मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्डको घोप्टेभिरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जोखिमयुक्त ढुंगा तथा माटो हटाउन शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार सूचना जारी गर्दै ५ मंसिर बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ। घोप्टेभिरमा लगातार सुक्खा पहिरो खस्दा सडकमा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार जोखिमयुक्त अवस्थामा रहेका ढुंगा तथा माटो हटाउने कामका लागि निश्चित समय छुट्याएर आवागमन बन्द गर्न लागिएको हो। दैनिक पाँच घण्टा सडक बन्द गरेर पहिरोको जोखिम रहेका स्थानमा हटाउने तथा व्यवस्थापनको काम अघि बढाउने बताइएको छ।
प्रशासनका अनुसार निर्धारित समय बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा कुनै पनि प्रकृतिका सवारीसाधन सञ्चालन गर्न पाइनेछैन। प्रशासनले सोहीबमोजिम यात्रा तथा सवारी व्यवस्थापन गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सडक आवागमन बन्द रहने अवधिमा यात्रु तथा सवारीचालकलाई समयतालिका मिलाएर यात्रा गर्न आग्रह गरेको छ।