१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
भुवन न्यौपाने
२o८१ जेठ ८ मंगलबार o६:४६:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सम्भव छ कांग्रेसमा रुपान्तरण ?

स्थानीय तह र आमनिर्वाचनबाट सबैभन्दा धेरै सिट जितेको कांग्रेस उपनिर्वाचनमा आफ्नै पकड क्षेत्रमा पराजित भएपछि पार्टी सच्चिने कि सक्किने भन्ने बहस चर्किंदो छ

Read Time : > 5 मिनेट
भुवन न्यौपाने
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:४६:oo

नेपालको समसामयिक राजनीतिमा सत्तरीको दशकको धक्काले असीको प्रारम्भमै राजनीतिक हलचलको संकेत देखाएको छ । पछिल्लो उपनिर्वाचनको मतादेशपश्चात् अन्य पार्टीमा भन्दा धेरै भय, बहस र चिन्तन कांग्रेसमा देखिन्छ । एक पक्षले कांग्रेस रुपान्तरण हुन सकेन भन्ने आरोप लगाउँछन् भने अर्का पक्षले समय–समयमा कांग्रेस रुपान्तरण भएर देखाएको छ भन्ने दाबी गर्छन् । के समयानुकूल कांग्रेस रूपान्तरण भएको छ त ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफचाहिँ स्वयं कांग्रसजनले नै दिन सक्दैनन् । र, वेलावेलाका निर्वाचन परिणामपश्चात् कांग्रेस रुपान्तरणको बहस घन्किन्छ । तर, समस्याको घनीभूत पहिचान र समाधानका उपायमा छलफल केन्द्रित भए पनि समाधानको सक्रियता र निर्णय कार्यान्वयनमा भने कमै चासो देखिन्छ । 

कांग्रेसका पछिल्ला बैठकमा सभापति र महामन्त्रीद्वयबीच चर्काचर्की भएका समाचार आए । पछिल्लो समय कांग्रेस नेतृत्वको कार्यशैलीलाई लिएर धेरै प्रश्न उब्जिएका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा भिन्न शैलीको ‘अब त अति भो’ भन्दै गरेको ‘ट्विट’ले पार्टीभित्रको अन्तरविरोधलाई सतहमै ल्याइदिएको छ भने अर्का महामन्त्री विश्वप्रकाश शर्माको ‘महामन्त्री पदबाटै राजीनामा दिने’ भनाइले कांग्रेसभित्र धेरै अन्तर्संघर्ष र हलचल रहेको संकेत गर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाण पक्राउ भएपछि उनको निलम्बनका लागि कांग्रेसका दुवै महामन्त्रीले बेथितिविरुद्ध एउटै स्वरमा ‘विद्रोहको संकेत’ गरेका छन् ।

कांग्रेसभित्रको अन्तर्संघर्ष र रुपान्तरणको बहस घनीभूत रूपमा चलिरहेको छ । पछिल्लो स्थानीय तह र आमनिर्वाचनबाट सबैभन्दा धेरै सिट जितेको कांग्रेस उपनिर्वाचनमा आफ्नै पकड क्षेत्रमा पराजित भएपछि कांग्रेस सच्चिने कि सक्किने भन्ने बहस चर्किंदो छ । कांग्रेसमा खस्किँदो सुशासन, संस्थापन पक्षको बलमिच्याइँ, एकलौटी शैली, संस्थापन इतर समूहका शेखर–गगनमै मतभेदबीच पार्टीभित्रैको अन्तर्संघर्ष, कार्यशैलीको विरोध र पार्टीको नवीनतासहितको रुपान्तरण कसरी होला ? आमकांग्रेसजनले चाहना गरेकोजस्तो पार्टीको रुपान्तरणचाहिँ के हो ? र, यो कसरी सम्भव होला ? साँच्चै कांग्रेसका महामन्त्रीद्वयले पार्टीलाई नवीनता दिन सक्लान् ? अहिले यस्ता प्रतिनिधिमूलक प्रश्न निकै सुनिन्छन् । कांग्रेस रुपान्तरणका चार खम्बाबारे यहाँ चर्चा गर्दै छु । 

नीतिगत स्पष्टता :  कांग्रेसमा पहिलोपटक नीति महाधिवेशनको चर्चा चलिरहेको छ । नीति महाधिवेशनमा कस्ता विषयलाई छलफलमा ल्याउने भन्ने मुद्दाले बैठकमा समय पाएको छैन । समकालीन नीति, शासकीय सुधार, आर्थिक उन्नति र मितव्ययिता, पारदर्शिता र जवाफदेहिता, शिक्षा र स्वास्थ्य, कूटनीतिक अभ्यास, संघीयताको सुदृढीकरण, निजीकरण सदुपयोग, सामाजिक न्याय, सामाजिक सुरक्षा, सुशासन र समुन्नतिको मार्गचित्रबारे प्रारम्भिक छलफल निकै कम छन् । सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसले सरकार, संसद् र पार्टीभित्र कस्ता नीति अबलम्बन गर्छ, कसरी जनतामा नीतिमार्फत ‘डेलिभरी’ दिन सक्छ भन्ने परीक्षणको समय पनि हो यो । उसले संविधानको परिकल्पनाअनुरूप लोककल्याणकारी राज्यका अवधारण कस्ता नीतिमार्फत हासिल गर्न सक्ला भन्ने जिज्ञासा सर्वत्र छन् । 

बदलिँदो राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै क्षमतावान् र योग्य युवापुस्तालाई कांग्रेसतिर आकर्षण गर्ने रणनीति तय गरेर रुपान्तरणको आशा सञ्चार गर्न नसके पार्टीको अस्तित्व जोखिममा पर्न बेर लाग्दैन
 

विभिन्न सूचकका सुधारात्मक विन्दुमा पार्टीलाई उभ्याउन कांग्रेसका आगामी नीति, योजना र कार्यक्रम के छन् ? सन्मुखको संकटमय आर्थिक मन्दीलाई त्राण दिन कांग्रेसको अर्थनीति के हो ? बदलिँदो भूराजनीतिक टकरावलाई सन्तुलित गर्ने उसको कूटनीति र विदेश नीति कस्तो हो ? मुलुकको ज्वलन्त समस्या गरिबी र बेरोजगारीका सन्दर्भमा कांग्रेसले स्वदेशमै कति समयमा कति रोजगारी सिर्जना गर्न सक्छ ? कांग्रेसको सुशासनको नीति के हो ? कानुन र न्याय, सामाजिक सुरक्षा र सामाजिक न्यायमा कांग्रेसको अबको अभ्यास कस्तो हुन्छ ? यस्ता विषयको मिहिन छलफल अनिवार्य नै देखिन्छन् । यसका लागि महामन्त्रीद्वयको कस्तो परिकल्पना छ भन्ने जिज्ञासा बढ्दो छ । 

एकातिर, कांग्रेस पार्टीभित्र रुपान्तरणको मार्ग तय गर्नुपर्नेछ । अर्कातर्फ, मुलुकको समुन्नतिका लागि नेतृत्व गर्नुपर्नेछ । दीगो विकास, स्वच्छ पर्यावरणको सुनिश्चितता र जलवायु परिर्वतनलाई न्यूनीकरण गर्ने नीति कस्तो लिँदै छ ? गुणस्तरीय सार्वजनिक स्वास्थ्य, गुणस्तरीय सामुदायिक शिक्षा, सुरक्षित आवासजस्ता नागरिकका मौलीक हक र मानव अधिकारका सन्दर्भमा कांग्रेस कसरी उभिएला ? यी तमाम प्रश्नको चित्तबुझ्दो उत्तर अबको भावी कांग्रेसबाट मुलुकले खोजिरहेको छ । के यस्ता समयानुकूल विषयमा महामन्त्रीद्वयले घनीभूत छलफल गरेर आमजनतामा आशा जगाउन सक्ने संकेत जीवीतै छन् ? भावी कार्यदिशामार्फत नीतिगत स्पष्टता लिन सक्यो भने कांग्रेसको रुपान्तरणमा हरियो संकेत देखिन पनि सक्छ । 

नेतृत्वको कुशलता :  कांग्रेसको नेतृत्व संस्थापन पक्षको एकलौटी कार्यशैली देखेर निराशा व्यक्त गर्ने कांग्रेसजनको पंक्ति ठूलो छ । पार्टीको पुस्तान्तरण, रुपान्तरण र सुदृढीकरणका लागि आवाज मुखरित गरिरहने पंक्तिले पनि प्रश्नहरू तेस्र्याइरहेका छन् । पछिल्लो समय पार्टीमा एकछत्र शासन गरिरहेका पार्टी सभापति शेरबहादुर देउवाले रुपान्तरणको उद्घोष त गर्छन् तर कार्यान्वयन गर्न चाहँदैनन् । विशेषतः कांग्रेसको नेतृत्वको कार्यशैली, सक्रियता र कुशलतालाई लिएर आमकार्यकर्तामा नैराश्य देखिन्छ । १० वैशाखको उपनिर्वाचन परिणामले कांग्रेसको नेतृत्व, परम्परा र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने चर्को आवाज उठाएको छ । नेतृत्वमा समयानुकूल चुस्त कार्यशैली र कुशलता नदेखिँदा आमकार्यकर्ताले नेतृत्वलाई स्विकार्न सकिरहेका छैनन् । 

कांग्रेसको विधानमा कार्यकारी पद सभापति र महामन्त्री हो । तर, विधानले निर्णय प्रक्रियामा सर्वाधिकार सभापतिलाई दिएको छ । सर्वाधिकार सभापतिमा रहेकाले अन्यले पार्टी सुधारको चाहना राखे पनि मूर्त रूप लिन कठिन छ । सत्ता गठबन्धनको सहमतिमा २०८४ सालको चुनावअघि सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भनिएको छ ।

पाँचपटकसम्म प्रधानमन्त्री हुँदा नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको आरोपबीच पुरानो पुस्ताको कार्यक्षमतामाथि प्रश्न उठिरहेका छन् । कांग्रेस नेतृत्वको सरकार बनाउने वेलामा नेतृत्वको विकल्पका लागि पार्टी तयार भएन भने कांग्रेस दुर्घटनाबाट बच्न सक्दैन । सभापतिका रूपमा दोस्रो कार्यकालको पदभार र पाचौँपटकसम्म प्रधानमन्त्री भएर बनाएको छवि कायम राख्न देउवाले आफैँबाट रुपान्तरणको सुरुवात गर्नु जरुरी छ । 

राजनीतिक विकल्पका रूपमा लोकतान्त्रिक दलहरूको उदयले कांग्रेसको क्षयीकरण र प्रतिस्पर्धा बढेको छ । त्यस्ता युवामय पार्टीसँगको चुनौतीलाई सामना गरेर शरीरमा रक्तसञ्चारजस्तै पार्टीमा नविनताको सञ्चार गराउन सक्ने नेतृत्व कांग्रेसमा खाँचो छ । सभापतिले उमेरको उत्तरार्धमा आफ्नो राजनीतिक प्रतिष्ठा र योगदानलाई बचाउन सहर्ष नेतृत्व पुस्तान्तरण गरी मार्गप्रशस्त गर्न सक्नुपर्छ । अन्यथा, अझै पनि विगतका दशकको राजनीतिक योगदान देखाएर ब्याज खान खोजे त्यो कांग्रेसजनका लागि दुष्परिणाम साबित हुनेछ । नयाँ पुस्तालाई पार्टी र सरकार सञ्चालनको जिम्मेवारी सुम्पिनु पार्टी सभापति देउवाको दायित्व । र, यो नै उमेरको उत्तरार्धको श्रेयस्कर कदम हुनेछ । यसका लागि उनले अब ढिला गर्नुहुँदैन । 

सांगठनिक व्यवस्थापन :  कांग्रेस नेपालको राजनीतिमा लामो इतिहास बोकेको ठूलो संरचना भएको पार्टी हो । कांग्रेसका भ्रातृ संगठन, शुभेच्छुक संघ, ट्रेड युनियनजस्ता दर्जनौँ संगठन छन् । तर, आफैँ लोकतान्त्रिक पार्टी भएको उद्घोष गर्ने दलको नेतृत्वले आफ्ना संगठनलाई समयमै आन्तरिक निर्वाचनबाट सांगठनिक नेतृत्व र संरचना दिन सकिरहेको छैन । नेविसंघ, तरुण दल, महिला संघजस्ता प्रभावशाली संगठन नेतृत्वविहीन हुँदा कांग्रेसका जरा सिञ्चित हुन सकिरहेका छैनन् । एकातिर, पार्टीलाई योगदान गर्न इच्छुक कार्यकर्ता जिम्मेवारविहीन छन् । अर्कातर्फ, केही पदीय जिम्मेवारी बाँडफाँड स्वच्छ, स्वतन्त्र र योग्यतामा आधारीत हुन नसक्दा आमकार्यकर्तामा पार्टीप्रतिको विश्वास गुमेको छ । 

संगठनलाई चलायमान गराउन समयानुकूल वैचारिक बहस, पार्टी प्रशिक्षण, भेटघाट, सूचना सञ्चार, अनुगमन तथा अनुशासन जरुरी हुन्छन् । केन्द्रले स्थानीयका कुरा सुन्ने, स्थानीयले केन्द्रको निर्देशन पालना गर्ने अन्तरसम्बन्धको खाँचो देखिन्छ । शरीरका विभिन्न अंगका संरचनाजस्तै पार्टी संगठनका अंगहरूको पनि सक्रियता चाहिन्छ । रिक्त केन्द्रीय समितिमा निष्पक्ष र विज्ञहरूलाई मनोनीत गर्न, विभागलाई पूर्णता दिन, आन्तरिक सुशासनलाई बलियो बनाउन र पार्टीको नवजीवनको गतिलाई सार्थकता दिन ढिला गर्न हुँदैन । रुपान्तरणको ठोस नीति, योजना र कार्यक्रमसहितको स्पष्ट मार्गचित्र लिएर जनताका घरघरसम्म कांग्रेस पुग्न सक्नुपर्छ । आन्तरिक प्रतिस्पर्धामा गुट–उपगुट भए पनि बाहिर पार्टी एकताको सन्देश प्रवाह गर्न कांग्रेस चुक्नुहुँदैन । 

सरकार, संसद् र पार्टीका जिम्मेवार पदाधिकारीले जनहित, राष्ट्रिय संकल्प र पार्टी रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्छ । ३२९ पालिकामा कांग्रेसको सरकार छ । केन्द्रमा कांग्रेससहितको सरकार छ । प्रदेशमा मुख्यमन्त्री र मन्त्री कांग्रेसबाट छन् । कांग्रेस सहभागी सरकारलाई जनताप्रति उत्तरदायी र जवाफदेही, सुशासन र डेलिभरी प्रभावकारी गराउन अनुगमन र प्रशिक्षित गरी जनकेन्द्रित सेवामा जोड दिनु अपरिहार्य छ । पछिल्लो उपनिर्वाचनको मतपरिणामले संगठन चलायमान भएर मात्रै पनि नहुने देखिएको छ । बदलिँदो सामाजिक चेतनाले सांगठनिक सुशासन र त्यसले दिने डेलिभरीको परीक्षण गरेका छन् । त्यसको परीक्षण सरकार र संसद्को अभ्यास र उपलब्धिले देखाउनेछ । 

लोकतान्त्रिक विधि :  कांग्रेसले विधानसम्मत पार्टी सञ्चालनको प्रण गर्नुपर्छ । महाधिवेशनमा थालनी गरेको आन्तरिक लोकतान्त्रिक विधि संस्थागत गर्न अब ढिला गर्नुहुँदैन । लोकतान्त्रिक पार्टीको साख बोकेको कांग्रेस आफैँ लोकतन्त्रको अभ्यासबाट चुकिरहेको छ । विशेषतः चुनावअघि गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा कांग्रेसभित्र ठूलो विवाद थियो । सभापतिसहित बहुमत केन्द्रीय सदस्य चुनावी गठबन्धनको पक्षमा देखिएपछि बहुमतबाट तालमेल गर्ने निर्णय गरिएको थियो । निर्वाचनको समीक्षा, टिकट वितरण, प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन, सुशासनको मुद्दा, चुनावअघिको गठबन्धन, टिकट वितरणको विधि, योग्य र क्षमतावान्लाई पार्टीमा प्रवेश, सदस्यता वितरणको विधिलगायत विषयमा समीक्षा र भावी कार्यदिशा तय गर्नु जरुरी देखिन्छ । 

लोकतान्त्रिक विधिमार्फत पार्टीको सिद्धान्त, नीति र आदर्शवादी रुपान्तरणको मार्गचित्रलाई गति दिन राजनीतिक, सैद्धान्तिक, वैचारिक, सांगठनिक र चिन्तनशील दबाब दिँदै पार्टी रुपान्तरण र पुस्तान्तरणका लागि परिणाममुखी पहल मात्रै होइन, निर्णायक संघर्ष नै गर्न पनि कांग्रेसजन तयार हुनुपर्ने देखिन्छ । विभिन्न समयमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसबाट आमनागरिकको जीवनशैलीसँग जोड्ने समुन्नत र रुपान्तरणकारी कार्यक्रम र योजना अपेक्षाकृत छ । आमसञ्चारको विस्तार, सामाजिक सञ्जालको प्रभाव, सामाजिक यथार्थ र बदलिँदो राजनीतिक परिदृश्यलाई समेत मध्यनजर गर्दै क्षमतावान् र योग्य युवापुस्तालाई कांग्रेसतिर आकर्षण गर्ने रणनीति तय गर्न विलम्ब गर्नुहुँदैन । अन्यथा, पार्टी रूपान्तरणको आशा सञ्चार गर्न नसके पार्टीको अस्तित्व जोखिममा पर्न बेर लाग्नेछैन ।

ad
ad