१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
बाढीले बगाएको खोटाङ र उदयपुर जोड्ने सुनकोशीमा बनेको फोक्सिङटार पुल । तस्बिर : केदार लाफा/नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o८:३९:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

सडक र पुलमा मात्रै साढे दुई अर्बको क्षति

दसैँलक्षित सडक मर्मत अन्योलमा, चाडपर्वमा सर्वसाधारणको यात्रा कष्टकर बन्ने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o८:३९:oo

पछिल्लो वर्षाका कारण आएको बाढीपहिरोले राष्ट्रिय राजमार्गमा दुई अर्ब ५२ करोड रुपैयाँबराबरको क्षति भएको छ। सडकतर्फ एक अर्ब ५० करोड र पुलतर्फ एक अर्ब दुुई करोड रुपैयाँबराबरको क्षति भएको सडक विभागले जनाएको छ । 

सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले यो प्रारम्भिक तथ्यांक भएको बताए । ‘यो राष्ट्रियस्तरको राजमार्गमा भएको मात्रै क्षति हो । प्रदेश र स्थानीय तहअन्तर्गत बनेका सडकमा भएको क्षतिको विवरण भने हामीसँग उपलब्ध छैन,’ उनले भने । प्रभावित सडक तथा पुलको पुनर्निर्माण गर्न पनि सोबराबरकै लगानी लाग्ने अनुमान गरिएको उनले बताए । ‘समय कति लाग्छ भनेर अहिले नै भन्न सकिन्न । जे–जति क्षति भएको छ, त्यही अनुपातमै पुनर्निर्माणमा खर्च हुने अनुमान गरिएको छ,’ उनले भने ।

बाढीले विभिन्न राजमार्गका ६ वटा पुल बगाएको छ । मेची राजमार्गको पाँचथरस्थित हेवाखोलामा रहेको बेलिब्रिज बगाएको छ । गत वर्षको बाढीले त्यहाँको पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । त्यही पुल अहिले पनि बगाएको हो । खुर्काेट र रामेछाप जोड्ने सुनकोशीमा बनाइएको पुल पनि बगाएको छ । खोटाङ र उदयपुर जोड्न सुनकोशीमै बनाइएको फोक्सिङटार पुल पनि बाढीले बगाएको छ । इलाम–सन्दकपुर सडकको राता खोला पुल पनि बगाएको छ ।

कोदारी राजमार्गको लार्चा पुल पनि बगाएको छ । कान्ति लोकपथको बागमती पुल क्षतिग्रस्त भएको छ । घुर्मी र हर्कपुर जोड्न सुनकोशी नदीमै बनाइएको पुल बाढीले बगाए पनि सकशुल देखिएको छ । शनिबार नदीको बहाव पुलमाथिबाटै बगेको थियो । आइतबार पानीको सतह घटेपछि पुल सकुशल देखिएको छ । विभागका अनुसार खुर्काेट, रामेछापलगायत प्रभावित जिल्लामा मध्यपहाडी लोकमार्गबाट यातायात सुचारु गर्ने तयारी भइरहेको छ । 

बाढीले पुल बगाएको ठाउँमा बेलिब्रिज जोड्न भने समय लाग्ने देखिएको छ । पुल बगाएको ठाउँमा बेलिब्रिज तत्काल जडान गर्न मिल्छ । अहिले विभागसँग बेलिब्रिज १० वटा स्टकमा छन् । तर, पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गर्न केही समय लाग्ने प्रवक्ता श्रेष्ठले बताए । ‘अझै पनि नदीहरूमा पानीको बहाव सामान्य अवस्थामा आएको छैन । मौसम सामान्य भए पनि पुल बगाएको ठाउँको वस्तुस्थित के छ भनेर बुझ्न बाँकी छ । त्यहाँ गएर वस्तुस्थिति बुझ्दा मिल्ने भएको अवस्थामा बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने, ‘अहिले हामीसँग ५० मिटरसम्मको मात्रै बेलिब्रिज छन् । तर, कतिपय ५० मिटरभन्दा लामो पुल पनि बगाएको छ । त्यसका लागि नयाँ बेलिब्रिज नै आयात गर्नुपर्छ । खोला घटेको अवस्थामा कतिपय ठाउँमा पुल नै आवश्यक नपर्न सक्छ । पानी कमको अवस्थामा हेवा खोलामा तल खोलाबाटै गाडी गुडाउन सकिन्छ । सगम्रमा आवश्यकताअनुसार बेलिब्रिज जडान गर्छाैँ ।’ सामान्यतः बेलिब्रिज जडान गर्न दुई हप्ता लाग्छ । त्यसअघि ढुवानी गर्न पनि केही दिन लाग्छ । त्यसअनुसार एक महिनासम्म बेलिब्रिज जडान हुने सम्भावना न्यून छ ।

 बिपी राजमार्गको  १४ सय मिटर सडक बगायो 
बाढीले बर्दिबास–सिन्धुली–धुलिखेल सडक (बिपी राजमार्ग) को १४ सय मिटर सडकखण्ड बगाएको छ । विभिन्न ठाउँमा गरेर त्यसबराबरको सडक बाढीले बगाएको प्रवक्ता श्रेष्ठले बताए । त्यसमा भकुन्डेबेँसी–नेपालथोक खण्डमा धेरै सडक बगाएको छ । ‘यो सडकको पुुनर्निर्माण गर्न समय लाग्ने देखिएको छ । कति समय लाग्छ भनेर तत्काल भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘वैकल्पिक मार्ग प्रयोग गरेर यातायात खुलाउने तयारीमा छौँ ।’

 एकतर्फी खुल्यो काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा
काठमाडौं प्रवेश गर्ने मुख्य नाका मुग्लिन–नागढुंगा–काठमाडौं सडक एकतर्फी खुलेको छ । झ्याप्ले खोला सडकखण्डमा शनिबार बिहान भीषण पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध थियो । त्यसमा केही गाडी पुरिएर ३५ जनाले ज्यान गुमाएका छन् । सो सडक आइतबार साँझबाट एकतर्फी रूपमा खुलेको प्रहरीले जनाएको छ । त्यसअघि अत्यावश्यक गाडी नागढुंगाबाट काठमाडौं प्रवेश गराइएको थियो । चिनियाँ नाका र पूर्वलाई काठमाडौंसँग जोड्ने अरनिको र बिपी राजमार्ग पनि अझै अवरुद्ध छन् । काठमाडौं प्रवेश गर्ने अन्य नाका भने अझै अवरुद्ध छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार त्रिभुवन राजपथ–चित्लाङ–चन्द्रागिरि हुँदै काठमाडौं जाने सडकखण्ड आइतबार साँझदेखि एकतर्फी खुलेको छ ।

 विभिन्न राष्ट्रिय राजमार्गको ४७ ठाउँ अवरुद्ध 
सडक विभागकाअनुसार विभिन्न राष्ट्रिय राजमार्गको अझै ४७ ठाउँमा सडक अवरुद्ध छ । मौसमको अवस्थाअनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको विभागले जनाएको छ । तमोर करिडोरमा मोरङ बहराक्षेत्र, कान्ति लोकपथमा मकवानपुरको आँपचौर, बिपी राजमार्गको काभ्रेस्थित भ्याकुरे खोला र चार सयबेँसीलगायत ठाउँ, अरनिको राजमार्गको सिन्धुपाल्चोक सिर्से, मध्यपहाडी राजमार्गको सिन्धुलीको हर्जेनी, सालघारी र बलेनीमा सडक अवरुद्ध छ । मेची राजमार्गको फिदिम र भेरी करिडोरको त्रिवेणी (पश्चिम रुकुम) पनि अवरुद्ध छ । यीबाहेक अन्य विभिन्न राजमार्ग पनि अवरुद्ध छन् । 

भेडेटार–रवि–राँके, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी, तानसेन–रिडी–कोरला, भिट्टामोड–जलेश्वर–बर्दिबास, खुर्कोट–मन्थली–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चेगाउँ पनि अवरुद्ध छ । मदन भण्डारी राजमार्गअन्तर्गत नवलपुरको तरंग खोलामा सडक अवरुद्ध छ । तानसेन–रिडी–कोरला, डुम्रे–बेँसीसहर–चामे, सालझन्डी–सन्धिखर्क–देवीस्थान, बुर्तीबाङ–ढोरपाटन सडक पनि ठाउँठाउँमा अवरुद्ध छन् । 

दसैँको यात्रा कष्टकर बन्ने

बाढीपहिरोले अधिकांश सडक क्षतिग्रस्त बनाएपछि दसैँका वेला सर्वसाधारणको यात्रा कष्टकर हुने भएको छ । रोजगारीका लागि काठमाडौंलगायत ठुला सहर र विदेशमा गएका नेपाली दसैँमा घर फर्किन्छन् । दसैँ मनाउनकै लागि घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ सर्वसाधारण बाहिरिने गर्छन् । त्यसलाई लक्षित गर्दै शनिबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ पनि खुलेको छ । तर, बाढीपहिरोले यसपालिको दसैँ यात्रा कष्टकर हुने देखिएको छ ।

विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले दसैँमा क्षतिग्रस्त सडक राम्रोसँग मर्मत गर्न नसकिने बताए । विभागले घटस्थापनाअघि नै सक्ने गरी दसैँलक्षित सडक मर्मतसम्भार कार्य अघि बढाएको थियो । तर, पछिल्लो झरीले सडक नराम्ररी क्षतिग्रस्त गराएको उनले बताए । ‘सडक र पुल नै बगाएको छ । थुप्रै ठाउँमा पहिरो गएको छ । आइतबार र सोमबार मौसम सफा हुने भनिए पनि मंगलबार र बुधबार पुनः पानी पर्ने भनिएको छ । त्यसपछिको मौसम कस्तो हुन्छ, थाहा छैन,’ उनले भने, ‘त्यो अवस्थामा दसैँअघि सडकलाई दुईतर्फी सुचारु गर्नु नै ठूलो कुरा होला जस्तो छ । सडकका खाल्टाखुल्टी पुर्ने र कालोपत्रे गर्ने सम्भावना न्यून छ ।’