विपक्षी पार्टीहरूले लगाउँदै आएको यथास्थितिवादी र परम्परावादीको आक्षेप चिर्न कांग्रेसमा सक्षम र ‘डाइनामिक’ नेतृत्व आवश्यक छ
कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीको आगामी नेतृत्वबारे चासो बढेको छ । अघिल्लो आमनिर्वाचनमा अनपेक्षित रूपमा पराजित भएपछि दूरदर्शी र चलायमान नेतृत्व चयनका लागि पार्टी पंक्तिमा व्यापक छलफल र बहस सुरु भएको छ । आमकार्यकर्ताले नयाँ नेतृत्वबाट पार्टीको ऐतिहासिक गरिमा कायम राख्दै पार्टीको गुमेको शाख पुनस्र्थापनाको अपेक्षा गरेका छन् ।
समसामयिक राजनीतिक परिवर्तनलाई संस्थागत गरी लोकतान्त्रिक गणतन्त्रलाई सम्मुनत रूपमा आमनागरिकमा अनुभूति गराउनै पनि कांगेसभित्र दृढ संकल्पसहितको नायकको खोजी भइरहेको छ । कांग्रेसको इतिहास हेर्दा राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा बिपी कोइरालाको नायकत्व प्रशंसनीय छ ।
कांग्रेस सुसंस्कृत, सभ्य र वैधानिक आचरणबाट चल्नुपर्छ भन्ने गणेशमान सिंहको त्याग र कृष्णप्रसाद भट्टराईको सादगीपूर्ण जीवनले कांग्रेसको विचारलाई जीवन्त तुल्याएको हो । नागरिकको राजनीतिक अधिकारलाई कुण्ठित गरेको पञ्चायतलाई बहिष्कार गरी बहुदलीय व्यवस्थाका लागि जनआन्दोलनको नेतृत्वमा पनि कांग्रेस सफल भयो । बहुदलीय व्यवस्थापश्चात् मुलुकले सामना गरेको द्वन्द्वात्मक संक्रमणकालीन समयमा शान्ति स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाको नायकत्व पनि स्मरणयोग्य छ । बहुदलीय व्यवस्थापछि पनि अधिनायकत्वतर्फ उन्मुख भई बिखलबन्धमा परेको राजतन्त्र अन्त्य गरी मुलुकमा गणतन्त्र स्थापनामा समेत कांग्रेसको नेतृत्व निर्णायक थियो । राजनीतिमा समयानुकूल नायकत्व गरेका कांग्रेसको जग बलियो हुँदै आएको हो ।
इतिहासका महत्वपूर्ण समयमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसबाट आमनागरिकले फेरि पनि मुलुकको समृद्धि, सुशासन र सुसंस्कृत राजनीतिको नायकत्व खोजेका छन् । संविधान कार्यान्वयन, थप परिष्कृत कानुन निर्माण, देशमा पूर्वाधार निर्माण, सार्वजनिक सेवाको सुदृढीकरण, भ्रष्टचारमुक्त सभ्य समाज निर्माण, सन्तुलित वैदेशिक नीति, गरिबी न्यूनीकरण, युवालाई स्वदेशमै रोजगारी सिर्जना, उत्पादनमूलक आत्मनिर्भर अर्थतन्त्र र समावेशी न्यायोचित अधिकार सुनिश्चितताका लागि लोकतान्त्रिक पार्टीभित्रको नेतृत्व आमनागरिकका चासोमा रहेको छ ।
अबको कांग्रेसमा कस्तो नेतृत्व ?
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र नीतिभन्दा पनि नेतृत्वको बहसले प्राथमिकता पाएको सन्दर्भ छ । अन्य दलजस्तै कांग्रेसमा पनि गुट, उपगुट छन् । अहिले यी गुट पार्टीको नीति, विधि र विचारभन्दा पनि नेतृत्वका विषयमा केन्द्रित देखिन्छन् । महाधिवेशनबाट नेतृत्व र महासमितिको बैठकबाट नीति तय गर्ने संशोधित विधानमा उल्लेख छ । कांग्रेसले समयानुकूल राजनीतिक लयलाई परिष्कृत गर्न नसक्दा अघिल्लो निर्वाचनबाट प्रतिपक्षको म्यान्डेट पाएको कांग्रेसले अनपेक्षित रूपमा सत्ताको बागडोर समाल्न पाएको छ ।
नेकपाले सपना बाँडेर दुईतिहाइनिकट बहुमत पायो । तर, जनतामाझ गरेका वाचा पूरा गर्न सकेन । राजनीतिक स्थायित्व, विकास र समृद्धि ल्याउने उसको प्रतिबद्धता नारामै सीमित रहे । पाँच वर्ष शासन चलाएर राजनीतिक स्थायित्व कायम गर्न पाएको जनादेशको समेत उपहास हुन पुग्यो । यस सन्दर्भमा नेपालको पुरानो लोकतान्त्रिक पार्टीभित्र चलिरहेको आन्तरिक प्रतिस्पर्धाले वडादेखि क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्म मुलुकको चुनौती समाना गर्न सक्ने नेतृत्वको खोजी भइरहेको छ ।
नेताहरूको शास्त्रीय श्लोक, परम्परागत प्रवचन र सनातनी सन्देशले मात्रै कांग्रेसले पुनर्र्जीवन पाउने सम्भावना छैन । समाजको रूपान्तरणकारी वैज्ञानिक युग, सूचना र सञ्चारको पहुँच तथा विस्तार, डिजिटल प्रविधिका युवापुस्तामाझ नीतिगत सुधार गर्न कांग्रेसमा भिजनरी नेतृत्वको खाँचो रहेको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको धारणा रहेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक दृष्टिकोण र समयानुकूल उदार नीति अंगिकार गर्ने कांग्रेसले समयसापेक्ष अगाडि बढ्नुपर्ने चुनौती सामना गर्नुपर्नेछ । विपक्षी पार्टीहरूले लगाउँदै आएको यथास्थितिवादी र परम्परावादीको आक्षेप चिर्नै पनि कांग्रेसमा सक्षम र डाइनामिक नेतृत्व अत्यावश्यक छ ।
कांग्रेसलाई कसले सुधार्ने ? : कांग्रेसलाई समयानुकूल सुदृढीकरणमा मुख्य जोड दिँदै पार्टीका विधान र कार्यशैलीबारे युवाले पार्टीका आन्तरिक छलफल र सञ्चारमाध्यममा प्रश्न उठाउँदै आएका छन् । विधि र विधानलाई शतप्रतिशत लागू गर्दै नेतृत्वदेखि आमकार्यकर्तासम्म सभ्य, सुसंस्कृत र सक्षम कार्यशैलीलाई अवलम्बनमा प्रतिबद्धता व्यक्त गर्ने नेतृत्वको खाँचो छ । कानुनी राज्यको परिपालनाका लागि पार्टीको विधान र संविधानबाहिर गएर गरिएका कुनै पनि कार्य वैध हुन सक्दैनन् भन्ने दृढ संकल्प कांग्रेस नेतृत्वमा चाहिएको छ ।
राजनीतिक विश्लेषक शंकर तिवारीका अनुसार पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, जिल्ला, र गाउँ तहसम्म विचार, सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान जरुरी छ । पार्टीका तलदेखि केन्द्रसम्मका पदाधिकारीलाई जिम्मेवार गराउन आमकार्यकर्ताको निरन्तर खबरदारी जरुरी छ । विधानको पालना र नेतृत्वको कार्यशैलीमा सुधार पहिलो सर्तका रूपमा अगाडि बढाउनुपर्नेछ । कांग्रेसको भावी राजनीतिमा स्पष्ट एजेन्डासहितका कार्ययोजना पनि अत्यावश्यक छन् ।
राष्ट्रिय राजनीतिका हरेक मुद्दामा कांग्रेस प्रस्ट हुन जरुरी छ । फरक पार्टीसँगको सम्बन्ध, लोकतन्त्र, संघीयता, धार्मिक स्वतन्त्रता, कम्युनिस्ट पार्टीसँगको सहकार्य, जातीय तथा सामाजिक विभेदका सवालमा कांग्रेसको स्पष्ट नीति र त्यसलाई कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्र र यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउनु पार्टीको प्राथमिकता हुनुपर्छ । देशको भौगोलिक विविधता, हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रूपमा जोड्ने कांग्रेस बनाउनका लागि पनि साझा र जिम्मेवार नेतृत्व चाहिएको छ ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन कांग्रेसभित्र दृढ संकल्पसहितको नयाँ नायकको खोजी भइरहेको हुनाले यसै महाधिवेशनबाट कांग्रेसमा पुस्तान्तरणसहितको रूपान्तरण जरुरी छ
जननेता बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको माटो सुहाउँदो व्याख्यासहितको विचार उन्नत गराउनु आमकांग्रेसजनमा चुनौती छ । समाजवादको माला जपेर मात्र हुँदैन । यद्यपि, त्यस चुनौतीलाई सामना गरी समुन्नत बनाउन आगामी नेतृत्वको भूमिका प्रमुख रहन्छ । कुनै पनि विचारको समयानुकूल परिमार्जन र व्याख्या गरिएन भने बिस्तारै त्यसको सान्दर्भिकतामा प्रश्न उठ्छ । सन्दर्भसहितको कांग्रेसलाई वैैचारिक रूपमा तिखार्दै जाने, सांगठनिक रूपमा रहेका समस्या हल गर्दै चुस्त–दुरुस्त संगठन निर्माण गर्ने र भावी पुस्ताले गर्व गर्नलायक कांग्रेस र देश बनाउने गरी काम गर्ने योजना यसै महाधिवेशनबाट प्रस्तुत गरी कार्यदिशा तय पनि गर्नुपर्ने हो ।
प्राध्यापक कृष्ण खनालका अनुसार ‘पार्टीहरूले पछिल्लो सन्दर्भ विचारलाई अझै समयानुकूल परिष्कृत गर्दै लैजानुपर्ने चुनौती छ ।’ अहिले कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको व्याख्या गरी सामाजिक न्याय र समानताका लागि सर्वसुलभ स्वास्थ्य र जीवन उपयोगी शिक्षाको राज्यले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । देशको पछिल्लो परिवेश र सन्दर्भअनुसार आर्थिक विकास र उत्पादन वृद्धिका लागि उद्यमी र व्यवसायीलाई उत्साहित र प्रोत्साहित बनाउनुपर्छ भन्ने विषयमा स्पष्ट हुनुपर्छ ।
कांग्रेसलाई सुधार गर्न युवा नेता बद्री पाण्डेले चार ‘ब’ को अवधारण पनि प्रस्तुत गरेका छन् । उनका अनुसार वैचारिक मार्गमा एकरूपता, विधानअनुरूपको कार्यशैली, नियमित बैठक र पार्टी र कार्यकर्तासँगै अर्थ व्यवस्थापनमा जोड छ । नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराई नेतृत्व विकास गर्न, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न सबैको सहकार्य, समन्वय र सहमति अपरिहार्य छ ।
पुस्तान्तरणसहितको रूपान्तरण
कांग्रेसका तल्लो तहदेखि नै संस्थापन र इतर समूहबीच जारी कडा प्रतिस्पर्धाले कांग्रेस महाधिवेशन अत्यन्तै रोचक हुने अनुमान गर्न सकिन्छ । १३औँ महाधिवेशनबाट नेतृत्व सम्हालिरहेका सभापति देउवाले पाँचौँपटक प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गरिसकेका छन् । तर, दुवै भूमिकामा उनले कांग्रेसकै अन्य नेताका तुलनामा आफूलाई खरो उतार्न नसकेको अरोप लाग्दै आएको छ । त्यसैले पनि यसपटक उनलाई नेतृत्वबाट सम्मानजनक रूपमा बिदाइ गर्नुपर्ने आवाज उठेको छ । समयानुकूल पुस्तान्तरणसहितको रूपान्तरणमा आम क्रियाशील कार्यकर्ताको जोड छ ।
पछिल्लो समय क्रियाशील सदस्यता बढेसँगै पार्टीमा युवापुस्ताको आकर्षण ह्वातै बढेको छ । वडा, नगर, क्षेत्र र जिल्लालगायत महाधिवेशनमा उल्लेख्य संख्यामा युवाहरू निर्वाचित भएको सन्दर्भमा पार्टीको पुस्तान्तरण पनि व्यापक रूपमा दबाब सिर्जना भएको छ । युवा उमेरले मात्र होइन, युवा मानसिकताले काम गर्ने नेतृत्व कांग्रेसलाई अहिले चाहिएको छ । यसै महाधिवेशनबाट कांग्रेसमा पुस्तान्तरणसहितको रूपान्तरण हुनेमा कांग्रेसजन विश्वस्त देखिन्छन् ।
राजनीतिक विश्लेषक पुरञ्जन शर्माका अनुसार ‘कांग्रेसमा पछिल्लो युवापुस्ताको चाहना पनि समयानुकूल पार्टी पुस्तान्तरण हुनुपर्छ भन्ने छ ।’ युवाहरूको सक्रियता र ऊर्जा देखेर नै होला कांग्रेसका युवा लोकप्रिय नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डेले महत्वपूर्ण पदाधिकारी तहमा उम्मेदवारी प्रस्तुत गरेका छन् । उनीहरूको तयारी र प्रस्तुति भावी सभापतिका रूपमा पनि देखिन्छ । यो पार्टीमा पुस्तान्तरणसहितको रूपान्तरणमा पूर्वसंकेत पनि हो ।
सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यूका अनुसार ‘देश विकासको महान् अभियान कुनै अमुक पार्टीको घोषणापत्र र नीति तथा कार्यक्रमले मात्रै पूरा हुँदैन । जनताको प्रत्यक्ष सहभागिताविना कुनै पनि विकास आयोजना पूरा हुँदैन ।’ जनताका दुःखमा साथ दिने र सम्मुनत र सुशासनको आमूल रूपान्तरणको मार्गलाई डेलिभर गर्न सक्ने सक्षम र इमानदार नेतृत्व चाहिएको छ । यसर्थ, अहिले कांग्रेसका आमकार्यकर्तासहित अन्य पार्टीका कार्यकर्तालगायत आमजनता मुलुकको नयाँ परिवेशमा नयाँ नेतृत्व देख्न चाहन्छन् । त्यसको अभिभारा सम्पूर्ण महाधिवेशन प्रतिनिधिको काँधमा आएको छ । फेरि एकपटक रूपान्तरित कांग्रेसको परिकल्पना पूरा गर्न महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गर्न जरुरी छ ।