
सहकारी ठगीमा एक वर्षदेखि फरार दुई सांसदले राज्यकोषबाट भने नियमित सेवासुविधा लिइरहेका छन् । संसद् सचिवालयका अनुसार राप्रपा सांसद गीता बस्नेतले १६ लाख र कांग्रेस सांसद माया राईले ११ लाख तलबभत्तासहितको सुविधा बुझेका हुन् ।
सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएर फरार सांसद बस्नेत संसद्मा अनुपस्थित भएको १२ महिना पूरा भएको छ भने राई आठ महिनादेखि अनुपस्थित छिन् । एकातिर सरकारले दुवै सांसदलाई पक्राउ गर्नुको सट्टा संरक्षण गरिरहेको छ भने अर्काेतिर संसद् सचिवालयमार्फत राज्यकोषबाट तलबभत्ता पनि खुवाइरहेको छ ।
संविधान र प्रतिनिधिसभा नियमावलीविपरीत बस्नेतलाई बिरामी बनाएर दुइटा अधिवेशनमा बिदा स्वीकृत गरिएको छ । संविधान र नियमावलीअनुसार समयसीमा नाघेकी राईको स्थान रिक्तताको सूचना टाँस्नुपर्नेमा उनलाई पनि बिरामी बनाएर बिदा स्वीकृत गराई पद जोगाउने प्रयास भइरहेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा नियमावलीअनुसार सांसदद्वय बस्नेत र राईको तलब र अन्य सुविधा भुक्तान भइरहेको बताए । ‘फरार अवस्थामा सेवासुविधा रोक्ने प्रावधान नियमावलीमा छैन । सचिवालयले नियमअनुसार भुक्तानी गरिरहेको छ,’ उनले भने ।
प्रतिनिधिसभा नियमावलीमा कुनै सांसदलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशपछि फरार भएमा मात्रै निलम्बन हुने र यो अवस्थामा मात्र सेवासुविधा पनि रोकिने व्यवस्था छ । तर, पक्राउ पुर्जी जारी भएर फरार रहेमा सुविधा रोकिने कुनै व्यवस्था छैन ।
नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ६९ लाख बचत रकम अपचलनमा राप्रपा सांसद बस्नेतविरुद्ध १८ वैशाखमा पक्राउ पुर्जी जारी भएपछि फरार छिन् । कांग्रेस सांसद राईविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार छिन् । पक्राउ पुर्जी जारी भएकी राईलाई मुद्दा दर्ता गर्दा मिसिलबाट नाम हटाएर उन्मुक्ति दिइएको छ ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार सांसदहरूले प्रतिमहिना तलब ६६ हजार ७०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा १८ हजार, अतिथि सत्कार एक हजार, बिजुली धारा दुई हजार पाउँछन् । यसबाहेक प्रतिबैठक एक हजार भत्ता, बैठक बसेको दिन यातायात एक हजार, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार पाउँछन् । यसका अतिरिक्त अधिवेशन प्रारम्भ हुँदा र अन्त्य हुँदा निर्वाचन क्षेत्र जाने वा सदन फर्किने हवाई अथवा गाडी भाडा पाउँछन् । यो वेला यात्रा गर्दाको बाटो खर्च (दैनिक २५ सय) पनि पाउँछन् । यसका अलावा औषधोपचार खर्च पनि पाउँछन् । सचिवालयतर्फ स्वकीय सचिव राप तृतीय एकजना सुविधा पाउँछन् । स्वकीयको तलब ४३ हजार ६८९ रहेको छ ।
ऐनअनुसार बस्नेतले फरार १२ महिनाको अवधिमा संसद् सचिवालयबाट १६ लाखभन्दा बढी बुझेकी छिन् भने राईले ८ महिनाको अवधिमा ११ लाखभन्दा बढी पाएकी छिन् । यसमा बस्नेतकी स्वकीय सचिव कुमारी पार्वती लम्साल र राईकी स्वकीय सचिव सोनिया राईले प्राप्त गरेको मासिक तलब पनि जोडिएको छ ।