मधेशमा सरकार बनाउन कुनै दलले सकेनन् बहुमत दाबी पेस गर्न

अब धारा १६८ को उपधारा २ कि ३ बमोजिम भन्नेमा प्रदेश प्रमुख छलफलमै

शनिबार, ५ मंसिर, २०८३
प्रिन्ट संस्करण

जनकपुरधाम- प्रदेश प्रमुखले दिएको एक साताको समयभित्र मधेश मुख्यमन्त्रीमा दाबी पेस नभएपछि सरकार गठनमा संवैधानिक अन्योल उत्पन्न भएको छ । बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख प्रमुख सुरेन्द्र लाभ कर्णले दिएको शुक्रबार अपराह्न ४ बजेसम्मको समयभित्र दाबी पेस नभएपछि अन्योल बढेको हो ।

संसद्को सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले धारा १६८ (३) अनुसार सरकार गठनको आह्वानको माग गरिरहेको छ भने एमाले, कांग्रेस र नेकपाले भने १६८ (२) अनुसार सरकार गठनका लागि समय थप गर्न लिखित अनुरोध गरेका छन् । प्रदेश प्रमुख कर्ण परामर्शमा जुटेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री कृष्णप्रसाद यादवले २८ कात्तिकमा राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको थियो । प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सांसदलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न सात दिनको समय दिएर आह्वान गरेका थिए ।

ठुलो दलको हैसियतमा दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न माग 
संविधानको धारा १६८ (२) अनुसार सरकार गठन हुन नसकेकाले अब १६८ (३) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन जसपाले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष आग्रह गरेको छ । पूर्वमुख्यमन्त्री एवं जसपा नेपालका नेता लालबाबु राउत नेतृत्वको टोलीले प्रदेश प्रमुख कर्णलाई शुक्रबार साँझ भेटेर संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेको हो ।

जसपा संसदीय दलका नेता यादवका अनुसार उपधारा (२) अनुसार सरकार गठनका लागि दिइएको समयसीमा समाप्त भइसकेकाले अब संवैधानिक रूपमा उपधारा (३) को प्रक्रिया अघि बढ्नुपर्छ । ‘अब १६८ (२) को म्याद सकियो । धेरै समय पाइएको थियो । समय सकिएको छ । स्वतः ३ मा जानुपर्छ, हाम्रो मान्यता र अनुरोध त्यही हो,’ उनले भने । प्रदेश सभामा २८ सांसदसहित जसपा नेपाल सबैभन्दा ठुलो दल हो ।

बहुमतको सरकार गठन हुन नसकेपछि एमाले, कांग्रेस र नेकपा एक ठाउँमा
मधेशमा बहुमतको सरकार गठन हुन नसकेपछि एमाले, कांग्रेस र नेकपा एक ठाउँमा उभिएका छन् । दलका नेताहरू कांग्रेसका कृष्णप्रसाद यादव, एमालेका सरोजकुमार यादव र नेकपाका युवराज भट्टराईले समय थप गरिपाउmँ भन्दै प्रदेश प्रमुखसमक्ष लिखित निवेदन दिएका छन् । ‘प्रदेश सरकार गठन प्रक्रियासम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट संविधानको धारा १६८ (२) बमोजिम दाबी पेस गर्न आह्वान भएको सन्दर्भमा हामी तीन दलका नेताहरूले छलफल गर्न थप केही समयको आवश्यकता महसुस गरेकाले समय थपका लागि आग्रह गर्दछौँ,’ तीन दलका नेताहरूको हस्ताक्षरित लिखित अनुरोधमा भनिएको छ । उनीहरूले शुक्रबार अपराह्न पौने ४ बजे प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई भेटेर धारा १६८ (२) अनुसार सरकार गठनका लागि समय थप गरिदिन अनुरोध गरेका थिए । प्रदेश प्रमुखले दिएको समयसीमा शुक्रबार अपराह्न ४ बजेसम्मका लागि थियो ।

कामचलाउ सरकारका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले चाडपर्व र एमालेको राष्ट्रिय भेलाका कारण दलहरूबिच पर्याप्त छलफल हुन नसकेकाले नयाँ सरकार गठनको समय थपको माग गरिएको बताए । तीन दलका ६१ सांसदको समर्थन जुटाउन सकिने अवस्था रहे पनि सरकार गठनका विषयमा सहमति जुटाउन समय नपुगेको उनको भनाइ छ । ‘सरकार गठनको विषयमा खासै छलफल र विमर्श गर्न पाउने मौका पाएनौँ । त्यसकारण प्रदेश प्रमुखसँग थप समय मागेका छौँ,’ उनले भने, ‘प्रदेश प्रमुखज्यूले लिखित दिनुहोस् भनेपछि लिखित रूपमै अनुरोध गरेका छौँ ।’ 

परामर्शमा प्रदेश प्रमुख
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण परामर्श र छलफलमा जुटेका छन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै सरकार गठनसम्बन्धी विषयमा परामर्श तथा कानुनविद्हरूसँग छलफल भइरहेको जनाएको छ । ‘... शुक्रबार दिनको ४ बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएकामा उक्त समयमा कुनै पनि दलले आफ्नो दाबी पेस नगर्नुभएकाले आगामी प्रक्रियाका लागि प्रदेश प्रमुखको कार्यालय आवश्यक छलफल र परामर्श गरिरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिएको छ,’ प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमा भनेको छ ।

किन बनेन सत्तासमीकरण ?
मधेशमा एमाले र नेकपाले जसपासँग सत्तासमीकरणको प्रयास गरेका थिए । तर, एमालेसँग सहकार्य गर्ने विषयमा जसपाभित्र मतभेद छ भने एमालेले आगामी स्थानीय र प्रदेश सभा चुनावसम्म सहकार्यको सुनिश्चितता खोज्यो । त्यही भएर अन्तिम समयसम्म पनि सहमति जुट्न सकेन ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव एमालेसँग गठबन्धन गरेर सरकारमा जाने पक्षमा नरहेको स्रोतको दाबी छ । बरु उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार बनेपछि एमालेको समर्थन लिन सकिने विकल्पमा भने जसपा नेपालभित्र छलफल भएको छ । एमालेले सरोजकुमार यादव मुख्यमन्त्री बनेमा समर्थन गर्न सक्ने संकेत गरेपछि जसपा नेपालले उपधारा (३) को प्रक्रिया अघि बढ्ने अवस्थासम्म पर्खिने रणनीति बनाएको ती सांसदको भनाइ छ ।

जसपा सांसद तथा पूर्वमन्त्री सञ्जय यादवले आफ्नो पार्टी सुरुदेखि नै उपधारा (२) अनुसार सरकार गठनको पक्षमा नरहेको दाबी गरे । उनका अनुसार जसपा नेपालले बाध्यात्मक अवस्थामा मात्रै उपधारा (३) अनुसार सरकारको नेतृत्व लिने रणनीति बनाएको थियो ।

‘उपधारा (२) बमोजिम सरकार निर्माणको पक्षमा थिएनौँ । सुरुदेखि नै उपधारा (३) को पक्षमा अर्थात् बाध्यात्मक अवस्थामा हामी सरकारको नेतृत्व लिन्छौँ भन्ने थियो । त्यसकारण सरकार निर्माणका लागि कुनै दलसँग छलफल गरेनौँ,’ उनले भने । तर, एमाले संसदीय दलका नेता सरोज यादवले भने जसपा नेपालले विगतमा गरेको प्रतिबद्धताविपरीत व्यवहार गरेको आरोप लगाए । ‘मधेशको राजनीतिमा इमानदारिता देखिएको छैन । गरेको सहमतिको मसी सुक्न नपाउँदै सहमतिविपरीत काम हुन्छ,’ उनले भने । अहिले आफूहरू प्रदेश प्रमुखको निर्णयको प्रतीक्षामा रहेको उनको भनाइ छ । यसबाहेक कांग्रेस र एमालेबिच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि अन्तिमसम्म सहमति जुट्न सकेन । प्रदेश प्रमुखले दिएको समयसीमा सकिनै लाग्दा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले नेकपाका संसदीय दलका नेतालाई साथमा लिएर मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग छलफल गरेका थिए ।

सुझावित समाचार