सल्यान/ दसैँ, तिहारलगायत चाडपर्वमा लामो सार्वजनिक बिदापछि सेवाग्राहीको चाप बढ्दा जिल्ला प्रशासन कार्यालय सल्यानमा सेवा अवधि बढाइएको छ । सेवाग्राहीको भिड अत्यधिक बढेकाले बिहान ७ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीले बताइन् ।
नागरिकता, राहदानी, नाबालक परिचयपत्र र राष्ट्रिय परिचयपत्र लिन आउने सेवाग्राहीको भिड लाग्ने गरेको छ । ‘पहिलेको तुलनामा नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन आउनेको भिड बढेकाले रातिसम्म सेवा दिइरहेको छौँ । टाढाबाट सेवाका लागि आउनुभएको हुन्छ । सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न बिहान ७ बजेदेखि नै सेवा सुरु गरेर राति ८–९ बजेसम्म पनि सेवा दिँदै आइरहेका छौँ,’ उनले भनिन् ।
चाडपर्वको बिदा सकिएसँगै अध्ययन, रोजगारी तथा अन्य कामका लागि सहर फर्किने र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिक पनि आवश्यक कागजात बनाउन तथा अद्यावधिक गर्न आएकाले भिड बढी देखिएको केसीले बताइन् ।
गाडी रिजर्भ गरेर नागरिकतालगायत अन्य कामकाजका लागि सदरमुकाम खलंगासम्म आएको कालीमाटी गाउँपालिका– ७, घुइँयाबारीका पलबहादुर बस्नेतले बताए । ‘गाउँका ५०–६० जना तीनवटा गाडी रिजर्भ गरेर बिहीबार प्रशासन पुगेका हौँ,’ उनले भने, ‘शुक्रबार नागरिकता बन्यो । बाँके र बर्दियाको सीमा जोडिएको बस्ती भएकाले बाँके, बर्दिया, दाङ हुँदै सदरमुकामसम्म आउनुपर्ने बाध्यता रहेको बस्नेतको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबार नयाँ नागरिकता ११८, नागरिकता प्रतिलिपि ६५, राष्ट्रिय परिचय विवरण दर्ता १९०, राष्ट्रिय परिचय कार्ड वितरण १५, राष्ट्रिय परिचयपत्र अद्यावधिक १६, राष्ट्रिय परिचयपत्रको इन्क्वाइरी ७३, राष्ट्रिय परिचयपत्र मोबाइल चेन्ज ३५, कार्यालयबाटै राष्ट्रिय परिचयपत्र अनलाइन फाराम भरेको २०, राहदानी सिफारिस ३६, राहदानी कार्ड वितरण ४१, विभिन्न प्रशासनिक सिफारिस प्रमाणित ४३ वटा गरिएको छ ।
बुधबार ११९ जनाले नयाँ नागरिकता लिएकामा बिहीबार १७५ ले लिएका छन् । दुई दिनमा ४० थान राष्ट्रिय परिचयपत्र कार्ड बितरण, १६ जनाको विवरण अद्यावधिक, ११२ जनाको इन्क्वाइरी, ९२ जनाको मोबाइल नम्बर परिवर्तन, १३० जनाको राष्ट्रिय परिचयपत्रसम्बन्धी अनलाइन फाराम भरिएको छ । यस्तै, बुधबार ८३ जनालाई राहदानी बनाउन सिफारिस गरिएकोमा बिहीबार ८१ जनाको गरिएको छ । १२६ वटा राहदानी कार्ड वितरण, १२५ जनाको राहदानीसम्बन्धी अनलाइन फाराम भरिएको कार्यालयले जनाएको छ ।