Skip This
स्वास्थ्य सेवा सुधार्न पालिकाहरूसँग समन्वय गर्दै ललितपुर जनस्वास्थ्य कार्यालय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार २१:१२:oo
Read Time : > 1 मिनेट
समाचार

स्वास्थ्य सेवा सुधार्न पालिकाहरूसँग समन्वय गर्दै ललितपुर जनस्वास्थ्य कार्यालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार २१:१२:oo

स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि ललितपुर जिल्लाका स्थानीय तह समीक्षा र छलफलमा जुटेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा स्थानीय तह, निजी तथा सरकारी अस्पताललगायत सबैजसो स्वास्थ्य संस्था एकैठाउँमा भेला भएर स्वास्थ्य प्रवाह सुदृढीकरणका लागि समीक्षा तथा छलफलमा जुटेका हुन् ।

सुनाकोठीमा भइरहेको दुईदिने समीक्षा तथा छलफल कार्यक्रममा आइतबार जिल्लाका ६ पालिका, बज्रबाराही अस्पताल र जिल्ला आयुर्वेदिक अस्पतालले स्वास्थ्य सेवा र सम्पादनमा गरेका काम-कारबाहीबारे प्रस्तुतीकरण दिएका छन् । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाका स्वास्थ्य महाशाखा प्रमुखहरूले आफूहरूले प्रवाह गदै आइरहेका स्वास्थ्य सेवाबारे पालैपालो प्रस्तुति राखेका छन् । आइपिभी, एचपिभी खोप कार्यक्रम, स्वास्थ्य शिविर, ९८ प्रकारका औषधि वितरण, डेंगु नियन्त्रणलगायत विषयमा महाशाखा प्रमुखहरूले जनस्वास्थ्य कार्यालयलाई जानकारी गराएका छन् ।

कार्यालयले पालिकास्तरमा भए-गरेका गतिविधि र सहजीकरणको लागि उक्त कार्यक्रम आयोजना गरेको हो । पालिकाका स्वास्थ्य महाशाखा प्रमुखहरूले आव ०८०-८१ मा स्वास्थ्य क्षेत्रमा गरेका कामकारबाहीका बारेमा पनि प्रस्तुतीकरण दिए ।जिल्लाका सबै स्थानीय तहलाई एकैठाउँमा भेला गराएर छलफल गर्दा स्वास्थ्य क्षेत्रलाई थप सुधार्न सहज हुने, समस्या पहिचान हुने, नयाँ-नयाँ अभ्यास थाहा हुने र हातेमालो गराउने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले यसबाट पालिकाहरूलाई स्वास्थ्यमा काम गर्न सहज हुने र स्वास्थ्य कार्यालयलाई पनि पालिकाहरूको स्वास्थ्य स्थितिबारे थाहा हुने बताए । ‘पालिकाहरूले गरेको स्वास्थ्य क्षेत्रको काम प्रभावकारी भइरहेको छ, यसलाई अझ प्रभावकारी बनाउनुपर्छ, यसप्रकारको छलफल र समीक्षाले जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्न तथा योजना बनाउन सहयोग पुग्छ,’ उनले भने, ‘कुन पालिकाले कस्तो कस्तो स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने कुरा पनि थाहा हुन्छ भने यो एउटा सिकाइ पनि हो, जनस्वास्थ्य कार्यालयले पालिकाहरूसँग समन्वय गर्दै आइरहेको छ ।’ समीक्षात्मक कार्यक्रममा सोमबार जिल्लाका निजी अस्पतालहरूले प्रस्तुतीकरण दिनेछन् । सरोकारवाला निकायहरूले निजी संघसंस्थालाई प्रश्न गर्ने र जिम्मेवार बनाउन पनि उक्त प्रस्तुति र छलफलले सहयोग पुर्याउनेछ । 

प्रस्तुतिका क्रममा सबैजसो पालिकाले स्वास्थ्यसेवा सहज पार्न बजेट र भौतिक पूर्वाधारको कमी रहेको बताए । पालिकाहरूले सञ्चालन गरिरहेका स्वास्थ्यचौकीमा पुग्दो जनशक्ति नभएको, बजेट कम भएको, सरकारले सहजीकरण नगरिदिएकोलगायत समस्या देखाए । ललितपुर महानगरका स्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता र सन्तुलनमा राखेर काम गरेको बताइन् । ‘हामीले स्वास्थ्य क्षेत्रमा गरेका कामकारबाहीबाट स्थानीयवासीलाई सहज भइरहेको छ, यस प्रकारको समिक्षाबाट थप नयाँ कुरा पनि आउँछन् र काम गर्न पनि सहज हुन्छ,’ उनले भनिन्। 

आइतबारको प्रस्तुतिमा पालिकाहरूले स्वास्थ्य क्षेत्रमा गर्दै आएको अभ्यास, बजेट, स्वास्थ्य योजना, सेवाग्राही, स्वास्थ्यचौकीलगायत विषयमा सरोकारवालालाई जानकारी गराए । सोमबार निजी अस्पतालहरूलाई प्रस्तुतीका लागि समय दिइएको छ भने उनीहरूलाई जिल्ला स्वास्थ्य कार्यालय र अन्य सरोकारवालाले निर्देशनसमेत दिनेछन्।