मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Monday, 16 December, 2024
भुवन न्यौपाने
२o८o माघ २२ सोमबार o७:३४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसमा कस्ता नीतिको संवाद होला ?

बिपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियतालाई अंगीकार गरेको नीति न पार्टी, न त नेताले अवलम्बन गरेका छन् 

Read Time : > 5 मिनेट
भुवन न्यौपाने
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार o७:३४:oo

सत्ता गठबन्धन र संसद्को ठूलो दल नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा सरकार सञ्चालन र संसद्मा पार्टीको भूमिकाका सन्दर्भमा निकै पेचिला आरोप–प्रत्यारोप भए । समुदायमा कांग्रेस अभियानमा पनि जनताका उस्तै गुनासा छन् । संस्थापन पक्षबाट बचाउ र संस्थापन इतरमा विगतकै जस्तै विरोधका स्वरहरू सुनिएका छन् । महाधिवेशन सम्पन्न भएपछि महासमिति सम्मेलनमार्फत नीति मन्थन गर्ने प्रतिबद्धता गरेको कांग्रेस आफ्नै कार्यतालिकाबाट पछि परेको मात्र होइन, पार्टीको समयानुकूल नीति तय नहुँदा सरकार र संसद्को प्रभावकारिताका साथै जनअपेक्षाबाट पनि चुकिरहेको देखिन्छ । अहिले कांग्रेसको जिम्मेवारी र कार्यसम्पादनलाई प्रश्न गर्न सकिने आधार–कारणहरू छन् । यद्यपि, महासमितिमार्फत नीति मन्थन गर्ने उद्दघोष गरेको कांग्रेसले समुदाय र अधिवेशनमा कस्ता नीतिका बारेमा संवाद गर्ला भन्ने चासोको विषय हो । 

विश्वको बदलिँदो राजनीति र भूराजनीति टकराव, आर्थिक–सामाजिक र सांस्कृतिक चुनौती, सूचना तथा सञ्चारको विकास, सामाजिक सञ्जालको प्रभावसँगै प्रविधिमा उच्चतम विकास एआईको उदय, सन्निकटको आर्थिक संकट, बढ्दो बेरोजगारी दर र गरिबी, जलवायु परिर्वतनका असरलगायतका ज्वलन्त समस्यासँग नेपाल पनि जुधिरहेको छ । साथै, संविधानको प्रभावकारी कार्यान्वयन, संघीयताका सन्दर्भमा उब्जिएका प्रश्न, हिन्दू राष्ट्र र राजतन्त्रका मन्द स्वरहरू, भ्रष्टाचारका प्रकरणहरूको धारावाहिक खुलासा, प्रदेश सरकारको औचित्य र स्थानीय सरकारमा बढ्दो भ्रष्टाचारको ग्राफकाबीच कांग्रेसले सुधारका कस्ता नीति तय गर्ला ? समुन्नतिको व्यग्र जनचाहनामा कांग्रेसले अबको दशक कस्ता एजेन्डाहरू बोकेर पार्टीलाई आधुनिक लोकतन्त्रको हिमायती बनाउला ? राज्यको रूपान्तरणमा कस्ता कार्यनीति तय गरेर जनअपेक्षालाई सम्बोधन गर्न सक्छ होला ? प्रश्न अनेक छन् । 

शान्तिप्रक्रिया, संविधान र लोकतान्त्रिक निर्वाचन सम्पन्न गर्न सफल देखिएको कांग्रेस सत्तामा रहँदा शासकीय कौशलताका सवालमा भने अपेक्षित रूपमा सफल देखिरहेको छैन । अहिले स्थानीय तहमा सबैभन्दा धेरै सरकारको नेतृत्व, प्रतिनिधि र प्रदेश सभामा सबैभन्दा धेरै सिट हासिल गरेको ठूलो पार्टीका रूपमा आफ्नो पहिचान राखे तापनि सत्ता सहकार्य र नेतृत्वदायी भूमिकामा भने सफल देखिँदैन । बहुदलपछि कांग्रेस सबैभन्दा धेरै समय सत्तामा छ । कांग्रेसकै नेतृत्वमा मुलुकले विभिन्न परिणाम पनि निकालेको छ । राजनीतिक संक्रमणको आरोह–अवरोह सामनादेखि तिनको समाधानको उपाय पनि कांग्रेसकै नेतृत्वले पूरा गरेका विगतका उदाहरण छन् । तर, पछिल्लो समय भने कांग्रेसमाथि प्रश्नहरू छन् । 

नीतिविनाको गन्तव्य 
कांग्रेसको इतिहासमा महासमितिको बैठक बसेर पार्टीको आन्तरिक विषयमा सामान्य छलफल गरे तापनि पार्टीको समकालीन र दीर्घकालीन नीतिका सन्दर्भमा पर्याप्त छलफल भएका छैनन् । संसद्को सबैभन्दा ठूलो पार्टी कांग्रेसले महाधिवेशनबाट नेतृत्व चयन गरेपछि एक वर्षमा महासमिति बैठक गरेर दलको नीति तय गर्ने योजना राखे तापनि अझै यसको निश्चित मिति तय हुन सकेको छैन । शासकीय व्यवस्थाको समायानुकूल सुधार साथै पार्टीको रूपान्तरण, सरकार सञ्चालन र संसद्को प्रभावकारिताका सन्दर्भमा आगामी दशकको रूपरेखा तय गर्ने प्रतीक्षित अधिवेशन महŒवपूर्ण छ । यो अधिवेशनले कांग्रेसको भावी कार्यदिशा कोर्ने अपेक्षा गर्न सकिन्छ । तर, विगतका जस्तै कर्मकाण्डीशैलीमै व्यतीत भएमा कांग्रेस यथास्थितिबाट अगाडि बढ्न नसकेको सन्देश जानेछ । त्यसको फाइदा नवलोकप्रियतावादको घुम्टो ओडेर झ्याली पिट्नेहरूले लिनेछन् । 

कांग्रेसले जनतालाई आशा जगाउन सक्नुपर्छ । विगतमा जस्तै निर्वाचनका वेलामा मतदातालाई घोषणापत्र मात्र सुम्पिने कि भावी कार्यदिशा र सम्मुन्नतिको सुस्पष्ट रेखाचित्र कोरेर जनताको रोजाइको दल बनाउने भन्ने आधारविन्दु यही हो ।

कांग्रेसले बिपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियतालाई अंगीकार गरेको नीति न पार्टी, न नेताले अवलम्बन गरेका छन् । ठूलो सांगठनिक संरचना भएको पार्टी इतिहासको विरासतलाई वर्तमानमा समयानुकूल गराउन सकिरहेको छैन । नयाँ पुस्ता त अझ बिपीका सैद्धान्तिक एवं व्यावहारिक पक्षका बारेमा मतान्तरमा नै छ । पार्टीमा विचार, विमर्श, विज्ञता र विद्वताभन्दा दलालतन्त्र, धनतन्त्र, नातावाद मौलाउँदै गएको दृष्टान्त छ । पछिल्लो समय आन्तरिक लोकतन्त्रको अभ्यास गरिन थालिएको भए पनि नेतृत्वले स्वेच्छाचारिता त्याग गरिनसकेको पछिल्ला एकलौटे निर्णयहरूले नै पुष्टि गर्छन् । अहिले कांग्रेसले सेतो हात्तीमा चढेर शासन चलाइरहेको छ, तर त्यसको गन्तव्य कहाँसम्म हो तय छैन । त्यसैले उसका गतिविधिलाई लिएर जनताले बारम्बार प्रश्न तेस्र्याइरहेका हुन्छन् । 

समयमा नीति बहस नहुनु विडम्बना हो । कांग्रेसको सुशासनको नीति के हो ? आर्थिक–सामाजिक रूपान्तरणको नीति कस्तो हो ? वैदेशिक नीति र कूटनीति कसरी सञ्चालन हुन्छन् ? बेरोजगार कति युवाहरूलाई के र कति समयमा रोजगारी सिर्जना गर्ने नीति छ ? आन्तरिक उत्पादन र उद्यमशीलता, लोककल्याणकारी राज्य, सामाजिक न्याय र सुरक्षा, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य, सुरक्षित आवास र स्वच्छ पर्यावरणमा कस्तो नीति अवलम्बन गर्दै छ ? यस्ता प्रतिनिधिमूलक प्रश्नहरू कांग्रेसले सम्बोधन गर्न अपरिहार्य छ । 

अब विगतलाई देखाएर कांग्रेसले भविष्यको राजनीति गर्न सक्दैन । कांग्रेसले जनतालाई आशा जगाउन सक्नुपर्छ । विगतमा जस्तै निर्वाचनका बेलामा मतदातालाई घोषणापत्र मात्र सुम्पिने कि भावी कार्यदिशा र सम्मुन्नतिको सुस्पष्ट रेखाचित्र कोरेर जनताको रोजाइको दल बनाउने भन्ने आधारविन्दु यही हो । हिजो व्यवस्था ल्याउन गरेको योगदान अवको दशक सुशासन र समुन्नतिको नेतृत्व कांग्रेसले नै लिनुपर्छ । यस्ता विषय महासमितिको यसै नीति अधिवेशनले तय गर्न सकेन भने अबका दशक कांग्रेसको साख जनतामा सकारात्मक हुने अनुमान गर्न संकोच मान्नुपर्दैन । 

अन्त्यहीन अन्तद्र्वन्द्व 
कांग्रेसको क्यान्सर भन्नु नै अन्त्यहीन अन्तद्र्वन्द्व हो । पार्टीको आन्तरिक अन्तद्र्वन्द्वले आफ्नै संरचनामा धक्का दिइरहेको छ । पार्टीलाई नेतृत्वले चलाउने कि विधि र प्रणालीले चलाउने भन्ने माथापच्ची कांग्रेसमा छताछुल्ल छ । समसामयिक विषयवस्तुमा बहस र मन्थनका लागि गुट, उपगुट र समूहहरूको अभ्यास राम्रै होला, तर एउटा समूहले अर्को समूहसँग संर्घष गरिरहनुपर्ने अभ्यासले पार्टीको लोकतान्त्रिक चरित्रलाई सकारात्मक रूपमा सम्प्रेषण गर्न सकेको छैन । निर्वाचनका वेलामा सक्षम र इमानदारलाई टिकट दिनुभन्दा आफ्नालाई अवसर दिनु, सरकारमा सहभागिता र नियुक्तिक्तीमा एकलौटी निर्णय गर्नु, पार्टीका संरचनाहरूमा सहमतिविना आफ्नालाई मात्र कार्यभार सुम्पिनुले पार्टी विधिविहीन पथतिर लम्किरहेको प्रतीत हुन्छ । यस्ता बेथितिलाई यसै नीति महाधिवेशनले उपचार गर्न सक्नुपर्छ । 

गैरलोकतान्त्रिक कम्युनिस्ट पार्टीसँगको गठबन्धन र निर्वाचनमा तालमेल र सत्ताको मोहले कांग्रेसको मार्ग मोडिएको छ । राष्ट्रिय आवश्यकताका नाममा कांग्रेस कम्युनिस्टको जञ्न्जालमा फसिरहेको छ । आफ्नो प्रजातान्त्रिक धरातल, नीति र सिद्वान्तहरूलाई बिर्सिरहेको छ । यस्तो प्रवृत्तिले समाजमा राजनीतिक दलसम्बन्धी धारणालाई परिर्वतन गराइहेको देखिन्छ । यसै सन्दर्भमा जिल्ला र देशका विभिन्न स्थानबाट आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्न आमकार्यकर्ताले सुझाव दिइरहेका छन् । चुनावी तालमेलले कांग्रेसलाई फाइदा नपुग्ने धेरैको बुझाइ छ । निर्वाचनपूर्व कि निर्वाचनपछिको सत्ता सहकार्य भन्ने विषयमा पनि कांग्रेसले आफ्नो नीति कसरी स्पष्ट पार्छ भन्ने चासो छ । 

कांग्रेसभित्र संस्थापन पक्ष गठबन्धनको बचाउमा र संस्थापनइतर पक्ष गठबन्धनको विपक्षमा रहेको घटनाक्रमले नै देखाउँछन् । यस्ता विमतिहरूले सत्ता सञ्चालनमा पनि प्रभाव पारिरहेको छ । बहुदलीय व्यवस्थामा पार्टीहरूको सत्ता सहकार्यको विकल्प छैन् । तर, यस्तो विषयमा कांग्रेसले कस्तो रणनीति तय गर्ला ? साथै, पार्टीले कस्तो निर्वाचन प्रणालीलाई अवलम्बन गर्ने, समानुपातिक र समावेशी व्यवस्थामा कस्ता प्रतिनिधिलाई अवसर दिने, पर्फमेन्स बेस्ड पोलिटिक्सलाई कसरी स्थापित गराउने, जनताको आवश्यकता र मागलाई कसरी सरल, सहज र सुलभ तरिकाबाट सम्पन्न गर्ने भन्ने विषयमा मिहिन छलफल हुनु आवश्यक छ । 

पन्धौँ महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विषय फेरि पनि पेचिलो बन्ने देखिन्छ । पार्टी नेतृत्वमै रहनेले आफ्नो अनुकूल टिकट बाँड्ने परिस्थिति विगतदेखिकै बेथिति हो । यसैले संस्थापनइतरले निर्वाचनपूर्व र संस्थापन पक्षले निर्वाचनपछि महाधिवेशन गर्ने कुरालाई प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । महामन्त्रीहरूले वार्षिक क्यालेन्डर बनाएर संगठनलाई अगाडि बढाउने निर्णय गरेपछि पार्टीका केन्द्रीय समिति बैठक, जिल्ला सम्मेलन पनि नियमित भइरहेकाले संगठनका हरेक गतिविधि तालिकाबद्ध गर्न जोड दिएको देखिन्छ । यस्तो अभ्यासलाई बहुसंख्यकले साथ दिए पनि संस्थापन पक्षले कसरी निरन्तरता दिन्छ भन्ने प्रश्न बाँकी नै छ । विधानले तोकेको समयमा नै महाधिवेशन गर्नु पार्टीको अनिवार्यता हो, तर यो कसरी हुन्छ ? आशंका कायम छन् । 

महामन्त्रीद्वयको महापरीक्षा
पछिल्लो समय महामन्त्रीद्वयको चिन्तन, कार्यशैली र एकताले कांग्रेसमा आशाको सञ्चार गराइरहेको छ । जिल्ला सम्मेलन, प्रदेश सम्मेलन, केन्द्रीय समितिको बैठक, संसद् र विषयगत समितिमा प्रस्तुति र सार्वजनिक कार्यक्रममा व्यक्त आशयले महामन्त्रीद्वयमा रूपान्तरणको हुटहुटी संकेत गर्छन् । कांग्रेस महाधिवेशन विधानले तोकेको समयमा नै गराउनु महामन्त्रीहरूका लागि महापरीक्षा हो । जसरी दुई महामन्त्रीको व्यक्तित्वले अवसरको उचाइ थपेको छ, त्यसरी नै पार्टीको रूपान्तरणको मार्ग महामन्त्रीद्वयमा निर्भर देखिएको छ । आमकार्यकर्ताको आशा, भरोसा पनि महामन्त्रीहरूमै छ । 

समाज, सरकार र संसद्मा कांग्रेसले के गर्दै छ ? भन्ने विषय अहिले महत्वपूर्ण छ । महामन्त्री गगन थापाले पछिल्ला सार्वजनिक कार्यक्रममा सरकार सञ्चालनको नेतृत्व पूर्ण पाँच वर्षको सुनिश्चित गर्ने प्रस्तावलाई अगाडि सारेको देखिन्छ । यो राजनीतिक स्थायित्वका लागि निकै महत्वपूर्ण प्रस्ताव हुन सक्छ । त्यसका लागि पार्टीले समयमै विवेक गर्नुपर्ने देखिन्छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको विधानमा सभापतिको दुई कार्यकाल कायम गरिएजस्तै सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको पदावधि पनि तोक्ने प्रस्ताव पनि सार्वजनिक कार्यक्रममा सुनिन्छन् । त्यस्तै, टिकट वितरणमा प्राइमरी इलेक्सन, प्रोजेक्ट गभन्र्यान्स, ल्याटरल इन्ट्री र पर्फमेन्स बेस्ड पोलिटिक्सको सुरुवात गर्न महामन्त्रीद्वयलाई निकै चुनौती छ । 

कांग्रेस पार्टीभित्र र बाहिरबाट आमचासोका रूपमा महामन्त्रीद्वयका राजनीतिक कदमलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ । समान मुद्दामा दुवै जनाको एकता र सहमतिले आगामी दिनमा महामन्त्रीद्वयको भिजनरी परिकल्पनाले कांग्रेस रूपान्तरण हुने आशा राख्नेहरू धेरै छन् । तर, बिपीको सिद्धान्त र मार्गनिर्देशनबाट पार्टीलाई सुदृढीकरण गरी समयानुकूल रूपान्तरण गर्न अहिले महामन्त्रीद्वय महापरीक्षाको घडीमा छन् । सांगठनिक संरचना, सुधारिएको शासकीय स्वरूप, समुन्नतिको खाका, सुशासनका सूचकहरूलाई सकारात्मक रूपमा कार्यान्वयनमा ल्याउन समुदायमा संवाद कार्यक्रमको परिकल्पना कांग्रेसको नीतिमा झल्किनु जरुरी देखिन्छ । यसर्थ, समयानुकूल र दीर्घकालीन नीतिहरूमा कांग्रेसको कोर्स करेक्सन भएन भने देश उन्नतितिर भन्दा अधोगतितिर धकेलिने निश्चित छ ।