काठमाडौं । नेकपा (एमाले)ले सञ्चारगृहमा छापा मार्ने र सञ्चारकर्मीलाई पक्राउ गर्ने सरकारी कदमको विरोध गर्दै यसलाई फासीवादी प्रवृत्तिको संज्ञा दिएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै एमाले नेता नीरज आचार्यले सञ्चारकर्मीमाथि भइरहेको धरपकड र सञ्चारगृहमा छापा मार्ने कार्य निन्दनीय तथा अलोकतान्त्रिक भएको बताएका हुन्।
एमालेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारमाध्यममाथिको हस्तक्षेपले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि प्रहार गरेको जनाएको छ।
राज्यका निकायहरू कानुनी शासनको दायरामा रहनुपर्नेमा सरकारले नै लोकतान्त्रिक मूल्य र मान्यताविपरीत दमनकारी व्यवहार देखाउनु गम्भीर चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ। सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरंकुशता स्वीकार्य नहुने एमालेको भनाइ छ।
एमालेले सञ्चारमाध्यममाथि भइरहेको गैरकानुनी हस्तक्षेप तत्काल रोक्न, सञ्चारकर्मीको संवैधानिक अधिकार सुनिश्चित गर्न तथा पक्राउ परेका सञ्चारकर्मीलाई विनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ।