
जापानको नागोयामा हुने २०औँ एसियाली खेलकुद (एसियाड)मा नेपालबाट ३२ खेलका लागि ४३४ खेलाडीको नाम दर्ता भएको छ । जीवनराम श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले प्रारम्भिक खेल र खेलाडी दर्ताको सबै प्रक्रिया पूरा गरिएको जनाएको छ । एनओसी महासचिव राजीव श्रेष्ठले १९५ महिला र २३९ पुरुष खेलाडीको नाम पहिलो चरणका लागि दर्ता भएको जानकारी दिएका छन् ।
सामान्यतया राज्यले नै सहभागिताका लागि खेल र खेलाडीको संख्या आयोजकलाई पठाउनुपर्ने हो । खेलकुद मन्त्रालयले धु्रवबहादुर प्रधानको संयोजकत्वमा रहेको एनओसी तदर्थ समितिलाई मान्यता दिएको छ । तर, यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओसिएको मान्यता छैन । श्रेष्ठ नेतृत्वको एनओसीलाई आइओसी र ओसिएको मान्यता छ ।
गत २४ साउनमा एनओसीले एसियाड आयोजकलाई ३० खेलको नाम पठाएको थियो । एनओसीले फुटबल र तेक्वान्दोसमेत गरी अब नेपालबाट ३२ खेलमा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा गठित एनओसी तदर्थ समितिले पनि एसियाडमा ३० खेल दर्ता गराएको थियो । ओसिएले आधिकारिक एनओसीबाट आएको पत्र मात्र मान्य हुने जनाएको थियो ।
२०औँ एसियाडमा खेल र खेलाडी संख्याको सूची पठाउने अन्तिम दिन १६ सेप्टेम्बरसम्म थियो । एनओसी महासचिव श्रेष्ठले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पटक–पटक पत्राचार गरे पनि एसियाडको सम्बन्धमा केही प्रतिक्रिया नदिएको बताए । ‘१६ सेप्टेम्बर २०२५ सम्म खेलाडीको संख्या दर्ता गर्ने अन्तिम मिति थियो । मन्त्रालय र परिषद्लाई बारम्बार पत्राचार गर्दा केही जवाफ नै पठाएनन्,’ श्रेष्ठले भने, ‘पहिला दर्ता गरिएका ३० वटा खेलका राष्ट्रिय संघहरूलाई पत्राचार गरी सहभागी हुन सक्ने खेलाडीको संख्या नेपाल ओलम्पिक कमिटीलाई उपलब्ध गराएको छ ।’ गत साताको आन्दोलनपछि राष्ट्रिय मान्यता प्राप्त एनओसीले कुनै गतिविधि गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले आफ्नो नियमित काम गर्दै आइरहेको छ ।
थपिए फुटबल र तेक्वान्दो
एनओसीले गत साउनमा एसियाड आयोजकलाई पठाएको खेल सूचीमा फुटबल र तेक्वान्दो समावेश थिएन । तत्कालीन सरकारले गठन गरेको एनओसीले भने यी दुवै खेल राखी आयोजक जापानलाई पत्र पठाएको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले फुटबल र तेक्वान्दो समावेश नगर्दा आलोचना खेप्नुपरेको थियो । एसियाड इतिहासमा नेपाललाई पहिलो रजतपदक तेक्वान्दोले नै दिलाएको थियो ।
सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको संस्करणमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक देशलाई रजत दिलाएकी थिइन् । साथसाथै एसियाडमा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल पनि तेक्वान्दो नै हो । तदर्थ समितिलाई फुटबल र तेक्वान्दो संघले समर्थन गरेका छन् । यसकारण जीवनराम नेतृत्वको एनओसीले यी दुवै खेल समावेश गरेको थिएन । अहिले यी दुई संघको अनुरोधपछि एनओसीले नाम दर्ता गरेको हो ।
एथलेटिक्सले खेलाडी नपठाएपछि महिला र पुरुषको म्याराथनका लागि एक–एक खेलाडी राखेर एनओसी आफैँले पठाएको छ । ‘३० जुनमा दर्ता नभएका लोकप्रिय र पदक सम्भावना भएको खेलका खेलाडी वञ्चित नहुन् भन्ने उद्देश्यले संघलाई पुन: पत्राचार गरेका छौँ ।
जसमा तेक्वान्दो र फुटबलले सहभागिता र खेलाडी संख्या पठाएका छन्,’ एनओसीका महासचिव श्रेष्ठले भने, ‘उहाँहरूको पत्रअनुसारै आयोजकलाई नेपालबाट थप दुई खेल संख्या थप भएको जानकारी गरेका छौँ ।’ यसैगरी, नेपाल एथलेटिक्स संघलाई पनि पत्राचार र ताकेता गर्दा पनि कुनै जवाफ नआएकाले एनओसीले विगतको सहभागिताअनुसार म्याराथनमा महिला र पुरुष खेलाडीको सूची पठाएको श्रेष्ठले बताए । १९औँ एसियाडमा नेपालका लागि कराँतेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।
दर्ता भएका खेल
एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एन्ड डान्स स्पोर्टस्, बेसबल एन्ड सफ्टबल, राफ्टिङ एन्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ–स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस् क्लाइम्बिङ, स्कावस, सफ्ट टेनिस, पौडी, टेनिस, टेबुलटेनिस, भलिबल, भारत्तोलन, कुस्ती, उसु र थप गरिएको फुटबल र तेक्वान्दो
सरकारबाट कुनै जानकारी नभएपछि हामीले दर्ता गरायौँ : राजीव श्रेष्ठ, महासचिव, एनओसी
एसियाड आयोजकले २०२५ सेप्टेम्बर १६ सम्म खेलाडी र खेल संख्या दर्ता गर्न भनेको थियो । यसबारे तत्कालै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पत्रमार्फत जानकारी गरायौँ । तर, यी दुवै निकायबाट केही जवाफ आएन । अहिले पनि राखेपबाट एसियाडका सम्बन्धमा केही आधिकारिक जानकारी दिएको छैन ।
लोकप्रिय र पदकको सम्भावना भएका खेलका खेलाडी एसियाडमा खेल्नबाट वञ्चित नहोस् भनी एनओसीले फुटबल र तेक्वान्दोका संघलाई पुन: पत्राचार गर्यौँ । उहाँहरूकै अनुरोधमा यी खेल समावेश गरेका छौँ ।