Skip This
मितेरी सहकारीको १४ करोड ८१ लाख हिनामिना प्रकरण, धनराजको ‘कागजी सम्बन्धविच्छेद’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ भदौ २९ शनिबार o६:३१:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मितेरी सहकारीको १४ करोड ८१ लाख हिनामिना प्रकरण, धनराजको ‘कागजी सम्बन्धविच्छेद’

२९ फागुन ०७६ सम्बन्धविच्छेदको दाबी, तर ३ फागुन ०७७ मा ज्योतिलाई नै श्रीमतीका रूपमा हकवाला राखेर लिएका थिए १२ लाख ऋण

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार o६:३१:oo

पत्नी ज्योति गुरुङसँग ०७६ मै सम्बन्धविच्छेद गरेको स्पष्टीकरण दिँदै आएका कांग्रेस उपसभापति धनराज गुरुङले मितेरी सहकारीबाटै ०७७ पनि ऋण लिएका छन्, जसमा ‘हकवाला’को नाममा ज्योतिलाई श्रीमती उल्लेख गरेर ल्याप्चे लगाएका छन्

संसदीय समितिको प्रश्नमा मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङको जवाफ
कुम्भराज गुरुङ (सहकारी अध्यक्ष) : सहकारीको पैसा हिनामिना गरिएको छ, त्यो तिरिदिनुपर्‍यो । पैसा तिर्न अहिले धनराज पनि आउँदैन, उसको श्रीमती पनि छैन । 
दिलेन्द्र बडू : त्यो पैसा तिर्‍यो भने बचतकर्ताको रकम फिर्ता गर्न सजिलो हुन्छ ? 
अध्यक्ष : हो, हो । 
सरिता भुसाल : श्रीमतीको नामको ऋण श्रीमती आफैँले तिरेको हो कि धनराज गुरुङले ? 
अध्यक्ष : धनराज आएर तिरेको ।
सरिता : कहिले ? 
अध्यक्ष : धेरै भएको छैन ।
सरिता : भनेपछि डिभोर्सपछि आएर तिर्नुभएको हो ? 
अध्यक्ष : त्यो डिभोर्स नै होइन । त्यत्तिकै हो । 
राजन दाहाल : डिभोर्स भएकै होइन ? 
अध्यक्ष : डिभोर्स भएकै होइन वास्तविकतामा ।
राजन/सरिता : भनेपछि ‘सहकारी डिभोर्स’ जस्तो हो ? 
अध्यक्ष : कागजी मात्रै हो । 

ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिना प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङले पत्नी ज्योति गुरुङसँग ‘कागजी सम्बन्धविच्छेद’ गरेको पाइएको छ । उनले २९ फागुन ०७६ मै सम्बन्धविच्छेद गरेको सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आएका थिए । तर, ३ फागुन ०७७ मा उनले सोही सहकारीबाट थप १२ लाख ऋण लिएका छन्, जसमा ज्योतिलाई ‘हकवाला’का रूपमा श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका छन् । संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरूको सम्बन्धविच्छेद ‘नाम मात्रको’ भएको बयान दिएका छन् । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बिहीबार मितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अनुगमन गर्दै अध्यक्ष कुम्भराजसँग सोधपुछ पनि गरेको थियो । त्यस क्रममा सहकारी अपचलनमा धनराज जोडिएका थप महत्वपूर्ण तथ्य पनि फेला परेका छन् । समितिले सहकारीमा उपसभापति गुरुङले तीन महिनाअघिसम्म गरेका कारोबारको तथ्यांक संकलन गरेको छ । 

समिति सभापति सूर्य थापाका अनुसार सहकारीका अध्यक्ष कुम्भराजले धनराजको सम्बन्धविच्छेद नक्कली भएको बताएका छन् । सहकारीमा धनराजकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लाख हिनामिना गरेको भन्दै उजुरी परेपछि संसदीय समितिले छानिबन थालेको थियो । सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो । तर, रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराजले बताएका छन् । 

उजुरी गर्नुअघि सहकारीले रकम हिनामिनाको सम्बन्धमा आन्तरिक छानबिन गरेको थियो । जसमा १२ करोड ५० लाख हिनामिनामा ज्योतिको मुख्य भूमिका रहेको निष्कर्ष निकालिएको थियो । त्यस्तै, धनराजसहित ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाको संलग्नता रहेको छानबिनको ठहर थियो । सहकारीको वार्षिक अडिटमा पनि रकम हिनामिनामा उनीहरूकै संलग्नता देखाइएको थियो । सहकारीले १२ करोड ५० लाखको ब्याजसमेत जोड्दा ज्योति र उनको समूहबाट असुल गर्नुपर्ने रकम १४ करोड ८१ लाख निर्धारण गरेको छ । त्यही आधारमा संसदीय समितिदेखि प्रहरीसम्ममा उजुरी दिएका थिए ।

सहकारीको रकम अपचलनमा आफ्नो नाम मुछिएपछि कांग्रेस उपसभापति धनराजले ज्योतिसँग आफ्नो ०७६ मै सम्बन्धविच्छेद भएको दाबी गर्दै संसद्सम्ममा स्पष्टीकरण दिएका थिए । तर, अहिले उनीहरूको ‘कागजी सम्बन्धविच्छेद’ मात्रै भएको सार्वजनिक भएको छ । 

सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराजले हिनामिना गरिएको बचत रकम धनराजहरूबाट असुल गरिदिन संसदीय समितिसँग अनुरोध गरेका छन् । अनुगमनमा आएको समितिलाई ०७७ फागुनमा ज्योतिलाई श्रीमतीका रूपमा हकवाला राखेर १२ लाख रुपैयाँ ऋण लिएको र तीन महिनाअघिसम्म पनि हिनामिना भएको ऋण तिरिरहेको रसिद उपलब्ध गराएका छन् ।

समिति सदस्य राजन दाहालले प्रारम्भिक सोधपुछमा अध्यक्षले दिएको बयान र प्राप्त प्रमाण हेर्दा गुरुङको सम्बन्धविच्छेद नक्कली देखिएको बताए । ‘सहकारीका अध्यक्षले दिएको बयान र प्राप्त प्रमाण हेर्दा माननीय धनराज गुरुङको सम्बन्धविच्छेद नक्कली नै देखिन्छ । उहाँको सम्बन्धविच्छेद ठ्याक्कै सहकारीसँग सम्बन्धित देखिन्छ,’ उनले भने, ‘केही महिनाअघि मात्रै पनि ज्योति गुरुङको नाममा रहेको ऋण पनि ८४ लाख उहाँले बुझाउनुभएको छ । सबै घटनाक्रमले १४ करोड ८१ लाख हिनामिनामा कहीँ न कहीँ उहाँको संलग्नता देखिन्छ ।’ 

समितिका अर्का सदस्य शिशिर खनालले धनराज र ज्योतिले व्यक्तिगत ऋण पनि लिएको देखिएको बताए । ‘सहकारीमा १४ करोड ८६ लाख अपचलन त छुट्टै भइहाल्यो । त्यसबाहेक धनराजजी र ज्योतिजीले व्यक्तिगत रूपमा पनि ऋण लिनुभएको छ । पछिल्लोपटक धनराजजीले मन्त्री भएका वेला एकैपटक ८४ लाख तिरेको, त्यसमा ज्योतिजीको दायित्वको भाग पनि तिरेको देखियो । डिभोर्स भएपछि त आर्थिक दायित्व रहँदैन नि त,’ उनले भने, ‘मन्त्री भएका वेला त्यत्रो पैसा कहाँबाट आयो भन्ने पनि प्रश्न छ । अर्काे, ०७६ मा डिभोर्स भएको भन्नुभएको छ, ०७७ मा श्रीमतीलाई नै हकवाला राखेर लोन लिनुभएको छ । यसरी प्रशस्तै अन्तरविरोध छन् ।’

समितिका एक सदस्यका अनुसार मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले कांग्रेस उपसभापति धनराजले आफूमाथि लगाएको आरोपको रुँदै स्पष्टीकरण दिएका थिए । ‘म यत्रो बुढो मान्छेलाई अनेकका घर बिगार्‍यो भन्ने आरोप लगायो । म त्यस्तो गर्नुपर्ने मान्छे होइन । म त्यसको श्रीमती लिएर थाइल्यान्ड र सिंगापुर जानुपर्ने मान्छे हो र ? यत्रो बुढो मान्छे, कहीँ विदेश नै नगएको मान्छेलाई त्यसै आक्षेप लगाउने भनेर गहभरि आँसु झार्दै स्पष्टीकरण दिनुभयो,’ एक सदस्यले भने । 

नयाँ पत्रिकासँगको कुराकानीमा पनि कुम्भराजले धनराज र ज्योतिले अहिले पनि श्रीमान्–श्रीमतिकै हैसियतमा कारोबार गरिरहेको बताए । ‘धनराज गुरुङले २९ फागुन ०७६ मा नै ज्योति गुरुङसँग सम्बन्धविच्छेद भएको भनेका छन् । तर, त्यसपछि पनि ऋण लिएका छन् । जसमा हकवालाका रूपमा ज्योति गुरुङकै नाम उल्लेख गरेका छन् । त्यसैले सम्बन्धविच्छेद भने पनि उनीहरूका सबै कारोबार श्रीमान्–श्रीमतिकै हैसियतमा भएका छन्,’ उनले भने, ‘त्यसकै आधारमा हामीले प्रहरी र बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा जाहेरी दियौँ । तर, उनीहरूले धनराजको नाम काटे । धनराजको नाम नकाटेसम्म जाहेरी नै दर्ता नगर्ने भने । यसमा पहुँचको प्रयोग भयो ।’

कांग्रेस उपसभापति धनराजले भने पछिल्लोपटक १२ लाख ऋण लिँदा सहकारीमा मान्छेहरूले पत्नीका रूपमा ज्योतिको नाम राखेर बदमासी गरेको दाबी गरे । ‘कानुनका जानकार साथीहरूसँग सल्लाह लिँदा उहाँहरूले जमानी मात्रै बसेको भए पनि तिर्नुपर्छ, साथीभाइ भए पनि तिर्नुपर्छ, डिभोर्स भएको भए पनि तिर्नुपर्छ भनेपछि ज्योतिजीले लिनुभएको ऋण मैले तिरेको हो । सहकारीले पनि त्यस्तै भनेको थियो,’ उनले भने, ‘०७७ मा मैले ऋण लिएकै हो । त्यतिखेर ‘म आफैँ ऋणी हो, हकवाला कोही छैन’ भनेर खाली राखेर सहीछाप गरेर हिँडेको हुँ । पछि उनीहरू(सहकारीका मान्छे)ले आफैँ ज्योतिको नाम राखिदिएछन् । यसरी आफैँ नाम राखिदिनु त भएन नि । यस्तो बठ्याइँ त गर्नुभएन । मैले त्यहाँ ड्यास–ड्यास हान्नुपर्ने रहेछ । त्यतिचाहिँ गल्ती गरेको हो । त्यस्तो बेइमान गर्छन् भन्ने के थाहा ?’

संसदीय समितिले रविसमेत मुछिएको सहकारीको प्रतिवेदन ३१ भदौमा बुझाउँदै
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले ३१ भदौमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएकोसमेतका सहकारीमा भएको रकम अपचलनबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्न समितिलाई टिओआर छ । समिति सभापति सूर्य थापाले प्रतिवेदनलाई अन्तिम रूप दिन शुक्रबार छलफल गरिएको बताए । 

समिति सचिवालयका अनुसार प्रतिवेदनमा समस्याग्रस्त सहकारीका सम्बन्धमा प्राप्त तथ्य–प्रमाण उल्लेख गरेर थप छानबिन तथा कारबाहीका लागि सिफारिस गर्ने तयारी छ । गोर्खा मिडिया नेटवर्कका सन्दर्भमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले इन्कारी बयान दिएकाले प्राप्त कागजात उल्लेख गरेर सरकारलाई बुझाएर निष्कर्षमा पु¥याउन सिफारिस गरिने तयारी रहेको सदस्यहरूको भनाइ छ । 

समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी प्रमुख आइजिपी वसन्त कुँवरलाई बोलाएर विदेशमा फरार कुल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्ब उपलब्ध गराउन निर्देशन दिएको छ । समितिमा गृहमन्त्री लेखकले फरार अभियुक्त स्वेदश ल्याउन सबै खालको पहल भइरहेको भन्दै छिट्टै सकारात्मक नतिजा आउने बताएका थिए ।