१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
पहिरोले बिचल्लीमा परेका तीन परिवारका सदस्य । तस्बिर : नयाँ पत्रिका 
२o८१ भदौ ९ आइतबार o९:२१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इलामका पहिरोपीडित भन्छन्– कहिलेसम्म टहरामा बस्ने ?

सुखानी–दानबारी–राजदुवाली सडक अवरुद्ध, क्षतिको मूल्यांकन गर्न पुग्यो पूर्वाधार विकास कार्यालय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o९:२१:oo

इलामको माई नगरपालिका– ९ मालबाँसेका प्रकाश लिम्बू ३ भदौको मध्यरातमा चिर निद्रामा थिए । सामान्य पानी परिरहेको र घरमाथि भिरालो जमिन भएकाले कतै पहिरो जाने हो कि भन्ने चिन्ता थियो । घरमाथि बनेको इलाम सदरमुकाम जाने सडक पनि भासिएको थियो । प्रकाशलाई केही दिनदेखि चिन्ता थियो– कतै पहिरो त खस्दैन ? ३ भदौको मध्यरात घरनजिकै ठुलो आवाजका साथ ठुला ढुंगा खस्न थाले । घरमा एक महिनाकी सुत्केरी श्रीमती, पाँच वर्षीय एक छोरीसहित सुतेका प्रकाशको निद्रा खुल्यो । उठेर हेर्दा घरमाथिको भिरबाट क्रमशः ढुंगा खस्न थालेको थियो ।

लिम्बूको परिवार ज्यान बचाएर केही पर उनका भाइले बनाएको अस्थायी टहरामा पुगे । ‘भाइ र दिदीको परिवार पहिरो खस्ने डरले अर्काको जमिन मागेर अस्थायी बस्ने ठाउँ बनाएर गइसकेका थिए । मेरो परिवारचाहिँ पहिरो नखस्ला भनेर यहीँ बसेको थियो । मध्यरातमा पहिरो गयो,’ उनले भने, ‘धन्न ज्यान बच्यो । घरछेउसम्म पहिरो आएको छ । अब त घरमा फर्किएर बस्न सक्ने अवस्था छैन ।’

प्रकाशका भाइ सुरज लिम्बूले पहिरो जाने खतरा देखेपछि केही दिनअघि नजिकै छिमेकीसँग जग्गा मागेर अस्थायी टहरा बनाएका थिए । अस्थायी टहरामा सरेकै दिन उनको घरमाथि पहिरो गयो । ‘हामी सरेकै दिन पहिरो गयो । मस्त निद्रामा थिएँ । ठुलो आवाजले ढुंगा झर्न थालेपछि दाइको परिवारलाई पो केही भयो कि भन्ने डर लाग्यो । दाइलाई फोन गरेर यतै बोलायौँ,’ उनले भने, ‘धन्न कसैलाई केही भएन । तर, हाम्रो आम्दानीको स्रोत अम्रिसो रहेको बारी सबै पहिरोले पुर्‍यो ।’

मालबाँसेको पहिरोमा परेर तीन घर विस्थापित भएका छन् । उनीहरू छिमेकीको जग्गा मागेर टहरा बनाएर बसेका छन् । एउटा सानो टहरामा तीन परिवारका १८ जना जसोतसो बसेका छन् । ‘पहिरो जानेबित्तिकै स्थानीय सरकारले केही सहयोग गर्‍यो । प्रहरी प्रशासनले पनि उद्धारमा सहयोग गर्‍यो । तर, अब हाम्रो स्थायी बसोवास कहिले हुन्छ ? त्यसतर्फ पनि सरकारले ध्यान दिओस् । एउटा टहरामा तीन परिवार कहिलेसम्म बस्ने ?,’ पहिरोपीडित रुकध्वज मियोङ्वाले भने, ‘हाम्रो बारी पनि पहिरोले पुर्‍यो । अहिले पनि निरन्तर ढुंगा झरिरहेका छन् । अब त त्यहाँ बस्न सक्ने अवस्था पनि छैन । बस्नलाई अन्त कतै जग्गा पनि छैन ।’

पहिरोपीडितलाई भेट्न पुगेका प्रदेश सभा सदस्य शमशेर राईले पीडतहरूलाई पुनस्र्थापनाका लागि पहल गर्ने बताए । ‘मानव जीवन जोगाउन सरकारको पहिलो प्राथमिकतामा पर्छ । तसर्थ, अब विस्थापितलाई पुनर्वासको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय सरकार, प्रदेश र संघले नै गर्नुपर्छ । यसका लागि म पहल गर्छु ।’

पहिरोले सडक अवरुद्ध
सुखानी–दानबारी–राजदुवाली सडक झापाबाट माई नगरपालिका हुँदैन इलाम सदरमुकाम जोड्ने सबैभन्दा पुरानो सडक हो । मेची राजमार्ग नबन्दा नै यही बाटो भएर इलाम सदरमुकामसम्म यातायात पुग्ने गरेको स्थानीय सुरेश अधिकारी बताउँछन् । यो पुरानो सडक पछिल्लो समय प्रदेश सरकारले क्रमशः निर्माण गर्दै आएको छ । यो सडक इलाम सदरमुकाम पुग्न मेची राजमार्गभन्दा करिब ३४ किलोमिटर दूरी कम छ । तर, गत ३ भदौ राति आएको पहिरोले यो सडक क्षतविक्षत् बनाएको छ । पहिरोले माई– ९ स्थित मालबाँसे भिरमा करिब ९० मिटर सडक बगाएको छ । ‘पहिरोले सडक बगाउँदा इलाम जाने बाटो नै अवरुद्ध भएको छ । पहिरो गएको ठाउँमाथिबाट माई नगरपालिकाले वैकल्पिक बाटो बनाउँदै छ,’ अधिकारीले भने, ‘तर, त्यो ठाडो उकालो छ । गाडी चढ्ने सम्भावना छैन । तसर्थ, यही सडकलाई बनाउनुपर्छ ।’

केही वर्षदेखि यो सडक जोखिममा थियो । तर, सरकारी निकायले बेवास्ता गर्दा पहिरोले क्षति पुर्‍याएको स्थानीय जितबहादुर लावतीले बताए । ‘केही वर्षदेखि सडक चर्किन थालेको थियो । पहिरो जाने डर पहिलादेखि नै हो । पहिरो रोकथाम गर्न पनि सकिन्थ्यो,’ उनले भने, ‘यस वर्ष त चर्किएको सडकमा पानी जमेको थियो । हामीले नगरपालिकालाई धेरैपटक भन्यौँ । तर, कसैले वास्ता गरेन । अहिले पहिरो गयो ।’

प्रदेश सरकारले बनाउँदै गरेको सडक भएका कारण इलाम पनि हेर्ने पूर्वाधार विकास कार्यालय झापाले पहिरोपछि सडकको अनुगमन गरेको छ । सडकमा ठुलो क्षति पुगेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख जितेन्द्रकुमार कर्णले बताए । ‘सडकको करिब ९० मिटर भाग पहिरोले बगाएको छ । यो ठूलो क्षति हो । हामीले अनुगमन गरेका छौँ । अब क्षति मूल्यांकन गरेर प्रदेश र संघीय सरकारमा इस्टिमेट पठाउँछौँ । यो सडक बन्नुपर्छ । यसका लागि हामी प्रक्रिया पनि अघि बढाउँछौँ,’ उनले भने, ‘पहिरो गएको ठाउँमा बनिनसक्दा हामी वैकल्पिक बाटोको खोजी गर्छौँ । नगरपालिकाले पनि बनाउँदै रहेछ । यसलाई व्यवस्थित गर्न हामी कुनै कसर बाँकी राख्दैनौँ ।’