एसएसबीका महानिर्देशक सिंघल काठमाडौंमा, सोमबारदेखि सीमा समन्वय बैठक

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सीमा समन्वयसम्बन्धी बैठकमा भाग लिन भारतको सशस्त्र सीमा बल(एसएसबी)का महानिर्देशक सञ्जय सिंघल काठमाडौं आएका छन् । नेपालको सशस्त्र प्रहरी बल(एपिएफ) र भारतको एसएसबीबिच बुधबारदेखि काठमाडौंमा सीमा सुरक्षासम्बन्धी समन्वय बैठक हुँदै छ।  

सीमा सुरक्षामा खटिएका दुई देशका सुरक्षा निकायबिचको यो उच्चस्तरीय बैठक विगत एक दशकदेखि हरेक वर्ष चल्दै आएको छ । यसपटक दसौँ समन्वय बैठक हुन लागेको हो। बैठकमा गृह मन्त्रालयदेखि सुरक्षा निकाय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्। 

गृह मन्त्रालयका एक अधिकारीका अनुसार बैठकमा सीमा सुरक्षाका बहुआयामिक पक्षबारे विस्तृत छलफल हुनेछ। हरेक वर्ष हुँदै आएको बैठकमा सीमापार अपराधको नियन्त्रणमा केन्द्रित भई छलफल हुने गरेको छ । नेपालले भारतबाट तस्करी हुने लागुऔषधको विषयलाई हरेक वर्ष उठाउँदै आए पनि यो समस्या समाधान हुन सकेको छैन । नेपालमा हुने लागुऔषध तस्करीमा भारतीय पक्षबाट अपेक्षित सहयोग नपाएको नेपाली सुरक्षा अधिकारीले गुनासो गर्दै आएका छन् । भारतले भने अवैध घुसपैठ तथा नेपालबाट मदिराको अवैध कारोबारमा चासो राख्दै आएको छ । 

खुला सीमा भएकाले सीमापार अपराध तथा तस्करी दुवै देशका लागि मुख्य समस्या छ । एकातर्फ अपराध गरेर अर्काे देशमा लुक्न जाने प्रवृत्ति छ । सूचनाको आदानप्रदान पनि समन्वय बैठकको मुख्य एजेन्डा हुँदै आएको छ । 

भारतमा भएको नवौँ समन्वय बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, चोरी–निकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत रोक्ने उपाय, सूचना आदानप्रदान, तालिम सहयोग, संयुक्त सीमा गस्ती र समग्र सीमाक्षेत्रको सुरक्षालाई मजबुत बनाउने विषयमा छलफल भएको थियो । विगतमा भएका कतिपय समझदारी कार्यान्वयनमा आउन सकेका छैनन् । यसपटक विगतको समझदारी कार्यान्वयनको पनि समीक्षा गर्ने तयारी छ । समन्वय बैठक सशस्त्र प्रहरीको मुख्यालयमा हुने सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए। 

भारतको अर्धसैन्य सुरक्षा बल एसएसबीलाई नेपाल र भुटानसँगको सीमा सुरक्षामा खटाइएको छ । नेपालको तुलनामा सीमामा एसएसबीको उपस्थित दोब्बर छ भने स्रोतसाधन पनि प्रशस्त उपलब्ध गराइएको छ । नेपालमा भने एक बिओपीले १० किलोमिटरसम्म हेर्नुपर्ने अवस्था छ । तर, सीमामा गस्ती गर्न गाडीलगायत स्रोतसाधनको अभाव सशस्त्रलाई छ । वर्तमान सरकारले सीमा सुरक्षामा सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै स्रोतसाधन थप्ने योजना बनाएको छ । 
 

सुझावित समाचार