Skip This
बचत फिर्ताको साटो सामान बाँड्दै शिवशिखर सहकारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २७ बिहीबार
  • Tuesday, 17 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ भदौ २७ बिहीबार १७:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बचत फिर्ताको साटो सामान बाँड्दै शिवशिखर सहकारी

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ भदौ २७ बिहीबार १७:४२:oo

कञ्चनपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्तालाई बचत रकमको साटो सहकारीको सामान बाँड्न थालको छ। बिहीबारदेखि सहकारीले २० हजार रुपैयाँसम्म बचत गरेका बचतकर्ताहरूलाई सामान वितरण गर्न लागेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य उद्धव तिमिल्सिनाले पहिलो चरणमा सानो परिमाणमा बचत गरेका बचतकर्ताहरूलाई बचतबापतको भौतिक सामान वितरण गरिएको बताए। उनका अनुसार २५ भदौ ०८० मा सरकारले समस्याग्रस्त घोषणा गरेको उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको कार्य समितिले गर्दै आएको छ। १८ पुस ०८० मा अनलाइनमार्फत बचत मागदाबी पेस गर्न सूचना प्रकाशित गरिएकोमा ३० असार ०८१ मा बचतबराबरको सामान लिन इच्छुक बचतकर्ताले भीमदत्त नगरपालिकामा दिएको निवेदनका आधारमा सामान वितरण गरिरहेको तिमिल्सिनाले बताए।

‘सरोकारवालाको रोहबरमा वस्तुको मूल्यअनुरूप सामान वितरण गरिरहेका छौँ,’ उनले भने। भीमदत्त नगरपालिकामा निवेदन दिएका २८५ बचतकर्ताहरूलाई बचत रकमबराबरको सामान दिने र भावी दिनमा ठूला बचतकर्ताहरूलाई पनि क्रमशः वितरण गरिने बताउँदै सहकारीबाट ऋण लगेर नतिरेका व्यक्तिहरूबाटसमेत असुल गरी बचतकर्ताको रकम फिर्ता दिइने उनको भनाइ छ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको संघर्ष समितिका अध्यक्ष लोकेन्द्र लम्सालले साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर सामान वितरण गरिएको बताए। ‘पहिलो चरणमा भएको सहकारीको समान, जिन्सी चल-अचल सम्पत्ति बिक्री गरेर साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘भावी दिनमा थप एक्सनमा उत्रिएर सबै बचतकर्ताको रकम फिर्ता गरेर सरकारले पीडित बचतकर्तालाई न्याय दिनुपर्छ।’

ललितपुर केन्द्रीय कार्यालय भई शाखा कार्यालय कञ्चनपुरको महेन्द्रनगर, बेलौरी र पुनर्वासमा विस्तार गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणको अध्ययन गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बुधबार कञ्चनपुर आइपुगेको थियो। समितिले प्रशासनमा बैठक नै आह्वान गरेर पीडितलाई सम्बोधन गर्ने र सहकारीको घर खाली गराउने निर्णय गरेको छ।

व्यवसायी खगेश्वर बोहराले साढे चार लाख रुपैयाँ मासिक भाडामा दिइएको उक्त घर दुई वर्षदेखि बन्द हुँदा सामान मात्रै नभई आफ्नो घरसमेत बिग्रिन लागेको बताए। ‘बेसमेन्टमा पानी भरिभराउ छ,’ उनले भने, ‘दुई वर्षदेखि भाडा र विद्युतको महसुल १० लाख बुझाएको छैन, म आफैँ पनि सहकारीबाट पीडित छु।’ शिवशिखर बहुउदेश्यीय सहकारी कञ्चनपुरका तीन हजार ६७१ बचतकर्ताको ३१ करोड ९७ लाख रुपैयाँ बचत डुबाएको छ। गत मंसिरमा सहकारीका मालिक गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। चार वर्षअघिदेखि कञ्चनपुरका महेन्द्रनगर, बेलौरी र पुनर्वासमा तकडभडकका साथ सञ्चालनमा आएको सहकारीले यहाँका झन्डै साढे तीन हजारभन्दा बढी जनताको ३१ करोड बढी रकम संकलन गरेर अपचलन गरेको पाइएको छ।