- रतुवा खोलामा आर्क ब्रिज तयार, झापाकै निन्दा, बिरिङ, कन्काई तथा मोरङको बक्राह र लोहेन्द्रा नदीमा निर्माण गरिँदै
चार लेनमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही खण्डका ६ नदीमा आकर्षक पुल निर्माण भइरहेका छन् । यी ६ पुलमा हेर्दा आकर्षक देखिने स्टिलको आर्क ब्रिज निर्माण भइरहेको हो । पूर्वका ६ पुलको ‘ल्यान्डमार्क’ बनाउने गरी बिचमा स्टिलको आर्क निर्माण गरिनेछ । ६ मध्ये झापाको दमक नगरपालिका र कमल गाउँपालिका जोड्ने रतुवा खोलाको बिचमा स्टिलको आर्क ब्रिज निर्माण भइसकेको छ भने झापाकै निन्दा, बिरिङ, कन्काई तथा मोरङको बक्राह र लोहेन्द्रामा पनि यस्तै आर्क ब्रिज निर्माण हुनेछ ।
विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही खण्डमा पूर्व र पश्चिम खण्ड गरेर दुई भागमा विभाजन गरिएको छ । काँडकभिट्टादेखि केर्खासम्म पूर्वी खण्ड तथा केर्खादेखि लौकहीसम्मलाई पश्चिम खण्डमा छुट्याएर काम भइरहेको छ । ६ वटा पुललाई पनि यी खण्डका आधारमा दुई प्याकेजमा बनाएर काम भइरहेको छ । पश्चिम खण्डमा रतुवा, बक्राह र लोहेन्द्रा पुल पर्दछ । रतुवा खोलामा ५८५ मिटरको पुल बन्दै छ । जसमा बिचको भागमा ८७ मिटरको तीन स्पामको स्टिल आर्क ब्रिज निर्माण भएको छ ।
रतुवामा ८७ मिटरको स्टिलको आर्क ब्रिज निर्माणको काम सम्पन्न भएको काँडभिट्टा–लौकही सडक पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले जानकारी दिए । अब आर्क ब्रिज जोड्न पूर्व र पश्चिमतर्फ कंक्रिटको पुल निर्माण हुने उनले बताए । ‘रतुवामा स्टिलको तीन स्पामको आर्क ब्रिजको काम सकिएकाले टाढाबाट हेर्दा आकर्षक देखिएको छ,’ उनले भने, ‘तीन सय मिटरमाथिका पुललाई आकर्षक बनाउने योजना छ । पुलको महŒवसँगै ल्यान्डमार्क बनाउने हिसाबले यस्ता पुल निर्माणको योजना सन् २०२० देखि सुरु भएको हो । त्यहीअनुसार पूर्वका ६ पुलको डिजाइन भएको छ ।’
प्रजापतिका अनुसार पश्चिम खण्डको बक्राहको ३१८ मिटरको पुलमा पनि दुई स्पामको ८० मिटरको स्टिलको आर्क ब्रिज बन्नेछ । यस्तै, ३८५ मिटर लम्बाइको लोहेन्द्रामा पनि दुई स्पामकै आर्क ब्रिज निर्माण हुने प्रजापतिले बताए । नोभेम्बरबाट लोहेन्द्राको आर्क ब्रिजको काम सुरु हुने उनको भनाइ छ । आर्क ब्रिज आकर्षक मात्रै नभई जलवायु उत्थानशील पनि हुने उनले बताए । ‘आकर्षक देखाउन मात्रै हैन, क्लाइमेट रिजिलेन्टको कुरा पनि छ । जहाँबाट पानी बग्छ त्यस भागलाई ठुलो स्पामको बनाउने हो,’ उनले भने, ‘हालैको विपत्ले पनि लामो र अग्लो बनाउने भनेर सिकाएको छ ।’
पश्चिम खण्डको तीनवटै पुल एउटै प्याकेजमा ठेक्का लागेको छ । पश्चिम खण्डमा पर्ने ठुला नदी रतुवा, बक्राह र लोहेन्द्रा पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ६५ करोडमा ठेक्का लिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । हालसम्म पुल निर्माणको काम ५० प्रतिशत मात्रै सम्पन्न भएको प्रजापतिले बताए । पुल निर्माणको ठेक्का १९ अक्टोबर ०२३ मा लागेको हो । ठेक्काको काम तीन वर्षभित्र सक्नुपर्ने थियो । तर, समय सकिन लाग्दा ५० प्रतिशत मात्रै काम भएको छ । ‘चीनबाट स्टिल ल्याएर रतुवाको काम भएको हो । बर्खाको समयमा चीनबाट स्टिल ल्याउन नसकेर ढिला भयो,’ उनले भने, ‘अब भारतबाट ल्याउने कुरा भएको छ । अब कामले गति लिने अपेक्षा लिएका छौँ ।’
यस्तै, पूर्वी खण्डअन्तर्गत निन्दा, बिरिङ र कन्काईमा पनि आकर्षक आर्क ब्रिज बन्नेछ । यद्यपि, यी नदीमा आर्क ब्रिजको काम सुरु भइसकेको छैन । नोभेम्बरदेखि बिरिङ नदीमा स्टिलको आर्क जडानको काम हुने काँकडभिट्टा–लौकही सडक पूर्वी खण्डका प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । ३९८.२५ मिटरको बिरिङमा र ३१८.६ मिटरको निन्दामा दुई स्पाम र ७०२ मिटरको कन्काई नदीमा चार स्पामको स्टिलको आर्च निर्माण हुने उनले बताए ।
पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीको पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएको छ । सम्पन्न गर्नुपर्ने मिति सकिए पनि हालसम्म पूर्वी खण्डका तीन पुलमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको प्रमुख पन्तले बताए । तर, अब कामले गति लिने उनको भनाइ छ ।