Skip This
पोखरा र भैरहवा सीधा उडान र थप हवाई रुट दिन भारतीय मन्त्रीसँग आग्रह 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार ११:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा र भैरहवा सीधा उडान र थप हवाई रुट दिन भारतीय मन्त्रीसँग आग्रह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार ११:३o:oo

भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले थप हवाई प्रवेशमार्ग दिन भारतसँग आग्रह गरेका छन् । नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलनका क्रममा बिहीबार भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापु र संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शिखावतसँग भेट गरी उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई सम्पर्क स्थापनाका लागि पनि आग्रह गरेका हुन् । 

मन्त्री पाण्डेले उड्डयनमन्त्री किन्जारापुलाई पोखरा र गौतम बुद्धसहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चलनमा रहेको जानकारी गराउँदै भारतका विभिन्न सहरबाट सीधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न आग्रह गरे । उनले पोखरा नेपालको पर्यटकीय राजधानी रहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेपछि ठुलो संख्यामा भारतीय धार्मिक पर्यटकले भ्रमण गर्न थालेको स्मरण गराए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सीधा उडान गर्न भारतीय उड्डयन कम्पनीलाई प्रोत्साहित गर्नुपर्ने विषयमा पनि जोड दिए ।

मन्त्री पाण्डेले भारतीय पर्यटनमन्त्री शिखावतसँग पोखरा र भैरहवामा भारतीय सहरहरूबाट सीधा हवाई उडान गर्न आग्रह गरेका छन् । भेटमा भारतीय मन्त्री शिखावतले नेपाल र भारतबीच सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिए । विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरूबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जनसहित पुनः नवीकरण गर्ने विषयमा छलफल भएको थियो । 

बिहीबार नै दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि, पूर्वाधार उपमन्त्री जो जोङओनसँग भएको भेटमा नेपाल वायुसेवा निगम (नेवानि)का विमानले सीधै कोरियामा उडान गर्नेलगायत विषयमा छलफल भएको थियो । मन्त्री पाण्डेले भियतनामका यातायाता उपमन्त्री ली आन ट्वानसँग पनि द्विपक्षीय भेट गरेका छन् । भेटका क्रममा नेपाल र भियतनामबिच सीधा हवाई सम्पर्क स्थापित गर्नेलगायतका नागरिक उड्डयनका क्षेत्रमा आपसी सहयोग अभिवृद्धिका विषयमा छलफल भएको बताइएको छ ।

मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग भेटवार्ता गरी दुई देशबीच थप सहयोग अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल गरे । भियतनामबाट जापान र कोरियालगायतका देशबाट नेपालमा सीधै हवाई उडान गर्न सकिने वातावरण तयार भएको र सरकारले त्यसका लागि आवश्यक प्रबन्ध गरेको मन्त्री पाण्डेले बताए ।