कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन आजदेखि

शनिबार, ५ मंसिर, २०८३
प्रिन्ट संस्करण

पोखरा/ १५औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन शनिबार पोखरामा हुँदै छ । पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । त्यसपछि बन्दसत्रबाट नेतृत्व चयन हुनेछ ।

अधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक गंगाधर पराजुलीका अनुसार प्रदेश अधिवेशन गण्डकीबाट सुरु हुन लागेको हो । अधिवेशनमा ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६, प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्रबाट ३५ का दरले ६३०, ३६ प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, गण्डकी प्रदेशका ८५ वटै पालिकाका सभापति, सभापतिबाट मनोनीत हुने प्रदेश प्रतिनिधि ४० जना, प्रदेश तथा संघका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, विभिन्न पालिकाका निर्वाचित प्रमुख र उपप्रमुख गरी एक हजार ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने पराजुलीले बताए । 

अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री (खुला) र एक महिलासहित तीन सहमहामन्त्री चयन गर्नेछ । त्यस्तै, कार्यसमितिमा प्रदेशका ११ जिल्लाबाट तीनजनाका दरले ३३ जना, खुलाबाट १० जना र विभिन्न समावेशी कोटाबाट १७ जना सदस्य निर्वाचित गर्नेछ । निर्वाचन प्रक्रियाका लागि नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत रहेका अधिवक्ता वीरेन्द्र केसी संयोजक रहेको प्रदेश निर्वाचन समिति गठन भएको छ । 

सुझावित समाचार