मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ असोज २ बिहीबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत गएका नेपाली दसैँ मनाउन घर फर्किँदै

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १३:३७:oo

स्वदेशमा रोजगारी नपाएपछि गुजारा चलाउन भारतका विभिन्न सहर–बजारमा मजदुर  गर्दै आएका नेपाली मजदुर घर फर्किन लागेका छन् । नेपालीको महान् पर्व दसैँ मनाउनका लागि भारतमा काम गर्दै आएका मजदुर स्वदेश (घर) फर्किन लागेका हुन् । 

जेन–जी आन्दोलनका कारण पाँच दिन बन्द रहेको गड्डाचौकी–बनबासा नाका खुलेसँगै भारतमा काम गर्दै आएका मजदुर स्वदेश फर्किन लागेको लर्को देखिएको छ । गुजारा चलाउनका लागि छिमेकी मुलुक भारत परेका सुदूरपश्चिमसहित नेपाली मजदुर यतिवेला झोलीझिम्टी बोकेर स्वदेश फर्किएका  छन् । 

भारतको दिल्ली होटेलमा काम गर्दै आएका बैतडीका सन्तुराम लुहारले एक वर्षपछि दसैँ मनाउन घर आएको बताए । ‘केही दिनअघि नेपालमा जेन–जी आन्दोलन चर्किएको थियो, उतिवेला नै आउने विचार थियो, आउन सकिएन, अहिले नाका खुलेपछि आइरहेको छु,’ उनले भने, ‘देशमा ठुलो विषम अवस्था आएपछि मज्जाले आफ्नो धर्म, संस्कृति तिहार मनाउँछु ।’

बेंग्लाेरमा  काम गर्दै आएका बझाङका प्रकाश सुनारले स्वदेशमा नेताहरूकै कारण रोजगारी नपाएपछि गुजारा चलाउनका लागि बिदेसिन बाध्य भएको बताए । उनले दसैँलगत्तै फेरि काममा फर्किने बताउँदै स्वदेशमै रोजगारी नपाएपछि भारतमा बिदेसिन बाध्य भएको बताए । 

सिम्ला पहाडमा स्याउ टिप्न सिजनमा जाने कञ्चनपुर शुक्लाफाँटा झलारीका महेश रानाले दसैँखर्च जुटाएर घर फर्किएको बताए । ‘चुनावमा वेला हाम्रा नेताहरूले स्वदेशमै रोजगारी दिन्छु भन्छन्, तर चुनाव जितेपछि हाम्रा कुरा सुन्दैन,’ उनले भने, ‘पेट पाल्नकै  लागि भए पनि रोपाइँ सकेर स्याउ टिप्न गएको हुँ ।’ 

कैलाली धनगढीमा भानु चौधरीले पनि रोपाइँ सकेर हिमाञ्चलमा स्याउ टिपेर घर फर्किएको बताए । ‘अब हामीसँग पनि पहिलेको जस्तो खेत छैनन्, रोपाइँ सकेर काममा गएँ, दसैँ, तिहार मनाएर गहुँ  छरेर फेरि जान्छौँ ।’