समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएकोप्रति रास्वपाको आपत्ति, विनासर्त रिहाइको माग

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार प्रकाशित गरेकै आधारमा प्रहरी कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी भइरहेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर आपत्ति जनाएको छ।

पार्टीले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिको प्रहार भएको उल्लेख गरेको छ। लोकतन्त्रमा स्वतन्त्र, सक्षम र उत्तरदायी संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने भन्दै सञ्चार जगत् नागरिकको आवाज मुखरित गर्ने प्रमुख माध्यम भएको रास्वपाको भनाइ छ।

समाचार सामग्रीप्रति कसैको असहमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको निरूपणका लागि स्थापित कानुनी प्रक्रिया र वैधानिक निकायको प्रयोग गर्नुपर्ने पार्टीले जनाएको छ। सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्था हुँदाहुँदै स्थापित कानुनी प्रक्रियालाई बेवास्ता गरी पत्रकारमाथि धरपकड गर्नु विधिको शासनविपरीत हुने रास्वपाको ठहर छ।

त्यस्तै, समाचारको स्रोतको गोपनीयता संरक्षण गर्नु पत्रकारिताको विश्वव्यापी मान्यता र सञ्चारकर्मीको व्यावसायिक अधिकार तथा दायित्व भएको पार्टीले स्मरण गराएको छ। कानुन कार्यान्वयनको नाममा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामा आँच पुर्याउने र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने गतिविधि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले पत्रकार पक्राउ तथा खोजी भइरहेको घटनाको निष्पक्ष, पारदर्शी र यथार्थपरक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल विनासर्त र ससम्मान रिहा गर्न पनि पार्टीले जोडदार माग गरेको छ।

पार्टीले कुनै पनि प्रकारको भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठामा आधारित पत्रकारिता जारी राख्न सञ्चारकर्मीहरूलाई आह्वान गरेको छ। सञ्चार जगतप्रति ऐक्यबद्धता जनाउँदै पत्रकारहरूको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो अडान सम्झौताहीन रहने रास्वपाले स्पष्ट पारेको छ।

पत्रकार तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चित गर्न पार्टी सदैव अग्रपंक्तिमा उभिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

सुझावित समाचार