म भेटिएको पानीको नमुना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएपछि बिक्री–वितरण गर्न सकिने पत्रमा उल्लेख छ ।

१२ देखि २८ भदौमा विभिन्न स्थानबाट २० वटा पानीको नमुना संकलन गरिएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमुना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमुनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । प्रतिएक सय मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सिएफयू) मापदण्डविपरीत देखिएको हो । कोलोनी फर्मिङ युनिट (सिएफयू) सूक्ष्म जीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो । 

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिसामा पाइन्छ । दिसामा पाइने सूक्ष्म जीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ । जरिवाना र विक्री–वितरणमा रोक लगाइएका पानीका ब्रान्डमा व्याच नम्बर १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका– ८ बाट उत्पादन भइरहेको छ ।  

ब्याच नम्बर १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ युनिट (सिएफयू) देखियो । अक्वा पिस टोखामा रहेको पिस स्प्रिङ वाटरले उत्पादन गर्छ । अक्वा टोखा, टोखाकै अक्वा एसएनएस बेभरेजले उत्पादन गर्छ । 

ब्याच नम्बर ६ को कोलभोतेश्वर ब्रान्डमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ युनिट (सिएफयू) छ । यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरबाहिनी फुड एन्ड बेभरेजले उत्पादन गरेको हो । गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिबी, कागेश्वरी मनोहरा– ६ मा रहेको स्नो क्युब ड्रिंकिङ वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इन्डस्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिंकिङ वाटर र गोकर्णेश्वरमा सञ्चालित मुनलाइट स्प्रिङ मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटियो । अक्वा कपन र अक्वा गौरीशंकरमा पनि कोलिफर्म भेटिएको छ । अक्वा कपन एमके मिनरल वाटर उद्योगले बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ । अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ ।