- घोप्टेभिरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द
मकवानपुर/ नागढुंगा–मुग्लिन सडकखण्डको घोप्टेभिरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जोखिमयुक्त ढुंगा तथा माटो हटाउन शनिबारदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै (आज) शनिबार ११ बजेदेखि दिउँसो ४ बजेसम्म नागढुंगा–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ ।
घोप्टेभिरमा लगातार सुक्खा पहिरो खस्दा सडकमा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार जोखिमयुक्त अवस्थामा रहेका ढुंगा तथा माटो हटाउने कामका लागि निश्चित समय छुट्याएर आवागमन बन्द गर्न लागिएको हो । दैनिक पाँच घण्टा सडक बन्द गरेर पहिरोको जोखिम रहेका स्थानमा हटाउने तथा व्यवस्थापनको काम अघि बढाउने बताइएको छ ।