१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १४ शुक्रबार
  • Sunday, 15 September, 2024
भुवन न्यौपाने
२o८१ भदौ १४ शुक्रबार o८:२o:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसको आगामी नेतृत्वबारे बहस

Read Time : > 5 मिनेट
भुवन न्यौपाने
नयाँ पत्रिका
२o८१ भदौ १४ शुक्रबार o८:२o:oo

आमकांग्रेसजनले पार्टीको अबको नेतृत्वमा बिपीजस्ता विद्वान्, गिरिजाजस्ता निडर र किसुनजी र सुशीलजस्ता सादगी नेता खोजिरहेका छन् 

सत्ता परिवर्तनको क्रममा संसद्का ठुला दल कांग्रेस र एमालेले सत्ता सहकार्यमा सरकार चलाइरहेका छन् । नेपाली राजनीतिमा वर्तमान राजनीतिको भन्दा पनि भावी निर्वाचन ०८४ को चर्चा बढी छ । संसद्का मुख्य दलहरूले आआफ्ना पार्टीका रणनीति भावी निर्वाचनलाई केन्द्रमा राखेर सञ्चालन गर्न थालिसकेका छन् । स्वभावतः संसद्को ठुलो दल कांग्रेसमा पनि रूपान्तरण र पुस्तान्तरणको बहस निकै पेचिलो बन्दै गएको छ । कांग्रेसको विधानले सभापतिलाई दिएको दुई कार्यकालको अवधि यसै ०८२ मंसिरदेखि सकिँदै छ । यसबिच वर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीका रूपमा कसलाई अघि सार्छन् ? भावी सभापतिको प्रतिस्पर्धामा को–को छन् ? भन्ने प्रश्नमाथि अहिले कांग्रेसजनमाझ चर्चा चलिरहेको छ । 

मुलुकको सबैभन्दा ठुलो लोकतान्त्रिक दल कांग्रेस संस्थापन पक्ष र इतर पक्षबिच विगतदेखि नै पेचिलो प्रतिस्पर्धा कायम छ । पछिल्लो महासमिति बैठक र केन्द्रीय समितिको बैठकले कांग्रेसको आगामी महाधिवेशनका लागि विधानअनुरूपको कार्यतालिका, नीति र नेतृत्वको विषयलाई फेरि एकपटक बहसमा ल्याएको छ । महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनलाई भावी नीतिका रूपमा ग्रहण गरेको कांग्रेसभित्र रस्साकस्सी फेरि सतहमा देखिएको छ । महासमिति बैठकका प्रतिवेदनको अन्तर्वस्तुको अध्ययनदेखि भावी नेतृत्वको अनुमान, अधिकांश कांग्रेसजनले गरिसकेका छन् । बदलिँदो समसामयिक राजनीतिसहित कांग्रेसमा कुशल नेतृत्वको अपेक्षा बढ्दो छ । के आमकांग्रेसजनले चाहना राखेजस्तो नेतृत्व आगामी महाधिवेशनले पाउन सक्ला ? यही प्रश्नवरिपरि यो आलेख केन्द्रित रहनेछ । 

दलभित्रको प्रतिस्पर्धा : कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्ष, गुट–उपगुट र अन्तरपुस्ताबिचको प्रतिस्पर्धा पेचिलो छ । समसामयिक नीतिका सन्दर्भमा भन्दा नेतृत्वबारे कांग्रेसमा बढ्तै बहस हुन्छ । तर, यसपटक महासमिति बैठकमा प्रस्तुत समसामयिक र सांगठनिक प्रतिवेदनका विभिन्न आशयले यथास्थितिवाद र परम्परावादको आलोचना खेपिरहेको दललाई नवआधुनिक र चलायमान संगठन बनाउनेतर्फ पहल गरेको देखिन्छ । कांग्रेसमा विगतदेखि नै सत्ता, शक्ति, सम्पत्ति, संख्या र संगठनको रस्साकस्सी चल्दै आएको देखिन्छ । सम्भवतः कांग्रेसजनले इतिहासमै यति शक्तिशाली र क्रियाशील महामन्त्रीद्वयलाई निर्वाचित गरी दलको नवआधुनिकीकरणको जिम्मा दिएका छन् । त्यसैअनुसार महामन्त्रीद्वयबाट ओजिला प्रतिवेदन पेस भए, महामन्त्रीद्वयको लोकप्रियता र शक्ति आर्जनलाई संस्थापन पक्षले भने सहजै आत्मसात् गर्न सकेको छैन । 

आन्तरिक राजनीतिको रस्साकस्सीबिच संस्थापन पक्षको विमतिले केन्द्रीय समितिको बैठक नै रोक्नुपर्ने बाध्यतासमेत सिर्जना भयो । यसले दलभित्रको प्रतिस्पर्धा स्पष्ट देखियो । राजनीतिक विश्लेषकका अनुसार कांग्रेसमा अहिले पाँचभन्दा बढी गुट–उपगुट र चार पुस्ता सक्रिय हुन थालेका छन् । एकातिर रूपान्तरणको एजेन्डा बोकेकाहरू पार्टीको नेतृत्वमा पुस्तान्तरणसहित नवआधुनिक पार्टी बनाउने उद्घोष गरिरहेका छन् भने अर्कातर्फ वर्तमान सभापति आफ्नो शक्ति सजिलै हस्तान्तरण गर्ने पक्षमा छैनन् । सम्भव भएसम्म सभापति पार्टीको नेतृत्व आफ्नै परिवारमा सीमित गर्ने भरमग्दुर प्रयत्नमा छन् । योजनाअनुसार नभए आफ्नो विश्वासिलो पात्रमा सुम्पिन खोजेको अनुमान आमकांग्रेसजनले गरेका छन् । अबको कांग्रेसलाई परिवारको विरासत बोक्ने, तदर्थवादी या बफादार पात्रले हाँक्न सक्छ त भन्ने प्रश्न चर्चामा छ । 

भावी नेतृत्वका लागि नेताहरूले घोषित रूपमा आफ्ना गतिविधिलाई सघन गतिमा अगाडि बढाइरहेका छन् । संस्थापन पक्षमा देउवाको उत्तराधिकारीका रूपमा उपसभापति पूर्णबहादुर खड्का स्वाभाविक दाबेदार भए पनि सत्ता संघर्षपश्चात् सभापतिसँग उनको दूरी बढेको बताइँदै छ । नेतृत्वका आकांक्षीहरू देउवाको साथ र समर्थन खोजिरहेका छन् । १४औँ महाधिवेशनमा ‘एकपटक, यसैपटक’ भन्ने नारासहित वर्तमान सभापतिसँग प्रतिस्पर्धा गरेका नेता डा. शेखर कोइरालाले आफू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सार्वजनिक रूपमै स्विकारेका छन् । पछिल्लो समय बिपीपुत्र एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पनि सभापतिको तयारीमा लागिरहेको उद्घोष गरिसकेका छन् । भावी नेतृत्वका रूपमा आमकांग्रेसजनले अपेक्षा गरेका प्रभावशाली महामन्त्री गगन थापाले पनि आगामी महाधिवेशनमा नेतृत्वमा उठ्ने छनक दिइसकेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमै थापालाई नेतृत्वमा पुर्‍याएर पार्टी पुस्तान्तरणको सुरुवात गर्ने बताइसकेका छन् । 

कांग्रेसमा सत्ता, शक्ति, संगठन र सम्पत्तिका आधारमा संस्थापन पक्ष बलियो देखिए पनि एजेन्डा, आशा र भविष्यका आधारमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता नेतामा आमकांग्रेसजनको विश्वास अडिएको छ । पहिला पार्टीको नेतृत्व पुस्तान्तरण र त्यससँगै सरकारको नेतृत्व नयाँ पुस्ताले सम्हालेको देख्न चाहने कांग्रेसजन मात्र होइन, आमसर्वसाधारण पनि धेरै छन् । अहिले पार्टीले गरेका हरेक गलत कामको जवाफ महामन्त्रीद्वयले दिनुपर्ने र उनीहरूले पार्टी सुधारका लागि गरेका राम्रा काम पार्टीले ग्रहण गर्न नचाहने अनौठो प्रवृत्तिले महामन्त्रीद्वय नै निसानामा परेका देखिन्छन् । यसरी दलभित्रको प्रतिस्पर्धाले सत्ता, सरकार र संसद्मा समेत हलचल ल्याइरहेको देखिन्छ । तथापि, दलभित्रको आन्तरिक संघर्षबिच कांग्रेसले पुराना र नवपुस्तालाई हाँक्ने डाइनामिक लिडर खोजिरहेको छ । 

अन्तरपार्टी प्रतिस्पर्धा : कांग्रेसको भावी महाधिवेशनले भिजनरी नेतृत्वको चयन गर्न सकेन भने कांग्रेस मात्र होइन, मुलुक नै राजनीतिक अस्थिरतामा फस्न सक्छ । वर्तमान सत्ताधारी कांग्रेस र एमाले विगत, वर्तमान र भविष्यमा समेत प्रतिस्पर्धी शक्ति हुन् । कांग्रेसले मुख्यतः राष्ट्रियता, समाजवाद र लोकतन्त्रलाई आफ्नो मुख्य सिद्धान्तका रूपमा अवलम्बन गर्दै आएको छ भने एमालेले जनताको बहुदलीय जनवादलाई शिरोधार्य गरिरहेको छ । तर, दुवै ठुला पार्टीले आफ्नो सिद्धान्तलाई व्यवहारमा उतार्न सकिरहेका छैनन् । यस सन्दर्भ पार्टीमा आगामी दिनमा चयन हुने नेतृत्व र अंगीकार गर्ने नीतिको मुख्य भूमिका रहन्छ । कांग्रेस र एमालेमा मात्र होइन, माओवादी केन्द्र र नवउदीयमान रास्वपामा समेत नेतृत्वको खडेरी देखिँदै छ । ‘कलेक्टिभ फेलियर अफ लिडर’को यो अवस्थाले पनि दलको भावी नेतृत्वको प्रतिस्पर्धालाई बहसमा ल्याइदिएको छ । संसद्, सडक र सामाजिक सञ्जालमा विभिन्न कोणबाट नेताको मूल्यांकन र आलोचनाको क्रम बढिरहको छ । पछिल्लोपटक संसद्मा समाजका मुद्दा महामन्त्री गगन थापाले निकै परिपक्व र दरिलो ढंगबाट उठाइरहेका छन् । पार्टीभित्रैको प्रतिस्पर्धादेखि अन्तरपार्टी प्रतिस्पर्धाले थापालाई नेताको निरन्तर उचाइमा अगाडि बढाइरहेको देखिन्छ । संसद्मा सत्तापक्षमा हुँदा होस् कि प्रतिपक्ष, जुनसुकै जिम्मेवारीमा रहँदा पनि समाजमा उठेका मुद्दामा सत्य बोल्न र विधिको शासन कायम गराउन उनी डगमगाएका छैनन् । उनको अनुभव, अध्ययन र अडानले पनि अन्य पार्टीका नेतृत्वलाई चुनौती थपिदिएको कांग्रेसकै नेताहरू वेलावेलामा स्विकार्छन् । यस्तो अवस्थामा गगनको वेगलाई रोक्ने रणनीतिबारे अन्य पार्टीमा समेत चर्चा हुने गरेको सुनिन्छ । 

पछिल्लो समय रास्वपा र एमालेको मुख्य निसानामा महामन्त्रीद्वय परेका देखिन्छन् । रास्वपा सभापति रवि लामिछाने सहकारीको बचत अपचलनमा, एमाले अध्यक्ष ओली गिरीबन्धु टी प्रकरण र कांग्रेसका केही नेता नक्कली भुटानी शरणार्थीजस्ता भ्रष्टाचार प्रकरणमा मुछिएका विषय निरन्तर उठानले ती पार्टीभित्रै पनि महामन्त्रीद्वयलाई दबाबमा राख्ने रणनीति बनिरहेका चर्चा सुनिन्छन् । एकातिर, पपुलिस्ट राजनीतिको उदय र अर्कातर्फ बलियो संगठनसहितको एमालेसँगको पार्टी प्रतिस्पर्धा गर्न पनि कांग्रेसमा कुशल, भिजनरी र परिपक्व नेतृत्वको खाँचो देखिन्छ । यस्तो अवस्थामा परम्परावादी सोच, यथास्थितिवाद र भ्रष्टाचारको आरोपलाई चिर्न सशक्त नेतृत्व चाहिन्छ । लोकतान्त्रिक पार्टीको पहिचानसहित आवश्यक समयमा मुलुकको नेतृत्व गर्दै आएको कांग्रेसमा अब मुलुकलाई सुशासन र समुन्नतिको मार्गमा डोर्‍याउन सक्ने ‘भिजिनरी’ नेतृत्वको खाँचो छ । त्यसका लागि गगन पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्नु अनिवार्य भइसकेको छ । 

अबको नेतृत्व : आमनागरिकले संविधानको समयानुकूल संशोधन र कार्यान्वयन, सुशासन र समुन्नतिका लागि कांगे्रसमा भिजनसहितको इमानदार नेतृत्व चाहेका छन् । कांग्रेसका सम्भ्रान्त र संस्थापन पक्षका सीमित व्यक्तिले पार्टी र सत्ताबाट निरन्तर लाभ लिइरहेको आमकार्यकर्ताको गुनासो सुनिन्छ । एकातर्फ, यसरी लाभ लिइरहेका केही नेता कांग्रेसलाई यस्तै अस्थिर र यथास्थितिवादको ढाँचातिरै धकेल्न उद्यत देखिन्छन् । अर्कातर्फ, पहिलो र दोस्रो पुस्ताको राजनीतिक योगदान रहे पनि उनीहरू कार्यसम्पादनका आधारमा ‘फेज आउट’ भइसकेका छन् । तर, आमकांग्रेसजनले पार्टीको अबको नेतृत्वमा बिपीजस्ता विद्वान्, गिरिजाजस्ता निडर र किसुनजी र सुशीलजस्ता सादगी नेता खोजिरहेका छन् । एउटै नेतृत्व सर्वगुणले सम्पन्न त नहोला । तर, पार्टीलाई समयानुकूल ‘लिड’ गर्न सक्षम, सर्वमान्य र जनअपेक्षालाई सम्बोधन गर्न सक्ने नेतृत्वको खोजी कांग्रेसभित्र र बाहिर पनि भइरहेको छ । 

साँच्चै कांग्रेसजनले समयको मागअनुसार कस्तो नेतृत्वको चाहना राखेका छन् भन्ने प्रश्न सोचनीय छ । महाधिवेशनको प्रक्रिया सुरु नहुँदै कुनै सम्भावित नेतालाई भावी नेतृत्वका रूपमा प्रस्तुत गर्नु हतारो हुनेछ । तर, आमकांग्रेसजनले चाहेको रूपान्तरणको एजेन्डालाई समयसान्दर्भिक प्रक्षेपण गरी सम्भावित नेतृत्वमाथि बहसको थालनी गर्ने समय भने आइसकेको छ । राजनीतिक योगदानमा मात्र होइन, योग्यतामा मुख्य जोड दिनुपर्ने समय आइसक्यो । नेपाली राजनीतिमा योगदानको खुबै चर्चा हुने गरे पनि योग्यताको भने कमै चर्चा हुन्छ । मुलुकको राजनीतिक रूपान्तरणको योगदानमा मात्र होइन, कार्यसम्पादनमा पनि उत्तिकै उच्चतम योग्यता भएका नेतालाई नेतृत्वमा ल्याउनु आमकांग्रेसजनको पनि दायित्व हो । 

पछिल्लो समय कांग्रेस कतिपय समयानुकूल नीतिमा प्रस्ट हुनुपर्ने आवश्यकता देखिएको छ । पार्टीको आन्तरिक लोकतन्त्रदेखि मुलुकको भविष्यका साथै सरकार सञ्चालनमा पनि नयाँपन चाहिएको छ । पछिल्लो आमनिर्वाचनले नेपालमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ । पुराना दलमाथि विभिन्न कोणबाट रूपान्तरणको चुनौती थपिएको छ । कांग्रेस मुलुकको ठुलो पार्टी भए पनि जनमतबाट भने निरन्तर कमजोर हुँदै गएको छ । एकातिर, कांग्रेस एमालेबिचको सत्ता सहकार्यको औचित्य पुष्टि गर्नु र पार्टीलाई प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने चुनौती छ भने अर्कातर्फ कांग्रेसजस्तो इतिहास र विरासत बोकेका पार्टीमा विगतका बेथिति र भविष्यमाथि गम्भीर प्रश्न निरन्तर उठिरहेको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई कुशलतापूर्वक नेतृत्व गर्न सक्ने नेतृत्व कांग्रेसले तयार गर्नुपर्छ । समयको पदचापलाई महसुस गरी कांग्रेसलाई एकताको सन्देशसहित अग्रगामी नीति, योजना र कार्यक्रमको स्पष्टता खाँचो छ । मुलुकलाई युगसुहाउँदो नेतृत्व कांग्रेसले नै गर्न सक्छ भन्नेमा विमति छैन । समयानुकूल मुलुकको वास्तविक अवस्थालाई बुझेको र भावी दिनमा वैचारिक रूपमा प्रस्ट दृष्टिकोण, सामाजिक–आर्थिक रूपान्तरण, लोकतन्त्र र सामाजिक न्याय, कूटनीतिक परिपक्वता, राष्ट्रिय हितसहित भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिई सुशासनको पक्ष र समुन्नतिको मार्गलाई नेतृत्व गरी आममानिसमा आशाको सञ्चार गराउन सक्ने नेतृत्व अबको कांग्रेसमा आवश्यक छ ।