काठमाडौं/ मंगलबारको मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले एडिबीबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने, नेपाल पुनर्बिमा कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिनेलगायतका निर्णयहरू गरेको छ।
हेर्नुस् थप निर्णय :
१. एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने,
२. नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने,
३. न्यानो फर्टिलाइजर, बायो–स्टिमुल्यान्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्रांगारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश स्वीकृत गर्ने,
४. टर्कीमा कार्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने,
५. मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने तथा जग्गा बाँडफाँट गरी कारबाहीको टुंगो लगाउने अवधि क्रमशः २०८५ कात्तिक र २०८६ असारसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने,
६. प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।